ताजा अपडेट »

आमा, आर्यघाट, आगो र खरानी

बुधबार, ०४ माघ २०७९, १० : ४९
276 Shares
बुधबार, ०४ माघ २०७९
276 Shares

पूर्वीय दर्शन अनुसार आमा र जन्मभूमिलाई स्वर्गभन्दा ठुलो मानिन्छ । भनाई छ जननी जन्मभूमिश्चः स्वर्गादपी गरियशी । सम्पूर्ण मानव जातिका लागि रगतको पहिलो नाता र पहिलो प्रेम हो आमा । मातृवत्सल काख सन्तानको लागि सधैं पृय हुन्छ । आमाको काख, अरूको लाख कति मार्मिक छ यो भनाई । सबैभन्दा पहिलो गुरू हुन् आमा ।

पवित्र ममता र सच्चा स्नेहकी खानी धरा, धरणी र आकाश धर्ति जस्ती आमाका अनेक नाम जननी, माता र महतारी हुन् । आमाको जस्तो निःस्वार्थ माया कसैबाट पाइदैंन । मेरी आमा जति सामान्य हुनुहुन्थ्यो उत्ति नै अभूतपूर्व पनि । आज एक आमाको बारेमा लेखी रहँदा हृदय भक्कानिएर अनेकौं सम्झना र भावनाहरुले मन छताछुल्ल भएको छ । एघार वर्षको कलिलो उमेरमा विवाह, चौविस वर्ष भित्र दुई छोरा र एक छोरीको जन्म, पहाडमा लेक र वेंसीको बसाई, रूपन्देही र बर्दीयाको नौलो परिवेशमा बसाइसरार्इं, जीवनको अन्तिम अवस्थामा जटिल स्वास्थ्य उपचार गर्दा गर्दै भौतिक जगतबाट बिदा हुनु भएकी आमाका जीवन संघर्षका अनगिन्ति अलिखित कथाहरु रहेकाछन् ।

अर्घाखाँची जिल्लाको खिदिममा एक कुलिन मध्यमवर्गिय ब्राह््रमण परिवारमा वि.स.ं २०११ साल चैत्र २५ गते आमा, नरर्मदा पोख्रेलको जन्म भएको थियो । दुई दाजुभाई र तीन दिदी बहिनी मध्ये माहिली छोरीको रूपमा उहाँको जन्म भएको थियो । घरबाट दुई दाजुहरू स्कुल पढ्न जानुहुन्थ्यो तर घर नजिकै प्राथमिक स्कुल भएर पनि उहाँले औपचारिक शिक्षा लिने अवसर पाउनु भएन । घरको धन्दा, मेलापात र पुजाको तयारी गर्नु उहाँको दैनिकी हुन्थ्यो । लुकिछिपी दाजुहरूले पढेको सुनेर, लेखेको देखेर सामान्य अक्षर र अङ्कसम्म चिन्नु भएको थियो । यस तथ्यले परिवारमा छोराछोरी प्रति गरिने विभेदका बारेमा त्यसवेलाको परिवार, समाज र चेतनाको स्तरलाई चरितार्थ गर्दछ ।

साथि संगीसँग कपी, कलम लिएर माटोमा खेल्दै स्कुल पढ्न जाने कलिलो उमेर एघार वर्षमा अर्घाखाँची जिल्लाको हाल शितगंगा नगरपालिका–१० हर्रेमा बुवा टेकराज पोख्रेलसँग आमाको विवाह भयो । न वालबिवाहको चेतना, न कुनै महिला सशक्तिकरणको तालीम, न कुनै डाक्टर र अस्पतालको सुविधा विवाह पश्चात चौविस वर्ष भित्र दुई छोरा र एक छोरीको आमा बन्नुभयो ।

