ताजा अपडेट »

कपिलवस्तुमा प्रहरी र वन कर्मचारीको छापा, ९० क्युफिट काठसहित एक जना पक्राउ

विहीबार, २१ पुस २०७९, ०७ : २७
20 Shares
विहीबार, २१ पुस २०७९
20 Shares

बुटवल । कपिलवस्तुमा ९० क्युफिट काठसहित  एक जना पक्राउ परेका छन् । सवडिभिजन वन कार्यालय खरेन्द्रपुरले बुधबार काठसहित स्थानीय रुपेश थारुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने शिवराज नगरपालिका-३ स्थित भितारिया बस्ने बर्ष २१ का थारु छन् ।  

बरामद गरिएका काठमा विभिन्न साइजका ९२  थान चिरान रहेको वन कार्यालयले जनाएको छ । सहायक वन अधिकृत एजाज अन्सारीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र वन रक्षकसहित भितारीया पुगेको टोलीले सो काठ बरामद गरेको थियो । 

छापा मार्नेक्रममा भितारीया गाउँका अधिकांश घरको आँगनबाट लुकाएर राखेको अवस्थामा चिरान काठ बरामद भएको डिभिजन वन कार्यालय गौतमबुद्धका प्रमुख दधिलाल कंडेलले बताए । 

कपिलवस्तु साझेदारी वन समितिको जङ्गलबाट चोरीगरी काठ ल्याएको वन कार्यालयका कर्मचारीको अनुमान छ । तस्करको पहिचान खुलेकाले तस्करविरुद्ध मुद्दा दर्ता गरी कारवाही गर्ने डिभिजन वन कार्यालयले जनाएको छ । 

सो टोलीले भितारीया गाउँको ६ घरमा छापा मारेको थियो । सालको काठ र  कर्मा जातको काठ बरामद भएको डिभिजन वन कार्यालयले जनाएको छ । बरामद काठ डिभिजन वन कार्यालय गौतम बुद्धलाई बुझाइएको सो टोलीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।