ताजा अपडेट »

लुम्बिनीमा सरकार गठनका लागि एमाले नेतृत्वमा आज दाबी पेश हुने

मंगलबार, २६ पुस २०७९, ०७ : ५६
46 Shares
मंगलबार, २६ पुस २०७९
46 Shares

बुटवल । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समय सीमाको एकदिन अगाडि नै दलहरुले दाबी पेश गर्न लागेका हुन् ।

सत्तारुढ दलको सोमबार बसेको बैठकले आज मंगलबार बहुमत सांसदको हस्ताक्षरसहितको दावी पेश गर्ने निर्णय गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिएका थिए ।

प्रदेशको भागवण्डा टुंगिएपछि लुम्बिनीमा एमालेले मुख्यमन्त्री पाउने भएको छ । उसैको अगुवाईमा सोमबार सबै दलको बैठक बसेको थियो । लुम्बिनीमा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लीला गिरी मुख्यमन्त्री बन्दैछन् ।

सोमबार दाङको देउखुरीमा एमाले संसदीय दलका नेता लीला गिरीसहित सत्तापक्षीय गठबन्धनका नेताहरूको बैठकले मंगलबार ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने सहमति गरेका हुन् । सोमबारको बैठकमा सत्तारुढ दलमा रहेको नागरिक उन्मुक्ति भने सहभागी भएन । उसका ४ सांसद छन् ।

सोमबारको बैठकमा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा र जनमतका नेताहरूको उपस्थिति थियो । एमाले सांसद भूमिश्वर ढकालले मंगलबार कम्तीमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गर्ने सहमति भएको बताए । उनले भने, ‘मुख्यमन्त्रीमा लीला गिरीको नामसहित कम्तीमा ४९ सदस्यको दाबी पेश हुन्छ, त्यो संख्या बढ्नेछ, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसद बैठकमा उपस्थित नभए पनि सरकारलाई समर्थन गर्ने विषयमा उहाँहरू सकारात्मक नै हुनुहुन्छ ।’

नागरिक उन्मुक्तिको दलका नेता धर्मबहादुर चौधरीले आफूहरु काठमाडौं भएकाले सोमबारको बैठकमा सहभागी नभएको र मंगलबार सहभागी हुने बताए । ‘हामीहरु सबै काठमाडौं छौं, केही असहमति त छन् तर हामी गठबन्धन बाहिर रहँदैनौ, भोलि म आउँछु अनि सहमति हुनेछ’, उनले भने ।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३–३ सिट छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । नागरिक उन्मुक्तिका ४ र स्वतन्त्रबाट २ सदस्य निर्वाचित छन् । कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।