वास्तवमा घर त्यो हो जहाँ छोरा–छोरीहरूले आमाबाट ममता र बाबुबाट आदर्श सिकेका हुन्छन । आमाको महिमाको वर्णन गर्न विश्वका चर्चित वैज्ञानिक, विद्वान, दार्शनिक, राजनीतिज्ञ पनि चुकेका छैनन् । अब्राहम लिङ्कनले भनेका थिए, म जे छु र जे हुने चेष्टा गर्छु, त्यो सबै मेरी आमाको देन हो । अमेरिकन लेखिका जोडी पिकल्ट भन्छिन् रुनका लागि सबभन्दा उत्तम स्थान भने कै आमाको अँगालो हो । मान्छेको ओठमा सबैभन्दा सुन्दर शब्द भनेको आमा शब्दको पवित्र उच्चारण हो । यसरी आमाको माया संसारले स्वीकारेको निःस्वार्थ माया हो । पूर्वीय शास्त्रले पनि भन्छ, यत्र नार्रयस्तु पुजन्ते रमन्ते तत्र देवता, अर्थात जहाँ नारीको पुजा हुन्छ त्यहाँ देवताको पनि बास हुन्छ ।

आमाले हामीलाई स्कुल जानु पूर्व सिलोटमा खरीले लेखेर अक्षर र अङ्क चिनाउनु भयो । सायद जग बलियो भएर होला म कक्षा एक देखि कक्षा दशसम्म आफू पढ्ने विद्यालयमा सधैं प्रथम हुँदै गए । पछि दुई विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधी हासील गर्न सफल भए । यस जगतका चार गुरू माता, पिता, शिक्षक र आध्यात्मिक गुरू मध्ये मेरो जीवनको पहिलो गुरू भनेको साँचो अर्थमा यो संसारको सबै भन्दा प्यारो शब्द मेरी आमा हुनुहुन्छ । संसारका सबै आमाहरू विश्वविद्यालय हुन् । हरेक कुराको थाहा नभएपनि उत्तर छ । हामी सानो हुँदा आमासँग कति धेरै प्रश्न गर्दथ्यौं । त्यो के हो भने पछि आमासँग उत्तर हुन्थ्यो । उहाँलाई थाहा थियो कि थिएन तर पनि उत्तर दिनुहुन्थ्यो । वास्तवमा आमाको हृदय नै बच्चाको सर्वोत्कृष्ट पाठशाला हो ।

गाउँमा रहँदा हाम्रो मुख्य पेशा कृषि थियो । खेतीपाती गर्ने शैली पनि बुवा र आमाको फरक थियो । गाई भैसी प्रसस्त थिए । त्यसैले दुध, ध्यु, दही, मही कहिल्यै कमी थिएन । खेतमा धान लगाउँदा खेतको आलीमा लगाएको मासले वर्षभरी दाल खान पुग्थ्यो । बारीमा मकै लगाउँदा सँगै बोडी, फर्सी, सखरखण्ड र बारीको डिलमा जुनेलो, काउनो, केरा, बेलाउती, मेवा, ऊखु र वर्षे घाँस लगाउनु हुन्थ्यो । पाखो वारीमा गहत, पिडालु र कर्कलो तथा मलखातो नजिक, सिमी, टमाटर ,घिरौंला, तरुल, स्कुस, खुर्सानी हुन्थ्यो । कागती, अमिलो, केरा, बेलाउती र मेवा प्रसस्त फल्थ्यो । कागती र अमिलोको रस निकालेर चुक बनाउनु हुन्थ्यो ।

पशुपालन र कृषि उत्पादनका लागि जीवनभर कहिं कतैबाट सहयोग र अनुदान लिनु भएन । तर पनि परिवार कृषिमा पूर्ण रुपमा आश्रित थियो । मासको दाल र कर्कलो मिसाएर तयार गरेको मसेप्रा, मुला र फर्सीको गुन्द्रक तथा तोरीको सागबाट बनेको सुकासागले बेसिजनमा पनि तरकारीको अभाव कहिल्यै हुने थिएन । बजार धेरै टाढा थियो । विक्री गर्ने चलन थिएन । गैरी खेतको तल पट्टी धेरै ठुलो आँपको रूख थियो । सिजनमा पाकेको आँप सबैलाई प्रसस्त खान पुग्थ्यो । आँपको रस सुकाएर बनाएको अमलेट दुई तीन महिना पछिसम्म खान मिल्थ्यो । खेतमा तीन खेती धान, गहुँ र मकै लगाउने चलन वास्तव मै स्व–कृषि क्रान्ति थियो ।

