बुटवल । बुटवल-१९ मनोहरापुरमा अवस्थित अमर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिकाराम बरालले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेर आफ्नो जन्म दिन मनाएका छन् । विद्यालयमा अध्ययनरत १८० जना गरिव तथा जेहन्दार विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गरेका हुन् ।
जन्म दिन मनाउने नाममा हुने अनावश्यक तथा अतिरिक्त खर्च गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताउँदै उनले उक्त रकमलाई सकारात्मक र मानव सेवामा समर्पित गर्नुपर्ने सन्देशसहित कपडा वितरण गरिएको उनले बताए । व्यवस्थापन समितिको हैसियतले कुशल व्यवस्थापनसँगै शैक्षिक प्रगतिका लागि आफ्नो भूमिका महत्वपूर्ण रहने बताउँदै उनले त्यसका लागि सधै सक्रिय र संवेदनशिल भएर लागेको उल्लेख गरे । सामुदायिक विद्यालयहरुमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै गएको बताउँदै उनले अमर माविलाई पनि नमूना बनाउनेमा केन्द्रित भएको उल्लेख गरे ।
न्यानो कपडा वितरणकै अवसरमा विद्यालयको शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ । अभिभावक दुर्गा खड्काको संयोजकत्वमा समिति गठन गरिएको विद्यालयले जनाएको छ । सह प्रधानाध्यापक देवराज पौडेलको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयलाई नमूना बनाउनका लागि शिक्षक, अभिभावक तथा विद्यार्थी सबैको लगनशिलता आवश्यक रहेकोमा जोड दिएका थिए ।
प्रतिक्रिया