नाम पुछ्रेतारा भएपनि वास्तबमा पुछ्रेतारा तारा नभएर ब्रह्माण्डमा भएको बरफ, धुलो तथा पानीको खगोलिय पीण्ड हो । सुर्यको नजिक आउँदा सुर्यको तापले गर्दा उक्त पीण्डबाट ग्यास बन्दै जान्छ जुन हामीले पुच्छरको रुपमा देख्ने गर्छौं भने बाँकी पीण्ड पनि सुर्यको प्रकाशले गर्दा चम्किलो देखिन्छ । पुछ्रेताराको आकार-प्रकार, पुच्छरको लम्बाई, रंग, चम्किलोपना, परिक्रमा अवधि आदि कुराहरु पुछ्रेताराको बनोट र परिक्रमाको बाटोमा भर पर्दछ । बिभिन्न समयमा विभिन्न नाम गरेका पुछ्रेताराहरु पृथ्वीको नजिकबाट जाने गर्छन । ति मध्ये कति नाङ्गो आखाले पनि सजिलै देख्न सकिन्छ भने कति दुरबिन तथा अत्याधुनिक यन्त्रको सहयोगले मात्र देख्न सकिन्छ । यस्तै पुछ्रेताराहरु मध्ये हाल आकाशमा रहेको एउटा पुछ्रे तारा हो “जेड टि यफ” उर्फ हरियो पुछ्रेतारा । ५० हजार वर्षपछि देखिएको यो पुछ्रेतारा वास्तविक बैज्ञानिक नाम भने “सी/२०२२ ई ३ जेड टि यफ” (C/2022 E3 (ZTF)) हो र यसको नाम यसरी रहन गएको हो ।
सी : यो पुछ्रेतारा ‘नन् पिरियोडिक’ पुछ्रेतारा हो मतलब यसको परिक्रमा अवधि २०० वर्ष भन्दा बढी छ (५० हजार वर्ष) ।
२०२२ : यो सम्बत २०२२ मा पहिलो पटक पत्ता लागेको हो ।
ई : यो मार्च महिनाको पहिलो पन्ध्र दिनमा भेटिएको हो । (अंग्रेजी बर्ण अनुसार जनवरीको पहिलो पन्ध्र दिन ‘ए’ अनि जनवरीको बाँकी पन्ध्र दिन ‘बि’ तेस्तै फेब्रुअरीको पहिलो पन्ध्र दिन ‘सी’ अनि फेब्रुअरीको बाकी पन्ध्र दिन ‘डी’ लगतै मार्चको पन्ध्र दिन ‘ई’ )
३ : यो उक्त समयमा भेटिएको तेस्रो पुछ्रेतारा हो ।
जेड टि एफ : ‘जेड टि यफ’ यो पुछ्रेतारा पत्ता लगाउने संस्था ‘जुईकि ट्रान्जीएन्ट फेसिलिटी’ को छोटो रुप हो । यसको मुख्य भाग हरियो देखिएकाले यसलाई हरियो पुछ्रेतारा पनि भनिएको हो ।
कुनै पनि खगोलीय पीण्ड नांगो आँखाले देख्न सकिन्छ कि सकिदैन भन्ने कुरा धेरै कुरामा निर्भर गर्छ । जस्तो कि उक्त पीण्ड उत्तरी गोलार्ध तर्फ छ कि दक्षिणी ? उक्त पीण्डको चम्किलोपना, आकाशमा जुनको प्रकाश, हेर्ने मानिस भएको ठाउँमा भएको प्रकाश प्रदूषणको स्थर आदि । हाल हाम्रो आकाशमा रहेको पुछ्रेतारा हामी भएको उत्तरी गोलार्ध तर्फ छ भने यसको अनुमानित चम्किलोपना (म्यागनिच्युड स्केल) ६ को आसपास रहेको छ । जुन नाङ्गो आँखाले देख्न सकिने सीमाना पनि हो । ६ भन्दा कम चम्किलोपना भएको खागोलीय पीण्ड हामीले नाङ्गो आँखाले देख्न सक्छौ भने ६ भन्दा माथिका बस्तुहरु हेर्नको लागि हामीलाई अन्य यन्त्रको सहयोगको आवश्यकता पर्दछ । उदहारणको लागि