बजारबाट तरकारी खरिद गर्ने कुरा हामीले एसएलसी पछि मात्र थाहा पायौं । गाउँघरमा दुध, मही र तरकारी माग्न आउनेहरुलाई प्रसस्त दिएर पठाउनु हुन्थ्यो । वि.सं. २०४९ सालमा मेरो ब्रतबन्ध गर्दा, चौपारी चिनेर बर पिपलको भब्य बिवाह र पुजा गरी गाउँका अधिकाँश दाजुभाई र छिमेकी हरुलाई सहभागि गराउनु भएको थियो । हामीले प्राथमिक तहसम्म पढेको श्री जनजागृति प्राथमिक विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई बुवाले केही वर्षसम्म निरन्तर शिक्षा दान गर्नुभयो । यसका लागि चाहिने कपी, कलम, पेन्सिल खरिद गर्न आवश्यक रकम आमाले ध्यु, धान, चामल र मकै बिक्री गरेर बचेको थोरै थोरै रकम जम्मा गरी बुवालाई उपलब्ध गराउनु हुन्थ्यो । यस अर्थमा आमाको सोंच र व्यवहार पुरै समाजवादी थियो ।

अग्लो कद र पातलो ज्यान भएको हुँदा आमाको शरीर निकै फुर्तिलो थियोे । घरधन्दा, चुलो चौका र मेलापात गर्दा उहाँ मिहेनत र लगनशीलताका साथ काम गर्र्नुहुन्थ्यो । खेतवारीमा काम गर्दा प्रायः आफै मौलिक रचना गरेर गित गाउनु हुन्थ्यो । महिलाहरुको विशेष चाड हरितालीका तिजको दिन हर्रै भगवतीको मन्दीरमा जम्मा हुने सबै अग्रजहरूले खिदिमेको नाच नहेरी हामी जाँदैनौ भन्दै बारम्वार आमालाई नाच्न लगाउँथे । यस अर्थमा पनि आमा गित गाउन मात्र नभएर नाच्न समेत निकै सिपालु हुनुहुन्थ्यो । सामाजिक कार्य पुजा, ब्रतबन्ध, विबाहमा गाउँघरमा आमाको सक्रिय सहभागिता हुने गर्दथ्यो ।

हामी आफ्नो आमा बुबाको कुरा पनि सधैं मान्थ्यौं । सानोमा हामीलाई रूघालाग्दा, ज्वरो आउँदा विरेनुन, पानी, अदुवा, हलेदो, मरिच, ज्वानो, रूदिलो, कागती, तुलसी र अम्बाको पात उमालेर पिउन दिनुहुन्थ्यो । शरीरमा घाउ खटिरा आउँदा जडिबुटी र तातो तेल, ध्यु लगाएर घाउ ठिक पारि दिनु हुन्थ्यो । सानोमा कहिल्यै अस्पताल गएको हामीलाई थाहा भएन ।

आमाले हामीलाई माटोको घरभित्र, अगेनाको डिलमा बसेर पुराना कथाहरू सुनाउनु हुन्थ्यो । आफैले बुनेको परालको गुन्द्री र चकटीमा पलेटी मारेर बसाली खाना खुवाउनु हुन्थ्यो । स्याम्फु र साबुनको सट्टा पिनाले नुहाइदिए पछि शरीर र कपालमा मनतातो तोरिको तेल लगाई दिनुहुन्थ्यो । स्कुलबाट फर्कंदा भरूवा कलमबाट खसेको निलो मसीले रंगिएको कमिज गाली गर्दै सफा गरिदिनु हुन्थ्यो । जुनेली रातमा पुरै परिवार संगै बसेर रेडियोमा विविसी र घटना र बिचार सुन्थ्यौं । अंग्रेजी समाचार आए पछि रेडियो बन्द गर्न लगाउनु हुन्थ्यो । स्कुलबाट फर्कंदा मोहि, मकै, सातु, उसुनेको फर्सी, पिडालु, तरूल, सखरखण्ड र फलफुलमा सिजन अनुसार मेवा, बेलाउती, केरा, ऐसेलु खजैरी प्रसस्तै खान पाइन्थ्यो । यसरी हामीलाई खुवाउन पाउँदा उहाँमा खुसीको सिमा हुने थिएन । त्यसैले त भनिन्छ जो व्यक्तिसँग भगवान जस्तै आमा साथमा छन् त्यो नै सबैभन्दा धनी व्यक्ति हो ।

