ताजा अपडेट »

बुटवल-नारायणघाट सडकमा कालोपत्रको परीक्षण शुरु

शनिबार, ३० पुस २०७९, ०८ : ४६
38 Shares
शनिबार, ३० पुस २०७९
38 Shares

बुटवल । निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण शुरु गरिएको छ । आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार एक सय २० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रको परीक्षण गरिएको आयोजनाका इन्जिनियर राकेश झाले जानकारी दिए । आयोजना शुरु भएको ४७ महिनापछि कालोपत्रको काम शुरु भएको हो । 

राजमार्गको मुख्य सडकमा पहिलो पटक परीक्षणका रुपमा सो काम शुरु भएको छ । भेँडाबारी खण्डको यो क्षेत्रमा आउँदो दुई साताभित्र एक किलोमिटर पिच गरिने इन्जिनियर झाले बताए । उनका अनुसार यो सडक १० मिटरभन्दा बढी फराकिलो छ । 

क्रसर उद्योगबाट नियमितरुपमा निर्माण सामग्री उपलब्ध भएमा आगामी असारसम्म १० किलोमिटर सडक कालोपत्र गरिने झाले बताए । राजमार्गमा फिलिङको काम भइरहँदा क्रसर उद्योग बन्द भएका कारण काम अघि बढाउन अप्ठेरो परेको झाको भनाइ छ । उनका अनुसार ग्राभेल हालेर पुर्ने काम सकिए पनि माथिल्लो भाग सम्याउन क्रसरका विभिन्न आकारको गिट्टी आवश्यक पर्छ ।

विसं २०७५ माघमा ४२ महिनामा निर्माण सम्पन्न गर्नेगरी सरकार र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको थियो । सो अवधि गत साउनमा सकिएकाले आगामी साउनसम्मका लागि समय थपिएको छ । 

विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको झण्डै छ दशकपछि पूर्व–पश्चिम राजमार्गको सो खण्डको विस्तार भएको हो । एशियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगमा सडक विस्तार भइरहेको छ । निर्माणको लागतमध्ये ८५ प्रतिशत एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।