ताजा अपडेट »

बुटवलमा शनिबार नेपथ्य ब्याण्डको कन्सर्ट, यसरी लिनुहोस टिकट

मंगलबार, ०५ पुस २०७९, १० : ५०
35 Shares
मंगलबार, ०५ पुस २०७९
35 Shares

बुटवल । ‘मानवताका लागि संगीत यात्रा’ लिएर चर्चित नेपथ्य ब्याण्ड सांगीत यात्रा लिएर शनिबार साँझ बुटवल आउँदै छ । मानव सेवा आश्रमले नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा यही पुस ९ गते शनिबार साँझ ४ बजे बुटवल–१२ रामनगरमा गर्ने कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

चर्चित गायक अमृत गुरुङ र नेपालयका किरण श्रेष्ठ, अर्पण शर्मासहित प्राविधिक समेत गरि ७० जनाको टोलीसहित बुटवलमा साँगेतिक कार्यक्रमका लागि आउने भएका हुन् । सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको हो । कन्सर्टमा गायक गुरुङले मानवता झल्किने र मानवता प्रवर्द्धनमा सहयोग पुग्ने गीतसँगै आफ्ना चर्चित सांगीतिक प्रस्तुित गर्नेछन् ।

यसरी लिनुहोस् टिकट
बुटवलमा हुने कन्सर्टका लागि ६ हजार टिकट बिक्री गरिने आयोजकले जनाएको छ । टिकट शुल्क एक हजार राखिएको छ । टिकट खरिदका लागि मोवाइल एप ई–सेवा, खल्ती, थुप्रै डटकम लगायतबाट अनलाइन बुकिङ गर्न सकिन्छ । इ–सेवा लगायत मोवाइल एपहरुको भोटिङ तथा इभेन्टमा गएर बुटवलका लागि टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ । यसैगरी प्रत्येक्ष रुपमा बुटवलमा रहेको मानव सेवा अश्रमको कार्यालयमा गएर पनि टिकट गरिद गर्न सकिने छ । बुटवलको राजमार्ग चौराह, मिलनचोक तथा ट्राफिकचोक लगायतका स्थानमा स्टल स्थापना गरी टिकट विक्री भइरहेको आयोजकले जनाएको छ ।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको रुपन्देही संयोजक टिकामाया थापाले बताइन । सांगीतिक आनन्द पनि हुने मानवताका लागि सहयोग पनि पुग्ने भएकाले महाअभियानमा साथ दिन कार्यकम संयोजक लोकनाथ भुसालले आव्हान गरेका छन् ।

मुलुकका १० ठूला शहरमा साँगीतिक कार्यक्रम
नेपथ्यले मानवसेवा अश्रमको सहयोगमा मुलुकका १० ठूला शहरहरुमा कन्सर्ट गर्ने भएको हो । मंसिर १९ गते वीरगंजको ‘आदर्शनगर रंगशाला’बाट अभियान शुरु भएको थियो । साँगेतिक यात्रा पुस ६ गते वीरेन्द्रनगर सुर्खेत आएको छ । मंसिर २२ गते हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’मा, मंसिर २५ नारायणघाटको ‘क्याम्पाचौर’मा तथा मंसिर २९ गते नेपालगन्जमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

पुस ३ गते धनगढीमा सम्पन्न भएको छ भने पुस १२ गते पोखरास्थित प्रदर्शनी केन्द्रमा प्रस्तुति दिने कार्यक्रम रहेको छ । यसरी देशका सम्पूर्ण प्रदेशहरू घुमिसकेपछि अन्तिममा ब्याण्ड काठमाण्डौं पुग्नेछ। काठमाण्डौंमा भने पुस १६ गते भृकुटीमण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ ।

ब्याण्डले बेसहारा बन्न पुगेका नेपालीहरूको आवाज बन्ने मात्र नभई उनीहरूको सहयोगार्थ अर्थ संकलनमा हातेमालो गर्नेछ। ‘हामीले गीत संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रुपमा उठाउँदै आएका छौं,’ ब्याण्डका गायक अमृत गुरुङले भने, ‘कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नु नपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मनपराउँदै आउनुभएका श्रोता दर्शकमाझ पुग्न लागेका छौं।’ नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।