हिम्मते बच्चे मद्वते खुदा भनेझै बेंसीमा बस्दा खोला र जंगलको बाटो भएर पुरै डेढ घण्टा हिडेर हामी सानो उमेरमा स्कुल पढ्न जानु पर्दथ्यो । यसरी विकट ठाउँ भएर पनि छोराछोरीलाई शिक्षा दिक्षा राम्रोसँग दिलाउनु पर्छ भन्ने उहाँको ठुलो सोच रहेको कुरा जीवनभर भुल्न सकिंदैन ।आफूले औपचारिक शिक्षा लिन नपाए पनि छोरा र छोरीलाई पढाउन कुनै विभेद गर्नु भएन । आमाकै सल्लाहमा वि.स.२०३९ सालमा बुवाले गाउँको मुटुमा रहेको घर बिक्री गरी भैरहवामा जग्गा लिएर घर बनाउनु भयो । तर पचासको दशकमा मात्र बसाइसराईँ गरी हामी पढाईको सिलशीलामा भैरहवामा र बुवा आमा खेति गृहस्थिको लागि बर्दियामा दुई तर्फी बसाई भयो । बर्दिया गए पछि शारीरिक रूपमा आमाले धेरै मिहिनेत त गर्नु परेन र छोराछोरीको चिन्ताले भने उहाँलाई सताई रह्यो । आमाको स्मरण शक्ति असाध्यै तिक्ष्ण थियो । छोराछोरी, नाति नातिनाको जन्मदिनमा बिहानै सबैभन्दा पहिले फोनबाट, शुभकामना दिनुहुन्थ्यो सबैको जन्मदिन कण्ठस्थ रहन्थ्यो । त्यसैले त भनिन्छ आमाकै प्रिय हुन्छ काख जहिल्यै लाखै कमाए पनि ।

आमा बिहान सबेरै उठ्नुहुन्थ्यो । प्रातःकालीन नित्यकर्म समयमै सकेर जपतप, ध्यान गर्नुहुन्थ्यो । तुलसी मठमा जल चढाउने र दीप जलाउने उहाँको नित्य कार्य र गहिरो आस्था थियोे । पूजा पाठ र धार्मीक कार्य गर्दा भाव र भावना दुवै शुद्ध हुनुपर्छ । सो नभएमा उच्च कर्म पनि बिफल हुन्छ भन्नुहुन्थ्यो । सादा खानपान, सरल जीवनयापन, सक्रिय दिनचर्या आमाको दैनिकी जस्तै थिए । दिएको भोजन यदि बढी हुन्छ जस्तो लागेमा निकाल्न लगाउने र चाहिए फेरि माग्छु भन्नुहुन्थ्यो । नुन असाध्यै कम तर खानेकुरा भने मिठो चाहिन्थ्यो । भोजनसँग भोक, बिस्तरासँग निन्द्रा अनि धनसँग धर्म भएको व्यक्ति संसारकै भाग्यमानी हो, आमाले हामीलाई वेलावेलामा सुनाउनुहुन्थ्यो ।

