ताजा अपडेट »

मानवताका लागि संगीत अभियान : नेपथ्यको संगीतमा बुटवलका दर्शक झुमे

आइतबार, १० पुस २०७९, ०७ : २८
27 Shares
आइतबार, १० पुस २०७९
27 Shares

बुटवल । मानवताका लागि सांगेतिक यात्रामा रहेको नेपथ्य ब्याण्डले शनिबार बुटवलका दर्शकलाई नचाएको छ । गायक अमृत गुरुङले बुटवलमा शनिबारको चिसो साँझलाई तताउँदै दर्शकहरुलाई विभिन्न लोक भाका, राष्ट्रिय गान तथा रक गितमा नचाएका हुन् ।

‘मानवताको लागि संगीत’ नारासहित मानवता प्रवद्र्धन अभियानमा लागेको मानव सेवा आश्रमको अक्षयकोष स्थापनार्थ बुटवलसहित नेपालका १० ठूला शहरमा सांगेतिक कार्यक्रम गर्ने अभियान अन्तरगत शनिबार बुटवल–१२ रामनगरमा कार्यक्रम सम्पन्न भएको हो । जहाँ ६ हजार टिकट र भिआईपी पासहरुबाट प्रवेश गरेका अतिथि तथा दर्शकहरुले नेपथ्यको धुनमा झुमेका थिए ।

मानव सेवामा अग्रसर मानव सेवा आश्रमले गरेका कामहरुको १५ मिनेट लामो डकुमेन्ट्री प्रस्तुतीसँगै सुरु भएको कार्यक्रममा नेपथ्यका केही पुराना गितहरुको म्युजिक भिडियो हुँदै गायक अमृत गुरुको स्टेजमा आगमनपछि दर्शकबाट तालि र सिटीसहित ठूलो स्वरमा हुटिङ आएको थियो । झम्काईदेउ झम्काईदेउ गलै माया झम्काईदेउ, मैमरि जाउला जीवन छोटो छ, लेखेको सम्झना नफाल सिरानमा फोटो छ, आकासबाट के उडि आयो, भेडाको उनजस्तो, मायाको फोटो म खिचि लान्छु, पुर्नेको जुन जस्तो लगायतका गीतबाट गायक गुरुङले दर्शकलाई नचाएका थिए ।

गायक अमृत गुरुङले गीतसंगै बीचबीचमा कार्यक्रमको विषयमा प्रष्टयाउँदै गए । देश भ्रमण र पर्यटनलाई जोडेर सन्देशहरु दिए । फेरि गाए ‘सिरफुल सिरैमा बनफुल वनैमा, हिउँको फुल धौलाशिरैमा’ गाए । विदेशमा गएर भर्ति भएका नेपाली र उनिहरुको विरताको कथा र लाहुरे घर फर्किदाको खुशियाली ब्यक्त गर्दै ‘नैनताल नैनताल घुमिआए रेल‘’ गित गाउँदा सबै भावुक भए । ‘जिवन हो घाम छाया, सुख दुःख दुबै हुन्छ ।’, मानिसले जन्मपछि मृत्यु स्वाभाविक भएको भन्दै मानव कल्याणमा लाग्न आग्रह गर्दै

पुर्वेली शब्दले भरिएको ‘कोशीको पानी यो जिन्दगी जाई जाने हो, आमाको कोखमा बासमात्र लिए पनि कुन देशको मरण हो ।’ गाए । यसैगरी ‘भटटट भटटट भटभटे आयो, बाटो छोडछोड‘..’, ‘गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ’ भन्ने देश बनाउन संकल्प गर्न जनताले भोट दिएर जिताएका जनप्रतिनिधिहरुलाई नमात्तिन र हारेकालाई हरेश नखान भन्दै उनले देश विकासमा सबै एक भएर लाग्न सुझाव सहित गित गाए ।

