ताजा अपडेट »

पोखरा विमान दुर्घटना: काठमाडौँ ल्याइएका ४९ वटै शवको पोस्टमार्टम सकियो, पहिचान हुन बाँकी

शनिबार, ०७ माघ २०७९, १० : २५
21 Shares
शनिबार, ०७ माघ २०७९
21 Shares

काठमाडौ । गत आइतबार पोखरामा भएको विमान दुर्घटनाका ज्यान गुमाएकामध्ये काठमाडौँ ल्याइएका ४९ वटै शवको पोस्टमार्टम सकिएको छ ।

पोस्टमार्टम सकिए पनि सबै शवको पहिचान हुन सकेको छैन । त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले शुक्रबार रातिसम्ममा सबै शवको पोस्टमार्टम सकिएको जानकारी दिए । उनले त्रिवि शिक्षण अस्पतालमा भएको फरेन्सिक विज्ञहरूको टोलीले मात्र पोस्टमार्टम गर्न असम्भव भएपछि पाटन, भरतपुर, भक्तपुरलगायतका अस्पतालबाट फरेन्सिक विज्ञको टोली ल्याएर पोस्टमार्टम सकिएको जानकारी दिए ।

डा. चौधरीका अनुसार शुक्रबार थप दुईवटा शवको पहिचान भएको छ । ती दुई शव रसियन नागरिक रहेका छन् । रसियन नागरिकको शव आफन्तले बुझिसकेका छन् । अघिल्लो दिनसम्म २५ जनाको शव पोस्टमार्टम भएको थियो । तीमध्ये १६ शवको पहिचान भएको थियो । १६ शवमध्ये १२  शव आफन्तले बुझेका थिए ।

“पोस्टमार्टम सकिएको छ,” फरेन्सिक विभाग प्रमुख डा. चौधरीले भने, “अब शनिबारबाट शव पहिचानमा लाग्नेछौँ ।” उनका अनुसार हालसम्म १८ जनाको मात्र शव पहिचान भएको छ । शनिबार बेलुकीसम्म कतिवटा शवको डीएनए परीक्षण गर्नुपर्ने हो त्यसको विवरण आउने उनले बताए । उनले पाँचवटा शवको डीएनए परीक्षण गर्नुपर्ने हुन सक्ने पनि बताए । पोखराबाट २५ वटा शवको प्रहरीले नाम लेखेर पठाएको थियो । उनले पहिचान भएका शवमध्ये मृतकका शरीरमा भएका ट्याटु, चेन, गहना, लुगा, घडीलगायतको सामग्रीका आधारमा पहिचान गरिएको जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।