गाउँमा रहेर पनि आमामा थुप्रै कुराको रहर र सपना थियो । रहर कहाँबाट उत्पन्न हुन्छ, थाहा छैन । यति हो कि रहर छ र मानिस छ, रहर छ र अस्तित्व छ । रहर र मानिस छुट्टिन सक्दैनन्, नदी र किनारा जस्तै । तर अन्तिममा सबै रहरहरूलाई थाति राखेर मानिसको भौतिक अस्तित्व विलिन हुन्छ नचाहेर पनि नदी किनारमा । यस ब्रमाण्डमा एक आँखा अगाडी देखिने डरलाग्दो कटु सत्य यहि नै हो ।

वि.सं.२०६० सालमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, काठमाण्डौमा पाठेघरको अप्रेशन पछि आमाले उच्च रक्त्तचापको औषधी नियमित खाने गर्नुुहुन्थ्यो । यो बिहान खाने, यो बेलुकी खाने औषधी हो भनेर आफैले चिन्नुहुन्थ्यो । दाँत दुख्ने समस्या भने सानै उमेर देखि थियो । दाँतको दुखाईले उहाँलाई बारम्बार दुःख दिएको थियोे । त्यसबाहेक आमाको स्वास्थ्यमा त्यस्तो कुनै कडा रोग देखिएको थिएन । तर २०७९ बैशाखमा उहाँलाई धेरै पटक पखला लाग्यो । ठिक नभए पछि केही दिन राजापुर, नेपालगंञ्ज र पछि ललितपुरको मेडिसिटी अस्पलतालमा उहाँको चेकजाँच र उपचार भयो । करिव एक महिना पछि सञ्चो भएर काठमाडौंबाट नेपालगंञ्ज एक्लै हवाइजहाजमा जानु भयो । बर्दिया घरमा पुगे पछि पुनःपखला लाग्यो ।

आमा एकपटक फोनमा मसँग जीवनमा पहिलो पटक धेरै रुनुभयो । लगत्तै २०७९ असार ११ गते आमालाई भेटेर भैरहवा ल्याउने बिचार गरी म बर्दिया गए । आमाले पकाएको स्वादिष्ट खाना खाए । यो नै मेरो जीवनमा आमाको हातले पस्किएको पछिल्लो खाना भयो । क्रमशः आमाको स्वास्थ्य अवस्थामा सुधार भयो र म एक्लै भैरहवा फर्किए । केही समय पछि फेरी आमा बिमारी हुनुभयो । स्थानीय अस्पतालमा उपचार संभव नभए पछि पुनः काठमाडौं लगि कन्ट्रास दिएर एमआरआई गर्दा उहाँको टाउकोमा फोर्थ स्टेजको ब्रेनट्यूमर देखियो । डाक्टर र पारिवारीक सल्लाह बमोजिम २०७९ असार २६ गते मेडिसिटी हस्पिटलमा आमाको अप्रेशन भयो । सोही दिन मेरो जन्मदिन अस्पतालमा आमाको सफल अप्रेशनको कामना गर्दै म प्रार्थना गरिरहें । बाह्र दिन अस्पतालको लामो बसाई पछि साउन चार गते आमालाई डिस्चार्ज गरी औषधी उपचारको सहजताका लागि बुवाको साथमा बहिनी प्रभाको कोठामा राखियो ।

अस्पतालमा लामो समयसम्म बसेर आमाको उपचार गराउँदा मन भित्रै देखि धेरै कुराको महसुस भयो । कि जटिल रोगको उपचारमा बहुसंख्यक नेपालीहरूको स्वास्थ्य उपचारमा पहुँच अत्यन्त दयनीय र पिडादायी छ । चुनावको समयमा पीडितहरूका बीचमा ठुला ठुला सपना र फुस्रा आश्वासनका पुलिन्दाहरू मात्र बाँडिदो रहेछ । कडा रोग लाग्दा सहज, सुलभ उपचार नपाएर मध्यम बर्गिय र गरिव नेपालीहरू मर्नुको विकल्प रहेनछ । औषधी उपचार र अस्पतालको खर्च असाध्यै महँगो । यसैको चर्को पिडामा हाम्रो परिवार पनि परियो । दुईचार जना केन्द्रीय नेताहरूलाई सहयोग लागि याचना ग¥र्यौं । तर कुनै सहयोग पाउन सकिएन । आमाको जटिल रोगको उपचार कठिन परिस्थितिका बीचमा चलिरहँदा भगवान श्री पशुपतिनाथसँग आराधना, डा.को निरन्तर प्रयास र हामीलाई माया गर्नु हुने पृयजन तथा शुभेच्छुकहरूको सदभाव नै उपचारका लागि बहुमुल्य स्रोत र विश्वासको झिनो टेको बनेको थियो ।