सुर्यको म्यागनिच्युड स्केल माइनस २६.७४ , पूर्ण चन्द्रको माइनस १२.५ , हाम्रो आकाशमा घाम र जुन पछिको सबैभन्दा चम्किलो पीण्ड शुक्र ग्रहको माइनस ४.४ , सबैभन्दा भन्दा चम्किलो तारा सिरियसको माइनस १.४६, तथा धुर्बतारा (पोलारिस) को प्लस २ हो ।
हाम्रो आकाशहरु बिस्तारै तारा बिहिन हुँदै छन् । प्रकाश प्रदूषणको कारणले गर्दा हामीले सहरी भेगबाट आकाश धमिलो देख्छौ भने ताराहरु निकै कम देख्ने गर्छौं । तुलनात्मक रुपमा गाउँमा भने आकाश अलिक अध्यारो र धेरै ताराहरु देख्न सकिन्छ । आकाशको प्रकाश प्रदूषण ब्रोटल स्केलमा नाप्ने गरिन्छ । जसमा एकदेखि नौ सम्मको अंक हुन्छ । १ भनेको पृथ्वीमा भएको सबैभन्दा अध्यारो आकाश तथा ९ भनेको एकदमै प्रदुषित भित्रि सहरी आकाश । हामी जति अध्यारो आकाशमुनि हुन्छौ त्यति धेरै आकाशका तारा तथा अन्य बस्तुहरु राम्रोसंग देख्न सक्छौ । नेपालका केही प्रमुख ठाउँहरुको हालको ब्रोटल स्केलहरु यस प्रकार छ । काठमाण्डौको ब्रोटल स्केल ४, बीरगंजको ब्रोटल स्केल ५, बुटवलको ब्रोटल स्केल ४, तेस्तै उच्च पहाडी तथा हिमाली ठाउँमा ब्रोटल स्केल १ को आकाशहरु पनि रहेको छ ।
कहाँबाट कसरी हेर्ने ?
जनवरी १२ मा सुर्यको सबैभन्दा नजिक हुदा म्यागनिच्युड प्लस ७.५ को आसपास भएको हरियो पुछ्रेतारा फेब्रुअरी १ मा पृथ्वीको सबैभन्दा नजिक हुदा म्यागनिच्युड प्लस ५ हुने अनुमान गरिएको छ जुन नाङ्गो आखाले देख्ने उच्चतम सिमाना भन्दा केहि कम हो ।
हाल ( २०७९/१०/१४) गते पुछ्रेताराको चम्किलोपना ५.५७ को आसपासमा रहेको छ । साथै चन्द्रमा आधि पूर्ण भएकाले बिहान छिटै अस्ताउने गर्छ । शहरभन्दा टाढा प्रकाश प्रदूषण कम भएको ठाउँमा जुन अस्ताई सकेपछी अथवा जुन उदाउनु पुर्व सप्तऋषि तथा धुर्बताराको बीच तिर हेर्दा यो सानो प्रकाशको धमिलो डल्लो जस्तो देख्न सकिने सम्भावना छ । सामान्य दुरबिन अथवा क्यामेराको सहयोगले भने सजिलै देख्न सकिन्छ । चमिक्लोपना ५ को आसपास भएको अनि चन्द्रमा पूर्ण हुने क्रममा रहेको (फेब्रुअरी १ मा ८५ % पूर्ण हुने ) साथै पुछ्रेताराको बारेमा अनुमान गर्न एकदमै ग्राहो हुने भएकाले नाङ्गो आँखाले देखिन्छ नै भन्न सकिने अवस्था भने छैन तर देख्न सकिने सम्भावना प्रबल छ ।
प्रतिक्रिया