बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायको हबका रुपमा बिकसित हुँदै गरेको कालिकापथमा सडक निर्माणको काम पूरा नहुँदा व्यवसायी समस्यामा परेका छन् । रात्रिकालिन बजार सञ्चालन गर्ने भनिएको बुटवलको कालिकापथ सडक निर्माणले पछिल्लो समय तीब्रता पाए पनि फुटपाथ बनाउने ठेकेदार सम्पर्क विहिन भएपछि अन्यौलमा परेको छ । बुटवलको बाइपास सडकको रुपमा रहेको योगिकुटीदेखि ईट्टाभट्टीहुँदै पुरानो बसपार्कसम्म सडक बिस्तारको काम अन्तिम अवस्थामा पुगे पनि सडक छेउको फुटपाथ व्यवस्थापन भने निर्माण कम्पनी सम्पर्कविहिन हुँदा अलपत्र परेको छ ।
कालिका पथ अन्तरगत होराइजन चोकदेखि योगिकुटीसम्मको नाली, कर्भस्टोन तथा फुटपाथ बनाउने जिम्मा लिएको बाञ्छिका निर्माण सेवाका ठेकेदार मँगल सेन मोवाइल अफ गरेर सम्पर्क विहिन बनेका हुन् । २४ महिनामा सक्नेगरी १ करोड १६ लाखमा निर्माणको जिम्मा लिएको उक्त कम्पनीले पटक–पटक म्याद थप गर्दासमेत विभिन्न बहाना बनाउँदै ढिलासुस्ति गर्नुका साथै पछिल्लो केहीमहिनादेखि सम्पर्क विहिननै भएको हो । लुम्बिनी प्रदेशसरकारको लागतमा बन्दै गरेको कालिका पथ अन्तरगत नाला निर्माण, फुटपाथ तथा कर्भस्टोनको काम शहरी बिकास तथा भवन कार्यालय रुपन्देहीले हेर्दै आएको छ ।
आयोजना हेर्ने ईन्जिनीयर प्रदिप घिमिरेका अनुसार पटक–पटक सम्पर्क गर्न खोज्दा पनि ठेकेदार भेट्न गाह्रो भएको हो । मोवाइल अफ गरेर ठेकेदार सम्पर्कविहिन भएपछि उक्त ठेकेदारको ग्यारेन्टी बसेका अर्का निर्माण व्यवसायी बखत शाहीले माघको पहिलो सातादेखि नै काम सुरु गर्ने प्रतिवद्धता गरेको घिमिरेले बताए । होराइजन चोकदेखि दक्षिणतर्फ योगिकुटीसम्म करिब ३५ प्रतिशत मात्रै काम सकिएको कार्यालयका ईन्जिनियर घिमिरेले बताए । आगामी चैत्र मासन्तसम्म काम सक्नुपर्ने अन्तिम म्याद भए पनि निर्माण कम्पनी नै सम्पर्कविहिन हुँदा समस्या सिर्जना भएको उनले बताए ।
यसैगरी होराइजनचोक देखि उत्तरतर्फ फुटपाथको निर्माण गर्ने जिम्मा पाएको निर्माण कम्पनीले समेत सन्तोषजनक काम नगरेको उनले बताए । पटक–पटक ताकेता गर्दा पनि निर्माणको जिम्मा पाएको एमकेएस, पर्वतीय जेभिले ढिलासुस्ती गरेको उनले बताए । साढे ४ करोडमा ठेक्का पाएको उक्त कम्पनीले टायल विच्छाउने क्रममा कमसल काम गरेको प्रश्न उठेपछि विग्रेका ठाउँमा पुनः मर्मतको काम सुरु गरेको थियो । तर, पछिल्लो केही समयदेखि निर्माण तथा मर्मतको काम ठप्प प्राय राखेको कम्पनीले सडक कालोपत्रे भएर सकिँदा पनि ३० प्रतिशत बढी काम सक्न बाँकी रहेको छ । यहाँका जनप्रतिनिधि प्रदेशसभाका सांसद, उपभोक्ता हित संरक्षण मञ्च लगायतका प्रतिनिधिहरुले केही महिना अघि निरीक्षण गरी काम कमसल भएको भन्दै सुधार गर्न निर्देशन गरेका थिए । उक्त निर्देशन अनुसार सुधारमा लागेको निर्माण कम्पनीको गती सुस्ताएपछि सडक छेउमा थुपारेर राखिएका टायलले उल्टै प्रदल यात्रु तथा सवारी साधनलाई नै समस्या पर्ने गरेका छन् । यसैगरी नालीका केही स्थानमा ढक्कन राख्ने काम नहुँदा पशु चौपाय तथा पैदलयात्री मानिसहरु समेत दुर्घटनामा पर्न सक्ने जोखिम फुटपाथमा कायमै रहेको छ ।
कालिका पथमा सडक निर्माणको काम भने पछिल्लो पटक थपिएको समयावधि भित्रै सकिने देखिएको छ । होराइजनचोकदेखि दक्षिणतर्फ रहेको ८ सय मिटर सडकमा कालोपत्रेका लागि तयारी अवस्थामा रहे पनि घाम नलागेका कारण रोकिएको छ । त्यसभन्दा तल रहेको बाँकी ४ सय मिटरमा समेत सव बेसको काम भैरहेको निर्माण कम्पनीले जनाएको छ । निर्माणको जिम्मा पाएको विरुवा, कालिगण्डकी, सिद्धार्थ जेभीले भ्याटसहित १५ करोड ९१ लाख ९९ हजारमा सडकको काम सक्नु पर्ने छ । बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्ग तथा पुर्व-पश्चिम राजमार्गपछि व्यस्त रहने यो सडकमा होराइजनचोकदेखि लुम्बिनी प्रादेशिक अस्पताल पछाडिसम्म कालोपत्रेको काम सकिएको छ ।
प्रतिक्रिया