ताजा अपडेट »

साईग्लोबल कपः भैरहवाको जेसिज उच्च मावि विजयी

आइतबार, १० पुस २०७९, १५ : २९
18 Shares
आइतबार, १० पुस २०७९
18 Shares

भैरहवा । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप-२०७९’ टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा जेसिज उच्च मावि, भैरहवाले सीसीटी कलेज, बुटवललाई ३० रनले पराजित गर्दै जित हात पारेको छ ।

टस जितेर ब्याटिङ गरेको जेसिजले निर्धारित खेलमा ७ विकेटको नोक्सानीमा १ सय ४२ रन बनायो । उसका लागि संगम पाण्डेले ४७, अजयकुमार चौहानले २२, अस्मान थारुले नटआउट १६ र सागर कुँवरले ११ रन बनाए । बलिङमा सीसीटीका अमित तिवारीले २ तथा विष्णु कटरिया, इकलाख वारि र अनिल आचार्यले समान १-१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको सीसीटीले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय १२ रन मात्रै बनाउन सक्यो र हार ब्यहोर्यो । उसका लागि विष्णु कटरियाले २४, इकलाख वारिसले २०, सन्तोष पाण्डेयले १८ र आनन्द गौडले १७ रन बनाए । बलिङमा उसलाई सस्तैमा रोक्न जेसिजका निश्चल भुसालले ३, क्रिश्चल केसी र अजयकुमार चौहानले समान २-२ तथा शैलेन्द्र यादवले १ विकेट लिए । खेलमा जेसिजका संगम पाण्डे म्यान अफ द म्याच भई पुरस्कृत भए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता पुस १६ गतेसम्म चल्नेछ । प्रतियोगितामा रुपन्देहीका निजी तथा सामुदायिक गरी २० वटा कलेजको सहभागिता छ । प्रतियोगितामा बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संघका सचिव संजय गुरुङले जानकारी दिए । यस्तै, प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साईग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।