ताजा अपडेट »

दुर्घटनामा परेका पाइलट केसीको जन्म गाउँ रुपामा सालिक निर्माण गरिने

मंगलबार, ०३ माघ २०७९, २२ : २५
30 Shares
मंगलबार, ०३ माघ २०७९
30 Shares

लेखनाथ । पोखराको सेती खोँचमा आइतबार बिहान जहाज दुर्घटनामा परी गाउँकै पहिलो पाइलट एवं प्रशिक्षक कमल केसीको निधनप्रति रुपा गाउँपालिकाले दुःख व्यक्त गरेको छ । कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मङ्गलबार केसीप्रति श्रद्धाञ्जलि तथा परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गरेका छन् । रुपा गाउँपालिका–३ स्थायी निवासी बुबा वीरेन्द्र केसी र आमा मीना केसीका जेष्ठ सुपुत्र ५९ वर्षीय क्याप्टेन कमल केसीको निधनले गाउँनै शोकमा डुबेको अध्यक्ष ओझाले बताए ।

अमेरिकाबाट पाइलट विषयमा अध्ययन गरी विसं २०४६ मा नोपल वायुसेवाबाट करियर सुरु गरी भारतको बैङ्गलोरस्थित इन्डियन एयरलाइन्स र पछिल्लो समय यती एयरलायन्समा आबद्ध क्याप्टेन केसीलेको निधनले रुपमा गाउँपालिकालाई अपूरणीय क्षति पुगेको जनाइएको छ । केसीलाई रुपा गाउँपालिकाको चौथो स्थापना दिवसको अवसरमा रुपा रत्न सम्मान २०७८ बाट समेत सम्मान गरिएको जानकारी अध्यक्ष ओझाले दिए । आज गाउँपालिकाको बैठकले आज साँझ रुपा गाउँपालिकाका सबै वडा कार्यालयमा ७२ वटा दीप प्रज्वलन गरी राष्ट्रिय झण्डा तीन दिनसम्म झुकाउने निर्णय गरेको छ । साथै बैठकले केसीको नाममा अर्धकदको सालिकसहितको पार्क निर्माण गरी शिलालेखमा जहाजमा दुर्घटना भएका ७२ जनाको नाम लेखिने निर्णय गरेको छ ।

साथै बैठकले पाइलट केसीका बारेमा स्थानीय पाठ्यपुस्तकमा समावेश गराउने निर्णयसमेत गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।