ताजा अपडेट »

लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा

मंगलबार, ०५ पुस २०७९, १८ : २७
49 Shares
मंगलबार, ०५ पुस २०७९
49 Shares

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा प्रदेश सभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सोही भवनमा प्रदेश सभाको पहिलो बैठक बस्ने गरी तयारी गरिएको छ । राप्ती गाउँपालिका ३ लालमटियामा प्रदेश सभा भवन बनिरहेको छ । ‘पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ’, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, ‘अब अन्य सानातिना काम बाँकी छन् ।’

राप्ती गाउँपालिका ३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थानान्तरण गरेपछि सोही स्थानमा मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयका लागि संरचना प्रयोगमा आएका हुन् । नवनिर्वाचित प्रदेश सांसदहरूले भालुवाङस्थित नयाँ भवनमा शपथ खाने तयारी भइरहेको छ ।

केसीका अनुसार विद्युत् जोड्ने, रंगरोगन, एसी राख्ने, टेबुल, कुर्सी, कार्पेट बिछ्याउने काम पनि भइरहेको छ । भवन वाइबी स्टोन बिल्डर्स प्रालिले निर्माणको जिम्मा पाएको छ । प्रदेश सभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि १४ वटा कोठा बनेका छन् । प्रदेशसभा भवन एक अर्ब २० करोड लगानीमा बनिरहेको हो ।

प्रदेश सभा भवनभित्रको काम सबै पूरा भइसकेको छ भने बाहिर इन्टरलक लगाउने बाँकी छ । विद्युत जोडिएको छ । रंगरोगन भइसकेको छ । अब बाँकी एसी राख्ने, टेबल, कुर्सी, कार्पेट विछ्याउने, प्रदेशसभालाई चाहिने माइक्रोफोन राख्नेलगायतका डेकोरेसनको काम बाँकी छ । त्यो सबै जिम्मा प्रदेश सभाले लिएको छ ।

पुस तेस्रो सातासम्ममा बैठक बस्ने गरी तयारी थालिएको छ । आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार मुख्यमन्त्री कुलप्रसाद केसी हाल काठमाडौं रहेको र उनी फर्केपछि मन्त्रिपरिषद् बैठकले यससम्वन्धी आवश्यक निर्णय गर्नेछन। लुम्बिनी प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुखले सपथ गराउने छन् । प्रदेश सभा नियमावली २०७९ को नियम ४ बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरिसकेपछि सदस्यहरूको सपथ हुनेछ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी