ताजा अपडेट »

संवैधानिक इजलासमा बहस : प्रक्रिया पूरा नगरेकाले रवि लामिछाने नेपाली नागरिक होइनन्

बुधबार, ११ माघ २०७९, १४ : ३७
24 Shares
बुधबार, ११ माघ २०७९
24 Shares

काठमाडौं ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न उठाएर दायर गरिएको रिटमाथि अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट बहस भइरहेको छ ।

सो क्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहसमा सहभागी हुँदै लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि गर्नुपर्ने प्रक्रिया पूरा नगरेकाले उनी नेपाली नागरिक नभएको जिकीर गरेका छन् । 

नागरिकता समाप्ति राज्य र व्यक्तिले निर्णय गर्न सक्ने भए पनि प्राप्तिका लागि भने कानुनसम्मत् प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था रहेको बताउँदै उनले  सो प्रक्रिया पूरा नगरेकाले लामिछानेले अहिले नेपाली नागरिक नरहेको बताएका हुन् । 

अमेरिकाको ग्रिनकार्ड लिने बेलामा लामिछानेले अरु कुनै देशको नागरिक नरहेको शपथ लिएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले ग्रिनकार्ड त्यागेपछि उनले नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया नै नथालेको बताए । उनले नजिरको रुपमा किरण गुप्ताको मुद्दाबारे बताएका छन् । 

रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ताहरुले अमेरिकी नागरिकता त्यागेपछि लामिछानेले नेपालको नागरिकता लिन प्रक्रिया सुरु नगरेकाले उनी नेपाली नागरिक नरहेको दाबी गरेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।