ताजा अपडेट »

गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि नमूना परीक्षण हुँदै

सोमबार, २६ मंसिर २०७९, १७ : १०
28 Shares
सोमबार, २६ मंसिर २०७९
28 Shares

गुल्मी । गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जङ्गलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन् ।

छ दशक पहिले तामा, फलाम र सिसाको उत्खनन गरिएको इतिहास रहेको भार्सेमा फेरि अनुसन्धान गरी उत्खनन गर्न सत्यवती गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको हो । सत्यवती गाउँपालिकाको पहलमा भूगर्भविद्को सहयोगमा अनुसन्धान सुरु भएको भार्सेका वडाध्यक्ष होमबहादुर रानाले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र विभागका प्राध्यापक डा कविराज पौडेलसहित नौ जनाको समूहले भार्सेका विभिन्न ठाउँमा पुगेर तामा, फलाम र सिसाको नमूना सङ्कलन गरेर शनिबार फर्किएको छ । उनीहरुले पुस मसान्तभित्र नमूनाको नतिजा दिनेछन् ।

भार्सेको देउराली, चाहारे, भैँसे, झुलेनी, चालपात, लुराङग, पैयाँपाटा, खैरेनी र खाडा गाउँमा रहेको विभिन्न खानीबाट नमूना सङ्कलन गरिएको हो । भार्सेबाट तामा, फलाम र सिसा बन्ने कच्चापदार्थ धाउ बाग्लुङमा लगेर जाने गरेको पनि इतिहासका रुपमा रहेको स्थानीय नरु बुढाथोकीले बताए । भार्से गाउँ थाप्ले लेकको काखमा छ । यहाँ पर्यटकीय संरचना पनि बन्दै गएका छन् । भार्सेमा १२ औँ पुस्ता अगाडि तामा, फलाम र सिसा खानीको उत्खनन गर्ने क्रममा बस्ती बसेको पनि स्थानीयवासीले बताउँदै आएका छन् । अनुसन्धानका क्रममा तामा, फलाम र सिसा खानी सावित भएमा सत्यवती गाउँपालिकाले उत्खनन सुरु गर्नेछ ।

इतिहासका रुपमा रहेको तामा, फलाम र सिसा खानीको वास्ताविकता पत्ता लगाइ खानी सावित भएमा उत्खनन गरेर आर्थिकरुपमा माथि उठ्न सकिने सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।