वसन्त पञ्चमी हिन्दु धर्मावलम्बीहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीको पुजा आराधना गरिन्छ । माघ शुक्ल पञ्चमीका दिन भक्ति, श्रद्धाले मनाईने सारस्वतोत्सव अर्थात सरस्वती पूजनको विशेष एवं अनुपम स्थान रहेको छ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा अर्चना शैक्षिक क्षेत्रमा विद्यार्थीहरुले प्राचीनकाल देखि नै मनाउदै आएकोमा आजभोली व्यापक महत्वका साथ विशेष पर्वको रुपमा मनाउने गरिन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास रहेको छ । आजकै दिन स–साना बालबालिकाहरुलाई अक्षरारम्भ गराइन्छ ।
भगवती सरस्वती सत्वगुण सम्पन्न हुनुहुन्छ । देवीका अनेक प्रसिद्ध नामहरु वाक्, वाणी, गीः, गिरा, भाषा शारदा वाचा धीश्वरी, बाह्री, गौ, सोमलता, महाविद्या, महावाणी, भारती, आर्या, कामधेनु, वेदगार्भा, धीश्वरी र वाग्देवी आदि प्रसिद्ध नामले सम्बोधन गरिन्छ । सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, आदि प्रिय लाग्ने भएकाले आजका दिन सरस्वतीको पूजनका लागि जल, दुध, दही, मखन, धानको लावा, सेतो तिलको लड्डु, उखु, मधु, श्वेत चन्दन, श्वेत फल, पुष्प, श्वेत अलंकार, अदुवा, मुली, शर्करा, तण्डुल, शुक्ल मोदक, घृत, नरिवल तथा यसको जल बदरीफल, बयर, बेल, अदुवा अर्पण गरिन्छ । यसपछि प्रसिद्ध सरस्वती बन्दना पाठ गरिन्छ ।
सरस्वती माया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।१।।
प्रथमं भारती नाम द्वितीयं च सरस्वती ।
तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी ।।२।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी चाऽष्टमं वरदायिनी ।।३।।
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारणी ।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।४।।
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन् नरः ।
जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।।५।।
पूजा अर्चना गर्दा यस मन्त्रका साथै जन जिव्रोमा झुण्डीने अन्य मन्त्रलाई पनि विषेश महत्व दिएर उच्चरण गरिन्छ ।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।१।।
अर्थात विद्याकी देवी भगवती सरस्वती कमलको फूल, चन्द्रमा, हिऊँ र मोतीको हार जस्तो श्वेत (सेतो) वर्ण भएकी र श्वेत वस्त्र धारण गर्नुहुन्छ, जसको हातमा वीणा–दण्ड शोभायमान छ, जसले सेतो कमलमा आसन ग्रहण गर्नु भएको छ तथा ब्रह्मा, विष्णु एवं शङ्कर आदि देवताहरुद्वारा सदा पूजित हुनुहुन्छ ।
सरस्वतीको पुजा गर्नु पर्ने अनेकौं कारणहरु रहेका छन् । यो प्रसिद्ध भनाईको निकै गहिरो अर्थ रहेको छ । “विद्या धनम् सर्वधनम् प्रधानम्” अर्थात विद्या नै सबैभन्दा ठुलो धन हो । सरस्वती भनेको विद्या, चेतना र ज्ञानको प्रकाश हो । यसैबाट सम्मुन्नत समाजको निर्माण हुन्छ । यसका लागि सरस्वतीको आराधना गर्नु पर्दछ । अविद्या र अज्ञानताको अध्यारो पर्दा नउघारी भक्तिको उदय सम्भव हुन्न, भक्तिमा ज्ञान र वैराग्यको क्षमता हुन्छ । भक्ति र शक्तिको सङ्गम भए विद्या विज्ञान बन्न पुग्छ र यसको सदुपयोग हुन्छ । विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ । नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरू हुन् । त्यसैले विद्या र बुद्धिको सम्पन्नताका लागि शुद्ध भई सरस्वतीको पुजा गर्नुपर्छ ।
