ताजा अपडेट »

बुटवलमा गुण नियन्त्रणको बजार अनुगमन : प्रहरीले चाखेर ‘ओके’ भनेपछि पास !

बुधबार, १३ पुस २०७९, १२ : ४०
66 Shares
बुधबार, १३ पुस २०७९
66 Shares

बुटवल । खाद्यप्रतिविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले बुटवलको औद्योगिक प्रदर्शनी तथा व्यापार मेला भित्र मँगलबार बजार अनुगमन गर्यो । अनुगमनका क्रममा मेलामा रहेको एक पसलमा गएर टोलीले जुस तयार पार्न लगाउँछन् । बनाउने सबै प्रक्रिया देखाउँदै तयार पारिएको जुस मानव स्वास्थ्यका लागि ठिक छ वा छैन मापकको रुपमा त्यहाँ उभिएका हुन्छन् प्रहरी हवल्दार कुलचन्द्र पोख्रेल । उनले तयार भएको जुस चाख्दै ‘ओके’ भनेपछि खाद्य प्रविधि तथा गुण निन्त्रण कार्यालय भैरहवाका प्रमुख बिमलकुमार दाहालले ठिक छ भन्दै त्यहाँबाट अनुगमनका लागि अन्यत्र लम्किन्छन् ।

रुपन्देही उद्योग संघले यही पौष ७ गतेदेखि १९ गतेसम्मका लागि आयोजना गरेको मेलामा खाद्य सम्बन्धि स्टलहरुको अनुमगन गरिएको हो । अनुगमन गरिएका मध्ये घरेलु रुपमा तयार पारिएका खाद्य बस्तुहरुमा कमजोरीहरु फेला पारेको अनुगमन टोलीले जनाएको छ । अनुगमनमा अखाद्य तथा मापदण्ड विपरीतका पदार्थ प्रयोग गरी परीकार तयार पारिएका, उत्पादन मिति तथा उपभोग गर्न मिल्ने मिति लगायतका लेबल नलगाइएका बस्तु समेत विक्रिमा राखिएको भेटिएको टोलिले जनाएको छ । लेवल स्पष्टसँग देखिने गरी नराखिएको तथा अचार लगायतका वस्तुहरु प्याकेजिङ बिनानै खुला रुपमा बिक्रि गरिएको मन्दै अनुगमत टोलीले कमजोरी देखाएको थियो ।

अनुगमन टोलिले महिलाहरुले घरमै तयार पारेका अधिकांश खानाका परिकारहरुमा कमजोरी देखाएको थियो । यसैगरी बालबालिकाहरुका लागि बेच्न राखिएका चिनी पानीको घोल, चिनी र भुजा फिटेर बनाइएका परिकार, दुधमा मिसाएर खाने चिउरा लगायतका तयारी परीकारहरु मापदण्ड नपुगेको भन्दै जफत गरिएको थियो । अनुगमनका क्रममा मेलामा राखिएको आइस कोला (गुलियो पानी) मानव स्वास्थ्यको लागि असर गर्ने बताउँदै मेलास्थलमै नष्ट गरिएको छ । व्यापारका लागि राखिएका बस्तुहरुको कुनै मापदण्ड वा कुनै ल्याव परीक्षण बिनानै अखाद्य घोषणा गर्दै जफत गर्न लागेपछि व्यवसायीहरु केही समय आक्रोसित बनेका थिए । बजारमा खुलेआम विक्रि भएका बस्तुहरु समेत मेलाभित्र अखाद्य र मापदण्ड विपरित भन्दै अनुगमन टोलीले जफल गरेपछि व्यवसायीहरुले ल्याव परीक्षण गरी मानव स्वास्थ्यमा असर पर्ने पदार्थ भेटिए कारबाही भोग्न तयार भएको तर, यसरी आतंकित पार्ने ढङ्गले व्यवहार गर्नु गलत भएको भन्दै आक्रोस व्यक्त गरेका थिए ।

ईलाका प्रशासन कार्यालय बुटवलका केदारप्रसाद घिमिरे, उपभोक्ता हित संरक्षण मञ्चका तेजकुमार पाठक, १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सवका प्रतिनिधि जिवकान्त काफ्ले लगायतको टोलीले मँगलबार मेलामा स्टलहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख दाहालले आफूले २०/२५ वर्षसम्म अनुगमनको काम गरेको अनुभवमा मेला स्थलमा पनि अनुगमन गरिएको बताए । ल्याप परीक्षण वा कुनै पादण्ड विपरित चाखेकै भरमा खाद्य र अखाद्य भनि छुट्याउँदै हिँडेका दाहालले आफूसँग २५ वर्षको अनुभव भएको दाबी गर्दै सोही अनुसार गरेको उल्लेख गरे ।

मेला आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले मेलास्थलमा आयोजकको तर्फबाट पनि छुट्टै समिति गठन गरी अनुगमन भैरहेको जानकारी दिए । मेलास्थलमा केही स्टलहरुमा कमजोरीहरु पनि भेटिएको भन्दै उनले ती स्टलहरुलाई सचेत गराउने तथा अखाद्य बस्तुहरु भेटिए जफत गर्नेसम्मका काम भैरहेको दाबी गरे । मँगलबार खाद्य प्रतिविधिले गरेको अनुगमन प्रक्रियाप्रति भने उनले असन्तुष्टि जनाएका छन् । ‘कमजोरीहरु भेटिएमा कारबाहीको पनि प्रक्रिया हुन्छ । सामान जफत गर्ने, सुधार्नका लागि चेतावनी दिने, जरिवाना गर्ने ।’–पौडेलले भने ‘यसरी प्रक्रियागत रुपमा भन्दा पनि व्यापार मेला नै असफल पार्नेगरी व्यवसायीहरुलाई आतंकित पार्नेगरी अनावश्यक टर्चर दिने काम भयो ।’ मेला स्थलमा गुणस्तरीय बस्तुको विक्रि वितरणका लागि आयोजक संस्था पनि संवेदनशिल र सचेत रहेको बताउँदै उनले खाद्य प्रविधिले अनुगमन गरेर सहयोग गर्नु सकारात्मक भएपनि व्यवसायीहरुलाई नै आतंकित पार्ने काम सकारात्मक नभएको टिप्पणी गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।