ताजा अपडेट »

लुम्बिनी प्रदेशसभा सदस्यले स्थायी राजधानी देउखुरीमा लिए शपथ

आइतबार, १७ पुस २०७९, १५ : २०
91 Shares
आइतबार, १७ पुस २०७९
91 Shares

बुटवल । लुम्बिनी प्रदेशसभाका सदस्यहरूले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेशसभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका हुन् ।

८७ जना प्रदेशसभा सदस्यमध्ये नौ जनाले मातृभाषामा शपथ लिएका छन् भने बाँकी ७८ जनाले नेपाली भाषामै शपथ लिएका छन् । स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा रहेकाे प्रदेशसभा भवनमा  शपथग्रहण कार्यक्रम आयाेजना गरिएकाे थियाे । प्रदेशसभा नियमावली ०७९ को दफा ४ को उपदफा १ बमोजिम प्रदेशसभामा निर्वाचित भई आउने सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गराउने व्यवस्थाअनुसार प्रदेश प्रमुखबाटै शपथ ग्रहण गराइएको हो ।

शपथ ग्रहण र सोमबार बस्ने प्रदेशसभाको पहिलो अधिवेशनको बैठकका लागि प्रदेश सरकारको १० करोड रुपैयाँभन्दा बढी लागतमा देउखुरीमा बनाएकाे भवनको अधिकांश काम सकिएको छ । अहिले सजावटको काम भइरहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए । ‘हामी अब अन्तिम चरणमा छौं,’ उनले भने, ‘अघिल्लो प्रदेशसभाले तोकेको स्थायी राजधानीको प्रदेशसभा भवनमा शपथग्रहण भएको छ भने यही भवनमा पहिलो बैठक हुनेछ ।’

लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशसभामा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । कांग्रेसले २७ सिट जितेको छ । माओवादी केन्द्रले ९, राप्रपा ४, नागरिक उन्मुक्ती ४, जसपा ३, जनमत ३, लोसपा ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् । अघिल्लो प्रदेशसभामा ५ दलको उपस्थिति रहेकोमा यस पटक लुम्बिनी प्रदेश्सभाका दलको संख्या १० पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।