वैदिक शास्त्रका अनुसार देवी सरस्वतीको हातमा रहेको पुस्तक ज्ञानको प्रतिक, सङ्गगीतको प्रतिक वीणा, एकाग्रता र सृष्टिको प्रतीक माला तथा नीरक्षीर विवेकी दुधबाट पानी छुट्याउन सकिने राजहंस जसले विवेकशील संसारमा रहेर पनि निर्लिष्ट र साधक व्यक्ति नै विद्याको अधिकारी हुन सक्ने जनविश्वास रहेको छ ।
सरस्वती पूजा देखि नै नेपालका गुरुङ जातीको प्रसिद्ध धार्मीक नृत्य “घाटु“ प्रारम्भ हुने, वलामी जातिमा यसदिन मात्र परम्परागत विवाह गर्ने प्रचलन तथा वालवालिकाहरुको नाक कान छेड्नका लागि यस दिन पवित्र, पावन र उपयूक्त मानिन्छ ।
मानिस विवेकशील प्राणी हो । त्यसैले सम्पूर्ण मानवमा सेवाको भाव जगाउन “परोपकार पुण्याय पापाय परपीडनम्को भावनालाई अनुसरण गर्न सरस्वतीभन्दा महान् विद्या र विवेक प्रदान गर्ने गुरु अरु कोही छैन । सरस्वतीलाई सम्मान गर्ने परम्परा हरेक ठाउँमा हुनुपर्छ । त्यसैले त भनाई रहेको छ । “कराग्रे वसते लक्ष्मी, करमध्ये सरस्वती, करमूले स्थितो ब्रह्मा प्रभाते करदर्शनम्” । अर्थात् हातको अधिल्लो भागमा लक्ष्मी मध्य भागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास छ । अतः यही कर्मवादी हातलाई ब्रह्माको सिर्जनशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारमा लक्ष्य प्राप्तिका लागि मध्य भागमा सरस्वतीलाई राखेर सम्मान गर्नु पर्दछ ।
कैयन ठाउँमा वसन्त पञ्चमीलाई माघिया पञ्चमी वा श्रीपञ्चमी समेत भनिन्छ । वायु पुराणमा महादेवीका “श्री” र “सरस्वती” दुई रूपमा तथा प्रसिद्ध मार्कण्डेय पुराणमा “पधिम्नी” नामक विद्याकी देवीलाई लक्ष्मीको स्वरmप स्वीकार गरिएको छ । पञ्चमी तिथिको आधारमा मनाइने पर्वहरू जस्तै ऋषिपञ्चमी, नागपञ्चमी, विवाह पञ्चमी मध्ये श्रीपञ्चमीलाई सर्वोत्कृष्ट मानिएको छ ।
पुराणमा देवी सरस्वतीलाई विद्या, ज्ञान, विज्ञान, प्रविधि, कला, साहित्य, वाणी, र सङगीत देवीको रुपमा वर्णन गरिएको छ । प्राचिनतम पौराणिक मान्यता अनुसार राधा, पद्या, सावित्री, दुर्गा र सरस्वतीको रुपमा भगवान श्री कृष्णका विभिन्न अवस्थाहरुबाट प्रकट भएका थिए तथा माधवको कष्ठबाट उत्पन्न भएकी देवीको नाम सरस्वती रहन गएको भेटिन्छ । यसै क्रममा श्रीमद्देवी भागवत र श्री दुर्गा सप्तशतीमा समेत आद्याशक्तिद्धारा आफूलाई तीन भागमा अर्थात माहाकाली, महालक्ष्मी र माहासरस्वती विभक्त गरेकोे प्रसङ्ग रहेको छ ।
बेदमा जलदेवीको प्रख्यात सरस्वतीको शव्दिक अर्थ तलाउ बाली रहेको तथा विश्वास एवं मान्यता अनुसार ब्रहमा, विष्णु र महेश्वर देवताहरूले समेत देवी शारदाबाट ज्ञान शिक्षा प्राप्त गरेको उल्लेख छ । माहाभारतमा वेदकी जननी, जैन धर्ममा श्रुतिदेवी, बौद्ध धर्ममा प्रज्ञादेवीको रुपमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीलाई, अराधना गरिन्छ । सरस्वतीको महिमा, गरिमा र प्रभाव असीम रहेको तथ्य ऋग्वेदको सूत्र १२५ को आठौं मन्त्रमा वर्णन गरिएकोछ ।
वसन्त पञ्चमी देखि समस्त प्राकृतिक वातावरण सुन्दर देखिन थाल्छ । जाडो हटेर विस्तारै प्राकृतिमा न्यानोपन बढ्दै जान्छ । आजको दिन देखि स–साना बालबालिकाहरु स्कुल पढ्न जान थाल्छन् । वसन्त पञ्चमीले नवचेतना, प्राकृतिक सुषमा, सुन्दरता, कृषि सम्वृद्धि, बोट वृक्ष, वातावरण, प्राकृतिक सौन्दर्य र मानव जीवनमा शिक्षा, ज्ञान, विद्याको महत्वको सन्देश दिने भएकाले जागरूक भई पूर्ण भक्तिभावले यस पर्वको महत्वलाई आत्मसात गर्नुपर्ने देखिन्छ । जय सरस्वती माता !!!
प्रतिक्रिया