ताजा अपडेट »

गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत मात्र सहभागी

शुक्रबार, ०८ पुस २०७९, ०९ : ४५
14 Shares
शुक्रबार, ०८ पुस २०७९
14 Shares

गुल्मी । गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ । झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो । स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी धुव्रराज बोगटीले गुल्मीमा अहिलेसम्म कूल ४० हजार एक सय १८ घरपरिवारका ९४ हजार पाँच सय ८९ जनाले स्वास्थ्य बिमा गराएको जानकारी दिए ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार गुल्मीको कूल जनसङ्ख्या दुई लाख ४६ हजार आठ सय ३३ रहेको छ । यो अनुसार जम्मा ३८ दशमलव ३२ प्रतिशतले मात्र स्वास्थ्य बिमा गराएको देखिन्छ । गुल्मीमा २०७६ सालदेखि स्वास्थ्य बिमा लागू भएको हो । स्वास्थ्य बिमा बोर्ड जिल्ला शाखाका अनुसार आर्थिक वर्ष २०७६/७७ मा तीन हजार आठ घरपरिवारका सात हजार आठ सय १७ जनाले स्वास्थ्य बिमा गराएका थिए । यसबाट रु ५३ लाख ४५ हजार सङ्कलन भएको थियो । आव २०७७/७८ मा कूल २१ हजार एक सय ५८ घरपरिवारका ५८ हजार तीन सय ९२ जनाले स्वास्थ्य बिमा गराएका थिए ।

यसबाट नवीकरणसहित रु तीन करोड ५८ लाख ९२ हजार सङ्कलन भएको थियो । आव २०७८/७९ मा भने स्वास्थ्य बिमा गराउनेको सङ्ख्या घटेको छ । कूल १५ हजार नौ सय ५२ घरपरिवारका २८ हजार तीन सय ८० जनाले स्वास्थ्य बिमा गराएका छन् । यसमा अघिल्लो पटकको नवीकरणसहित रु चार करोड ७५ लाख ६० हजार सङ्कलन भएको स्वास्थ्य बिमा बोर्ड शाखाका प्रमुख दर्ता अधिकारी बोगटीले जानकारी दिए । गुल्मी अस्पतालमा स्वास्थ्य बिमामार्फत उपचारको सेवा लिने बिरामीको सङ्ख्या निकै न्यून छ ।

आव २०७८/७९ मा सो अस्पतालबाट कूल ६९ हजार चार जनाले उपचारको सेवा लिए पनि २१ हजार छ सय जनाले मात्र स्वास्थ्य बिमामार्फत सेवा लिएको अस्पतालका प्रमुख डा उत्तम पच्याले जानकारी दिए । यस वर्ष स्वास्थ्य बिमा गराउने सङ्ख्या भने बिमा बोर्डले एकीकृत गर्दैछ । यस अवधिमा गुल्मी अस्पतालबाट कूल ४७ हजार चार सय चार बिरामीले स्वास्थ्य बिमामार्फत नभई शुल्क तिरेर उपचार गराएका छन् । स्वास्थ्य बिमा गराएमा रु तीन हजार पाँच सयमा घरका पाँच जनाले रु एक लाख बराबरको उपचार सेवा लिन सक्छन् ।

स्वास्थ्य बिमामार्फत उपचार गराउने बिरामीले गुल्मी अस्पतालबाट कूल रु चार करोड ७३ लाख ७८ हजार बराबरको सेवा लिएको डा पच्याले बताए । पछिल्ला वर्षमा तुलनात्मकरुपमा बिमितको सङ्ख्या बढ्नुपर्ने हो । अस्थायी बसोबास गर्नेले अन्यत्र स्वास्थ्य बिमा गराएको एउटा कारण हुनसक्ने शाखाको अनुमान छ । सबैलाई स्वास्थ्य बिमामा समेट्न नसकिएको बिमाका दर्ता अधिकारी धुव्रराज बोगटीले बताए । जिल्लाभर ९३ बिमा दर्ता सहयोगीमार्फत काम भइरहेको छ । स्वास्थ्य बिमाप्रति नागरिकलाई प्रेरित गर्ने काम भने कमै भएको पाइन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।