एक महिना पछि नेपाल क्यान्सर अस्पताल हरीसिद्धिमा आमाको रेडियो थेरापी सुरु भयो । थेरापी पछि उहाँको शरीर गल्दै गयो । वि.सं. २०७९ सालको तिज, दशैं र तिहार पर्व आमाको साथमा रहेर प्रतिकुल परिस्थितिका बीचमा काठमाडौंमा मनाईयो । दशैंमा टिका लगाउँदा बुवा, बैनी,म र श्रीमती बिमलासँगै आमा केही बेर भक्कानो छोडेर रुनुभयो । दैवको लिला भनौं वा स्वास्थ्य विज्ञानको कमजोरी लामो समयसम्म परिवारजन र सुविधा सम्पन्न अस्पतालमा डाक्टरको प्रयासका वावजुद् पनि उहाँको शरीरले रोगलाई जित्न सकेन । स्वास्थ्य अवस्था गम्भिर भएपछि २०७९ मंसिर १५ गते बिहिवार साँझ पुनः आमालाई नेपाल क्यान्सर अस्पताल हरीसिद्धिमा भर्ना गर्नु प¥यो । मंसिर १८ गते म अफिसको कार्यक्रम बिचैमा छोडेर चितवन सौराहा देखि अस्पतालमा राति नौ बजे मात्र पुगें । बुवा, बहिनी र ज्वाईं पहिले नै आमासँगै हुनुहुन्थ्यो । दाजु कमल पोख्रेल पनि सोही दिन बिहान मात्र अस्पतालमा पुग्नु भएको थियो ।

आमा जीवन मरणको दोसाँधमा अक्सिजनको साहाराले कठिन स्वास फेरिरहनु भएको थियो । आमा भनेर केही वेर बोलाए, हात सुम्सुमाएँ । थोरै आँखा खोले जस्तो, केही बोल्न खोजे जस्तो गर्नुभयो । तर केही बोल्न सक्नु भएन । मन मनै ख्याल राखेस, स्टेसेफ बाबु भन्दै आँखा भिजाउनु भयो । थाहा पाउने गरी नबोलेरै बोलाइरहनु भयो । एक चम्चा पानी मात्र पिलाएको डेढ घण्टा पछि अन्ततः क्यान्सरसँग निरन्तर छ महिना देखि लड्दै बुवा, दाजु र मेरो आँखा अगाडि आमाले हामी सबैलाई छोडेर जानुभयो । वि.सं. २०७९ मंसिर १८ गते त्यो कालो रात हामी आशुको तलाउमा डुबेको रात सजिलै बिर्सिन कहाँ सकिन्छ र ? समाइरहेको हात एक्कासी छुटेको दिन । त्यस दिन देखि जन्मदिने आमा शब्द सदाको लागि अन्त्य भएको छ ।

भनिन्छ संसारमा सबैभन्दा शक्तिशाली फलाम र त्यो भन्दा पनि शक्तिशाली आगो हुन्छ । आगोले फलामलाई पगाली दिन्छ । आगो भन्दा अझ शक्तिशाली पानी हुन्छ । पानीले दनदनी दन्किरहेको आगोलाई निभाई दिन सक्छ । पानी भन्दा शक्तिशाली भनेको हामी मानव हौं किनकि यस्तो शक्तिशाली पानीलाई हामीले घटघट पिइदिन्छौं । तर हामी मानव भन्दा पनि शक्तिशाली भनेको मृत्यु हो । मृत्युको अगाडी कसैको केही लाग्दो रहेनछ ।

