ताजा अपडेट »

बुटवल उपमहानगरमा सार्वजनिक सुनुवाई : सेवाप्रवाहमा सुधार गर्न सुझाव

शुक्रबार, २९ पुस २०७९, १७ : ५३
46 Shares
शुक्रबार, २९ पुस २०७९
46 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले कार्यसम्पादन र सेवाप्रवाहबारे शुक्रबार सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीमध्ये ३७ जनाले विभिन्न विषयमा जिज्ञासा राख्दै बुटवल उपमहानगरपालिका र बुटवलका सरकारी कार्यालयहरुको सेवा प्रवाहका बारेमा जिज्ञासा र सुझाव राखेका थिए ।

सुनुवाईमा सहभागीहरुले छाडा चौपाया व्यवस्थापन, बाँदरको आतंक, मुख्य सडक र भित्री सडक निर्माण, १६-३६ कुलोको जग्गा अतिक्रमण, सुकुम्बासी समस्या, फोहोर व्यवस्थापनजस्ता समस्याहरु उठान गरेका छन् । बुटवलमा पछिल्लो समय चोरीका घटनाहरु भइरहेकाले प्रहरीको भूमिका बढाउन सहभागीहरुले आग्रह गरेका थिए । त्यस्तै बुटवलमा इरिक्सा र ठेला व्यवस्थापनले स्वरोजगार मजदुरहरु बेरोजगार हुनुपर्ने अवस्थामा पुगेको भन्दै निर्णय पुर्नविचार गर्न सुझाव दिएका छन् । बुटवलको तिनाउ पश्चिमको क्षेत्रमा कृषि उत्पादन वृद्धिका लागि उपमहानगरले थप ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्याललले सार्वजनिक सुनुवाईबाट प्राप्त प्रश्न र सुझावहरुलाई ग्रहण गरि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइन् । उनले आफूहरु निर्वाचित भएर आएको ६ महिना मात्रै भएकाले केही योजनाहरु कार्यान्वयनको चरणमा रहेकाले प्रगति विस्तारै देखिदै जाने बताइन् । कार्यक्रममा उठेका विषयहरुलाई सम्बोधन गर्दै बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले ४ सय १९ वटा प्रश्न र सुझावहरु प्राप्त भएकाले त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले सेवा प्रवाहलाई चुस्त र दुरुस्त राख्न आफूहरुलाई महत्वपूर्ण सुझावहरु आएकाले अर्को सार्वजनिक सुनुवाई गर्ने बेलासम्म सुधार गर्ने गरी काम गर्ने बताए ।

कार्यक्रममा उपमहानगरका प्रवक्ता शिव रानाले सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउँदै बुटवललाई समृद्ध बनाउनका लागि प्रतिबद्ध रहेको बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले शान्ति सुरक्षासँग जोडिएका विषयमा आफू जिम्मेवार रहेकाले समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाए । नेपाल पत्रकार महासंघ रुपन्देहीले समन्वय गरेको सार्वजनिक सुनुवाईमा १ सय ४ जना सेवाग्राहीसँग एक्जिटपोल र सिटिजन रिर्पोट समेत तयार पारेर प्रस्तुत गरिएको थियो । नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले सेवा प्रवाहमा सुधार गर्नुपर्ने, कर्मचारी र जनप्रतिनिधिहरुले पनि आफूलाई सुधार गर्नुपर्ने प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सार्वजनिक सनुवाई कार्यक्रमा वडाअध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न बिषयगत समितिका संयोजक, विभिन्न नागरिक समाज तथा संघसंस्थाका प्रतिनिधि गरि करिव २ सय जनाको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाईमा अस्वस्थ भई सहभागी हुन नसकेका नगरप्रमुख खेलराज पाण्डेयको तर्फबाट नगरप्रवक्ता शिव रानाले प्रमुखको सम्बोधन वाचन गरेका थिए । सम्बोधनमा प्रमुख पाण्डेयले बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहरका रुपमा स्थापित गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।