बुटवल । मानव बेचविखन मुद्दामा ३० वर्ष कैद फैसला भई फरार रहेका व्यक्तिलाई रुपन्देहीको ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको छ । रुपन्देही जिल्ला साविक रुद्रपुर गा.वि.स ३ हालको कञ्चन गाउँपालिका ५ बस्ने आरने माईला भन्ने मिन बवहादुर वि.क कामीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
कपिलवस्तुका सालिकराम वि.कको सहयोगमा मिनबहादुरले २ महिलालाई भारतमा लगेर बेचेका थिए । बेचिएका महिलाहरु भागेर नेपाल आउन सफल भएपछि उनीहरु विरुद्ध प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले आरोपितहरुलाई पक्राउ गरी मुद्दा चलाएकोमा अदालतले दुई लाख ५० हजार जरिवानासहित ३० वर्ष जेल सजाय सुनाएपछि मिनबहादुर फरार रहेका थिए ।
यसरी बेचिए फूलमाया र लक्ष्मी
घटना २०७० सालको कार्तिक महिनाको अन्तिमतिरको हो । आर्थिक अवस्था कमजोर भएका र ज्याला मजदुरी गरी जीवन निर्वाह गरीरहेका थिए कपिलवस्तुका २ जना महिला फूलमाया र लक्ष्मी (नाम परिवर्तित) । आर्थिक रुपले कमजोर रहेका उनीहरुको भेट सालिकराम विकसँग हुन्छ । ती महिलाहरुको आर्थिक अवस्थामा फाइदा उठाउँदै सालिकरामले राम्रो काम र राम्रो पैसा कमाइन्छ भनि रोजगारीको प्रलोभन देखाउछन् । फुलमाया र लक्ष्मीलाई काम लगाइदिने भन्दै सालिकरामले चन्द्रौटास्थित घरबाट हिडाली सोही दिन राती दाङको भालुवाङ्ग स्थित होटेलमा पुर्याउँछन् । सालिकरामले सोही होटलमा अर्का व्यक्ति आरने माईला भन्ने मिन बहादुर वि.क कामीलाई बोलाउछन् । होटलमा आएका मिनबहादुरसँग परिचय गराउँदै 'यो मेरो भतिजो हो तिमिहरु यसैसँग जानु राम्रो खाना, पैसा र काम लगाईदिन्छन' भनि जिम्मा लगाउँदै सालिकराम त्यहीबाट बिदा हुन्छन् ।
त्यसपछि आरने माईला भन्ने मिन बहादुर बि.क ले फुलमाया र लक्ष्मीलाई जागिर, खाना र लवाई खवाईको प्रलोभनका कुरा सुनाउँदै त्यहाँबाट बस चढाई नेपालगञ्ज हुँदै रुपेडीया नाकाबाट भारतको पञ्जाव स्थित जालन्धर शहरको फिरोजपुरमा पुर्याउँछन् । वग्गी नाम गरेको मानिसलाई देखाई तिमीहरुको मालिक यही हो कामकाज गर्न तयार हुनु भन्दै फूलमाया र लक्ष्मीलाई जवरजस्ती सादा कागजमा ल्याप्चे लगाउन पठाउँदै काम पक्का भयो भनि बग्गी नाम गरेका भारतीयसँग छोडीदिन्छन् । मिन बहादुरले गोप्य रुपमा वग्गीलाई भेटी पिडित महिलालाई छाडी आफू त्यहाबाट बेपत्ता हुन्छन् ।
भारतीय नागरिक बग्गीले फूलमाया र लक्ष्मीलाई फिरोजपुरको अर्धनग्न महिलाहरु नाच्ने होटलमा लगी तिमीहरु पनि भोलिदेखी यसैगरी नाच्नुपर्छ भनी बताउँछन् । भोलिपल्ट नै उनीहरु कामका लागि उक्त होटलमा जान्छन् । काम सुरु भएपछि होटलमा आएका अन्य मानिसले शरीर सुमसम्याउन लागेकोपछि फूलमाया र लक्ष्मी झस्किन्छन् । 'किन यसो गरेको ?'-भन्दा सुमसुम्याउनेहरुको जवाफ आउँछ, 'तिमिहरुलाई मैले पैसा दिएर किनेको हो, तिम्रो मानिसले मसँगबाट रुपैया लगेको छ ।' यसपछि मात्रै उनीहरुले आफूहरु बेचिएको पत्तो पाउँछन् । होटलमा बेचिएको १५/२०दिनसम्म फूलमाया र लक्ष्मीले ग्राहकले भने अनुसार नाङ्गिने काम गर्न बाध्य हुन्छन् । एक दिन कोहि नभएको मौका छोपी उनीहरु भागेर नेपालको कृष्णनगर बोर्डरमा रहेको पुन:स्थापना गृहको संरक्षणमा आउँछन् । उनीहरु नेपाल आएपछि दिएको उजुरीसँगै २०७० सालको पौष महिनामा ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तु मार्फत मानव वेचविखन तथा ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढ्छ ।
प्रहरीले अनुसन्धानको क्रममा प्रतिवादी सालिकराम बि.कलाई पक्राउ गरी अनुसन्धान गर्दा आरने माईला भन्ने मिन बहादुर कामीले नै पीडित महिलाहरुलाई आफै भारतको जालन्धरमा लिई गई उतै फरार रहेको खुल्छ । मुख्य कसुरदार मिन बहादुर कामी नै ठहरी कपिलवस्तु जिल्ला अदालतले मानव वेचविखन ओसारपसार ऐन २०६४ अनुसार कैद, जरिवाना र क्षतीपूर्ती भराउने फैसला गरेको गर्छ ।
यसरी पीडित महिलाहरुलाई भारतमा बिक्री गरी सुरुदेखी नै फरार रहेका आरने माईलालाई मुख्य कसुरदार मानी कपिलवस्तु जिल्ला अदालतको मिती २०७४ असार १९ गते को फैसलाले मानव वेचविखन कसुरमा ३० बर्ष कैद र २ लाख ५० हजार जरिवाना र १ लाख २५ हजार पीडित महिलाहरुलाई क्षतिपूर्ति दिलाउने फैसला गर्छ ।
फैसलासँगै ६ वर्षदेखि फरार रहेका मिन बवहादुर वि.क कामीलाई ईलाका प्रहरी कार्यालय सालझन्डीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक जगन्नाथ मरासिनी सहितको प्रहरी टोलीले खोजतलास गर्दा यही पौष ४ गते दिउँसो सैनामैना नगरपालिका-५ बुद्धनगरबाट पक्राउ गरेको जनाएको छ । फैसला कार्यान्वयनको लागी पौष ५ गते मँगलबार कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले कैद भुक्तानको लागि कारागार कार्यालय कपिलवस्तुमा चलान गरेको छ ।
प्रतिक्रिया