ताजा अपडेट »

खुत्रुके चोरेको आरोपमा बालकलाई ६ घण्टासम्म बन्धक बनाएर निर्घात कुटपिट

आइतबार, २९ माघ २०७९, ०९ : १३
104 Shares
आइतबार, २९ माघ २०७९
104 Shares

महोत्तरी । महोत्तरीको बर्दिबासमा एक बलकलाई ६ घण्टासम्म बन्धक बनाएर निर्घात कुटपिट गरिएको छ । बर्दिबास–१२ बस्ने १४ वर्षीय इन्द्रजित कुमार महतोलाई माटोको खुत्रुकेमा जम्मा गरेको पैसा चोरी गरेको आरोपमा स्थानीयले निर्ममतापूर्वक कुटपिट गरेका हुन । 

पीडित परिवारकाअनुसार स्थानीय युवाहरु रन्जित महतो, सन्जित महतो, हरि महतो, रामजन्म महतो, सुशील महतो र रन्जित चौधरीले ६ घण्टासम्म बन्धक बनाएर कुटपिट गरेका कारण बालकको शरिरभरी चोटपटक लागेको छ।  स्थानीय प्रत्यक्षदर्शीका अनुसार पीडक युवाहरुले  बलकलाई मोटरसाइकलको पछाडी राखेर घिसार्दै आरोपित मध्येका  सन्जित महतोको घरमा पुर्याएर ६ घण्टासम्म यातना दिएको पीडित परिवारले बताए । 

गत २३ माघमा भएको उक्त घटनाको अहिले खुलास भएको हो । सो दिन १२ बजे नियन्त्रणमा लिएर बेलुका ६ बजेमात्र  छाडेको पीडित बालक इन्द्रजित महतोले बताए । ‘मलाई बाइकमा घिसारेर सन्जित महतोको घरमा पुर्याए अनि डोरीले दुबै हात बाँधेर झुण्ड्याएर कुटपिट गरे ।’–पीडित इन्द्रजितले रूदैँ भने, खुकुरी देखाए, पैतालामा तारले कुटे, मलाई पानीमा मुन्टो डुबाए अनि पैतालामा पनि असह्य हुनेगरी पिटे,  टाउकोमा पनि औँठी लगाएको हातले जोडले मारे ।

पीडित बालकको पैतालामा सिर्कनाले हानेको अझै निलडाम देख्न सकिन्छ । हिँडडुल गर्न समेत समस्या बनिरहेको अवस्थामा उनी विद्यालय समेत जान सकेका छैनन् । महतोको पछाडि ढाडमा लठ्ठीले हानेजस्तो सुम्ला देखिन्छन भने खुट्टामा समेत गहिरो निलडाम छ ।  निर्घात कुटपिट गरेर बेलुका छाडेपछि पीडित परिवारजनले गाउँमा नै रहेको सुरज वस्नेतको क्लिनिकमा पुर्याएर उपचार गरेका थिए । ‘उपचारमा मात्र २ हजार खर्च भयो, आम्दानीको स्रोत केही छैन ।’–पीडित बालकका आमा कोशिला देविले भनिन । सो घटनापछि कोशिला देविलाई समेत घरमा आएर ति युवाहरुले अभद्र व्यवहार गरेका थिए । 

पीडित बालकका बुवा भोला महतो बर्दिबास स्थित एक वेकरीमा काम गर्छन् । आफ्नो छोरालाई निर्घात कुटपिट गर्ने युवाहरुलाई कडा कारबाही गर्न पीडित परिवारले माग गरेको छ । यता घटना भएको भोलिपल्ट नै प्रहरी चौकी हात्तिलेटमा निवेदन दिए पनि प्रहरीले त्यस्को खासै वास्ता नगरेको पीडितको आरोप छ । हात्तिलेट स्थित प्रहरी चौकीका इन्चार्ज इन्द्रजित ठाकुरले घटनाको विषयमा जानकारी भएता पनि  पीडितहरु नै जाहेरी दिन नआएको जिकिर गरे । तर पीडित पक्षले प्रहरी चौकीबाट ३ सय दस्तुर लिएर निवेदन दर्ता गरिसकेको दाबी गरेका छन् । 

प्रहरी उपरिक्षक प्रकाश मल्लले घटनाको विषयमा जानकारी लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाउने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।