प्रकृतिको नियम भन्दा बिपरित कसैगरी जान सकिदैन । जन्म पछी मृत्यु निश्चित छ । स्वीकार गर्नै पर्दोरहेछ । जीवन जति सामान्य होस् वा अत्यान्त्त विलासी, मानिसको जिन्दगीको मूल्य केही होइन भनेर यी तीन चिजहरूले प्रमाणित गरिदिन्छन । आर्यघाट, आगो र खरानी । मध्यम वर्गिय परिवारमा रहेर जीवनभर संघर्ष गर्नु भएकी आमा मंसिर १९ गते बिहान पशुपति आर्यघाट चितामा जलिरहँदा यस्तो लाग्यो दसवटा उपन्यास जलिरहेको छ । दुईवटा महाकाव्य र सयवटा कथा जलिरहेको छ । नलेखिएको महाकाव्य, उपन्यास आमासँग के लेखिएको मानिसहरूको भन्दा कम कथा थियो र ? पक्कै थिएन ।

चिता जल्दै गर्दा धुवाँका अक्षरहरूलाई कसरी टिप्ने म अर्धमुर्छित अवस्थामा टोलाउँदै हेरिरहे । अहिले पश्चाताप लाग्छ जीवनका आरोह अवरोहका बारेमा आमासँग लामो अन्तरंग भलाकुसारी गरी लिपीबद्ध र रेकर्ड गर्न सकिन । आमाको निधनले कहिल्यै नभरिने रिक्तता उत्पन्न भएको छ । सायद यति छिट्टै अल्प आयुमा आमाले छोडेर जानुहुन्छ भन्ने लागेको थिएन । जव धुवाँ कम बन्दै गयो आमा आकाश, वायु, जल, माटो र आगो गरी पञ्चतत्वमा विलिन हुनुभयो । मन भक्कानो पार्दै शेष अस्तु बाग्मतीमा बिर्सर्जन गरी मुन्डन र स्नान पश्चात सेतो बस्त्र धारण गर्दाको स्तब्ध क्षणलाई कुनै शब्दमा व्यक्त गर्न नसकिने रहेछ ।

कडा स्व–अनुशासन, उच्च नैतिक आचरण, सत्यनिष्ठा र कडा परिश्रमकी अनुयायी आमाका जीवनभर भुल्नै नसकिने÷ भुल्नै नहुने आदर्श गुण हुन् । आमा समयनिष्ठ, स्वच्छ र परिश्रमी हुनुहुन्थ्यो । जीवनको कठिन मोडमा समेत करूणा, उदात्त सामाजिक चेत, सहनशीलता र प्रेमकी खानी आमा सांसारिक यात्रा पछिको अन्तिम दिब्य अलौकिक स्वर्गलोकको गन्तव्यतर्फ प्रस्थान गर्नु भएपछि सम्पूर्ण परिवार जनको उपस्थितिमा काजकृया काठमाडौं तारकेश्वरधाममा विधिपूर्वक गरौं । अहिले आमा केवल स्मृतिमा मात्र हुनुहुन्छ ।

जीवन, प्रकृति र अनुभूति बद्लिरहन्छ । व्यक्ति, वस्तु र परिस्थिति सजिलै बदलिँदैन । स्वीकार गर्नै पर्दो रहेछ । एउटा सपना ,एउटा विश्वास र एउटा भरोसा आज हाम्रो परिवारको बीचबाट सदाका लागि टुटेको छ । थुप्रै हावा, हुरी, घाम, वर्षा, पहाड, वन, जंगल, गाउँ ,सहर, नगर, नदी, नाला ओराली, उकाली र समथर फाँट छिचोल्दै अविचलित रूपमा साहश र उर्जा लिएर अगाडी बढी रहेको आमाको भौतिक शरीर अल्पआयु मै हामीबाट सदाका लागि टाढा भएको छ । त्यो अलौकिक दिव्य धाममा ।

आज हामीले जन्मदिने आमालाई सधैका लागि गुमाएको छौं । आमाको अभावमा हुने पिडा शब्दमा व्यक्त गर्नै सकिंदैन । हजुरले बाल्यकाल देखि समाजको हितमा लाग्न दिनु भएको प्रेरणालाई म सधै पछ्याइ रहने छु । आफ्ना सन्तानका निम्ति गरेको त्याग, समर्पण अनि दश धारा अमृतको सम्मान गर्दै आमाको सम्झनामा द्रवीभूत भएको छु । हजुरको हातका औंला समाई हिँड्दै गर्दा म कहिले ठूलो भएर तपाईंको सहारा बन्नु जस्तो लाग्थ्यो तर जब म सक्षम भएँ हजुर केबल हाम्रो स्मृतिमा मात्र सीमित हुनुभयो । अ।फ्ना सन्तानको सुरक्षाको लागि ढाल बनेर रहने, आफ्ना इच्छा सन्तानको खुसीका निम्ति त्याग दिने ,आफ्ना हरेक दुःख लुकाएर सन्तानका निम्ति हाँस्ने आमा तपाई साच्चै माहान हुनुहुन्छ । आमा, हजुरको आशिर्वाद सधैँ पाइरहुँ ।

आमा विते पछि एउटा ठुलो पूर्णकदको तस्वीर बनाएर बैठक कोठामा राखेको छु । जति हेरे पनि आँखा नथाक्ने, स्वर्गकि अप्सरा जस्तो लाग्छ त्यो रातो साडी लगाएको आमाको तस्वीर । जसमा हरपल जिवन्त आमाकै स्वरूप झल्मल्ल आँखा अगाडि आउँछ । जव एकटक तस्वीर नियालेर हेर्छु , प्रेमले भरीएको आँखा, श्रद्धाले झुकेको शिर, धेरै असाहयहरूलाई सहयोग गरेका हात, सधैं सत्मार्गमा हिडेका पाउ, सत्य सित जोडिएको जीब्रो र भगवान प्रतिको गहिरो आस्था प्रतिविम्बित हुन्छ । यस्तो गुण भएको व्यक्ति त ईश्वरलाई धेरै मनपर्दो रहेछ । त्यसैले होला अल्प आयुमै आमाले हामीलाई छोडेर जानु भएको ।

बाटोमा आजभोली हिंड्दै गर्दा जव मेरो नजर भाँचिन लागेको हाँगा सुक्दै गएको रूख, ओइलाउन लागेको फूल, झर्दै गरेको पातमा पर्छ । काम गर्ने समयमा अनेकौं कठिनाईहरू आइपर्छ, अनयासै आमा र उहाँका लाखौं वाणीहरू सम्झिन पुग्छु । बाल्यकालका आमाका गाली पनि अहिले दवा र दुवा जस्तै लाग्न थालेको छ । उहाँले सिकाएका स–साना काम पनि महंगो शुल्क तिरेर लिएका ठुलाठुला तालिम जस्तै लाग्न थालेको छ । पंधेरीमा पानी भर्न जाँदा कुहिरो लागेर नदेखिए बाटो पाइला चाले पछी देखिन्छ भन्ने उहाँको भनाई अहिले मर्मस्पर्शी लागेको छ । भगवानको घर देर हुन्छ तर अन्धेर हुन्न भन्ने आमा अहिले पञ्चतत्वमा विलिन भएर केवल स्मृतिमा मात्र हुनुहुन्छ । हजुर हाम्रो साथमा नभए पनि तपाई जस्ता हजारौं आमाहरूको सदैव आशीर्वाद पाउन सकुँ । जति धेरै लेखे पनि आमाको वारेमा अधुरो हुनेछ मलाई थाहा छ । सधैं सत्कर्म मार्फत हजुरको सपना पुरा गर्न त्यो अलौकिक दिव्य वैकुण्ठ धामबाट सदा आशीर्वाद दिनुहोस् । आमा हजुरको आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछु !!! २०७९ माघ ४ गते, ४५ औं पुण्यतिथि ‘आमा एक, सम्झना अनेक’ !!

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।