अमृत गुरुङ्गले प्रस्तुतिसँंगै बीचबीचमा देशभक्त, शिक्षा, पर्यटन प्रवद्र्धन, चेतनाका नाराहरु सुनाए । नेपालका पर्यटकीय स्थानहरु भ्रमण गर्न सल्लाह दिने, बालबालिकाको शिक्षामा पहुँच पुर्याउने, ट्राफिक सचेतनाको समेत कुरा गर्न भ्याएका थिए । आफनै संगीत सामग्रीसहित नेपथ्यले कार्यक्रम गर्नु एउटा विशेषता पनि हो । ‘चरी मर्यो सिसैको गोलीले, माया बस्यो त्यो मीठो बोलीले ।

तालको माछा कोही गन्न सक्दैन, जातै सानो मायामा हँुदैन, माया साथैमा उडायो रेलैले’ मार्फत माया लगाउँदा जातले नछेक्ने सन्देश दिए । उनले सालैजो भाकामा समेत गित गाएका थिए । बुद्धजन्म स्थल लुम्बिनीको सम्भापनालाइ उजागर गर्दै उनले जोडे अर्को गित ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना’ नेपालका सबै कुनाकाप्चामा बस्ने नेपाली हो भन्ने सन्देश दिने गरि उनले ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली ’ भन्ने गित गाए ।

‘सानुमा सानु कमलको हागा, रेशम..’ ले फेरी दर्शक नचाए । योसंगै उनले पुनः दर्शकलाई तताउने गरी झाउरे भाकाको ‘जाम भने जाउ त नि, २–४ महिना घुमेर आउतनी, हिमाल चुचुरे, दाईको मन कस्तो बानी निष्ठुरी‘..झ्यालैमा बसेर नजिक्याउ है‘.’ गित गाए । कार्यक्रमको अन्ततिर उनले ‘झ्याउरे भाका, मै नाचे छमछम’ बोलको गित गाउदै आफनो टिमको परिचय दिए भने स्थानीय आयोजकलाई समेत कार्यक्रम आयोजना गरेकोमा धन्यबाद दिन भ्याए । उनले ब्याण्डको चर्चित गित ‘तालको पानी माछीले खाने, पेरेमसित जानेकी नजाने’ गाए भने अन्तमा ‘रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो, जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो’ गीतसंगै कार्यक्रमबाट बिदा लिए ।

बीचबीचमा वाद्यवादनबाट समेत रमाईलो संगितमार्फत दर्शक नचाउन ब्याण्डका सदस्यहरु सफल भएका थिए । ब्याण्डको अनुभवी सदस्य खर्क बुढामगरले मादलको धुनले धेरैलाई अचम्म पारिदिएका थिए । यसैगरी निरज गुरुङ्गले गितार र सुविन शाक्यले बेसको धुन निकाले भने किर्बोडमा सुरज थापा र ड्रममा धुव तामाङ्गले टिमलाई साथ दिएका थियो ।

मानव सेवा आश्रमको अक्षयकोष स्थापनाको लागि आयोजना गरिएको कार्यक्रमको सहआयोजकका रुपमा रोटरी क्लब अफ बुटवल डाउनटाउन रहेको थियो ।
यसअघि नेपथ्यले आफनो रजत उत्सवको अवसरमा संगितमार्फत शिक्षा र सामाजिक विकृति विरुद्ध अभियान चलाएको थियो ।

मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीले नेपथ्य ब्याण्ड मनोरञ्जनसंगै नेपाली भाषा र संस्कृति जगेर्नाको अभियानमा लागेको बताए । यसअघि नेपथ्यले विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी र वीरेन्द्रनगर सुर्खेतमा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ । नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो ।

यसपटकको महिना दिन लामो नेपाल भ्रमण अन्तर्गत बुटवलमा आठौं प्रस्तुती दिएको हो । बुटवलमा यसअघि नेपथ्य ७ पटक आफनो प्रस्तुती लिएर उपस्थित भइसकेको छ । त्यसमध्ये ‘शान्तिको लागि शिक्षा’ अभियान लिएरै तीनपटक आएको थियो । अघिल्लोपटक सन् २०१८ मा यहाँको रंगशालामा प्रस्तुती दिनका लागि ब्याण्ड आएको थियो । संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले नेपालको पुर्वदेखि पश्चिमसम्म गरेर दस स्थानमा कन्सर्ट आयोजना गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।