पोखरा । गण्डकी प्रदेशमा सांसद चयनको प्रक्रिया सकिएको छ । अब सबैको ध्यान संसदीय दलको नेता चयनमा केन्द्रित छ । पहिलो दल नेपाली कांग्रेसमा संसदीय दलको नेता सर्वसम्मत नहुने सम्भावना बढेको छ । केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई संसदीय दलको नेताका रुपमा हेरिएको छ । यद्यपि, उनलाई नवलपुरका सभापति महेन्द्रध्वज जिसीले चुनौति दिएका छन् । उनले आफुसँग बहुमत भएकोले प्रतिश्पर्धा गर्ने बताए ।
‘शुक्रराज दाइ नआएपछि म नै दावेदार हुँ,’ उनले भनेका छन्, ‘मसँग बहुमत छ, चुनाव जित्छु ।’ तर पाण्डे भने सर्वसम्मत रुपमा आफैँ नेता बन्ने बताउँछन् । ‘चुनाव हुँदैन । सर्वसम्मत नेतृत्व चयन हुन्छ,’ उनले भने, ‘म ने संसदीय दलको नेता हुँ ।’ पाण्डे संस्थापन पक्षका हुन् भने जिसी संस्थापनइतर हुन् । त्यसो त संस्थापनबाटै विन्दुकुमार थापाले पनि दलको नेता दावी गरेका छन् भने इतरबाट अर्का नेता भोजराज अर्यालले दावी गरेका छन् । यद्यपि, सर्वसम्मतको प्रयास हुने बताइएको छ ।
दोश्रो ठूलो दल नेकपा एमालेमा पनि दलको नेताका रुपमा खगराज अधिकारीलाई हेरिएको छ । उनी संगठन विभाग प्रमुख तथा केन्द्रीय सदस्य हुन् । पार्टीभित्र उनी सबैभन्दा माथिल्लो पदको नेता छन्, प्रदेश सांसदमध्येमा । तर, उनलाई पनि अरु सांसदहरुले चुनौती दिने बुझिएको छ । कास्कीमा खगराज र पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको छुट्टै समूह छ । उक्त समूह प्रदेशसम्म पनि झाँगिएको छ । पिएसले संसदीय नेताका लागि अरुलाई अघि सार्न सक्ने धेरैको आंकलन छ । त्यसो हुँदा बागलुङका लिलाबहादुर थापा, कास्कीका भीम कार्की लगायत नेताहरुको चर्चा छ । यद्यपी उनीहरुले सार्वजनिक रुपमा आफू दलको नेता हुने बक्तब्य दिएका छैनन् ।
पिएसले यसअघि नै खगराजलाई चुनौती दिँदै निर्वाचनको समयमा लमजुङले पुनः मुख्यमन्त्री पाउन सक्ने बताएका थिए । उनले जमिन्द्रमान घलेलाईअघि सार्ने बुझिएको थियो । तर, घले प्रतिस्पर्धामै पराजित भए । माओवादीले हरिबहादुर चुमानलाई दलको नेता बनाउन सक्छ । उनी यसअघि पनि दलको नेता भएर काम गरिसकेका व्यक्ति हुन् । त्यसो त, उनलाई चुनौती दिने नेताहरु पनि खासै निर्वाचित भएका छैनन् । यद्यपी उनी पार्टीभित्र देव गुरुङ समूह निकट मानिन्छन् । उनीविरुद्ध पनि उम्मेदवारी पर्न सक्ने माओवादीकै नेताहरुको दावी छ । तर प्रतिस्पर्धामा को आउने भन्ने कुनै संकेत गरेका छैनन् ।
माओवादीले समानुपातिकसहित ८ सिट जित्दै तेश्रो दल बनेको छ । कांग्रेससँग २७ सिट छ भने एमालेले २२ सिट पाएको छ । समानुपातिकबाट संसदमा इन्ट्री गरेको राप्रपासँग २ सिट र एकीकृत समाजवादीको १ सिट छ । मनाङबाट निर्वाचित सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेपछि उक्त पार्टीलाई शून्य हुनबाट जोगाएका छन् । अन्य पार्टीले यहाँ संसदीय दलको नेता पाउँदैनन्, उनीहरुको संसदीय कार्यालय पनि रहने छैन । अहिले संसदीय दलको नेता बन्न सांसदहरुको काठमाडौं दौडधुप बढेको छ ।
प्रतिक्रिया