वि.सं. २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा सहायक पदवाट वित्तीय क्षेत्रमा प्रवेश गरेका एक युवा हालका सफल र चर्चित बैंकर्स बन्न सफल भएका छन् । व्यवस्थापन संकायमा स्नाकोत्तर गरेका उनले ३५ वर्षको उमेरमा नै राष्ट्रिय बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका छन । उनी हुन् ,हाल निकै चर्चामा रहेको शाइन–रेशुङ्गा डेभलपमेण्ट बैंकका कार्यकारी अधिकृत प्रकाश पौडेल । आफ्नो जीवनलाई बैंकिङ्ग क्षेत्रमा समर्पित गर्दै अघि बढेका पौडेल बैंकिङ्ग प्रति प्रतिबद्ध र दूूरदर्शी छन् । उनका दूरदर्शी योजना र समर्पणको आधारमा नै वि.सं.२०६५ सालमा ६करोड पूँजीबाट सुरु भएको तत्कालिन शाइन डेभलपमेण्ट बैंक लिमिटेड हाल राष्ट्रिय स्तरको बैंक भएको छ ।६६ जना संस्थापक सेयर सदस्यहरुको लगानीमा स्थापना भएको बैंकले गुल्मीको तम्घासमा मुख्य कार्यालय रहेको रेसुङ्गा विकास बैंकसँग २०६९ साल चैत्र ४ गते मर्जगरी शाइन रेशुङ्गा बैंक भएको हो ।
त्यसैगरी २०७३ साल जेष्ठ २९ गते प्यूूठानमा केन्द्रिय कार्यालय भई एक जिल्ला कार्यक्षेत्रमा सेवा प्रवाह गरेको बैंकलाई प्राप्ति गरी संस्था विस्तारलाई निरन्तरता दियो । प्यूठानको गौमुखीलाई प्राप्तिसँगै बैंकमा शाइन रेशुङ्गा १४४ जना र गौमुखी ५६जना गरी कर्मचारीको संख्या २०० जना पुग्यो । वित्तिय अभियानलाई निरन्तरता दिँदै राष्ट्रिय यात्रामा अघि बढेको बैंकले २०७६ साल आश्विन २७ गते रुपन्देहीको भैरहवामा प्रधान कार्यालय रहेको पूर्णिमा विकास बैंक र बाँकेको नेपालगञ्जमा प्रधानकार्यालय रहेको भार्गव विकास बैंकलाई प्राप्ति गर्याे । यससँगै मर्जको दिन बैंकको चुक्ता पूँजी रु. २ अर्ब ६२ करोड २९ लाख रहेको थियो भने करिब ६सय जना रोजगार थिए र छन् । यसरी वित्तीय क्षेत्रमा फरक पहिचाहन बनाउन सफल बैंक र उक्त फरक पहिचानको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका शाइन–रेशुङ्गा डेभलपमेण्ट बैंक का प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल सँग ग्लोबल आवाज का लागि एन.बी.कंडेल ले गरेको कुराकानी :
सानो पूँजी ,क्षेत्रफलबाट सुरु भएको बैंक ठूलो,पूँजी हुँदै राष्ट्रिय स्तरमै जाँदा पहिलो प्राथमिकतामा कुन स्थान पर्दछ ?
–हाम्रो पहिलो प्राथमिकता प्रदेश ५ नै रहनेछ । रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहने छ भने राष्ट्रियस्तरमा स्तरोन्नती भएकाले शाखाहरु देशभर हुनेछन् । विशेषत हाम्रो प्रमुख व्यवसायिक क्षेत्र प्रदेश ५ भएको हुनाले यहाँको वित्तिय पहुँच र वित्तिय समावेशितालाई विशेष प्राथमिकता दिई कारोवार विस्तार गर्दैछौं ।
राष्ट्रिय स्तर भइसकेपछि वर्तमान समयमा बैंको वित्तिय अवस्था र संरचना कस्तो छ ?
– राष्ट्रिय स्तरको विकास बैंकको रुपमा काम गर्ने अनुमति पाएको बैंकको २७ अर्ब बढी डिपोजिट छ । करिब २४ अर्ब बढी ऋण छ । करिब ५ अर्ब क्यापिटल फण्ड छ । बैंको चुक्ता पूँजी तीन अर्बभन्दा बढी छ । हाल ७० वटा शाखा कार्यालय र एक वटा एक्सटेन्सन काउण्टरबाट सेवा प्रवाह गरेको छ । एटिम सेवा पनि विस्तार गर्दैछौं । प्रदेश ५ मा सबैभन्दा बढी शाखा रहेको छ ।
अधिकांश राष्ट्रिय स्तरका बैंक तथा वित्तिय संस्थाहरुको केन्द्रिय कार्यालय राजधानी काठमाडौंमा रहेको अवस्थामा यहाँबाट मुख्य भूमिकामा काम गर्दा यस बैंकलाई र यहाँका ग्राहकलाई कस्तो प्रभाव पर्ला ?
–यो बैंक यहीबाट बनेको हो । यसको दायित्व पनि बढी यही क्षेत्रमा छ । हिजोको परिवेश र आजको परिवेशमा धेरै फरक आएको छ । हिजोको अर्थतन्त्र राजधानी केन्द्रित अर्थतन्त्र थियो भने आज नेपाल संघीयतामा छ । सात वटा थप राजधानीहरु थपिएका छन् । अब केन्द्रिकृत अर्थतन्त्र नभएर ग्रामिणमुखि अर्थतन्त्रमा परिणत हुँदै छ । जसको कारणले गर्दा अत्यधिक मात्रामा ग्रामिण क्षेत्रलाई समेट्दै अगाडी बढ्ने अवसरहरु मिलेका छन् । त्यसैले गर्दापनि अब यस क्षेत्रमै कार्यालय राखेर अझ बढी वित्तीय पहुँच पुर्याउँदै ग्रामिण क्षेत्रका जनताको जिवनस्तर उकास्न सक्छौं ।
यहाँबाट आफ्ना स्तरका बैंकहरुसँग प्रतिष्पर्धा गरी सेवा प्रवाह गर्न सकिने आधारहरु के–के छन् ?
–यहाँबाट देशभर समान हिसाबले हेर्न सक्ने वातावरण भएकोले रुपन्देहीबाट हेर्दै देशभर शाखा विस्तार गर्दा असफल भइन्छ जस्तो लाग्दैन । अर्कोतर्फ प्रदेश ५ मै पहिला नै हामीले वित्तिय जग बसालेका छौं ।
बैंकहरुको संख्या घट्नु आकार बढ्नु अर्थात् मर्जर नीति बाध्यता कि आवश्यकता ?
–यो बाध्यता भन्दापनि आवश्यकता हो । हिजो बैंक छरिन परेको थियो । अहिले बैंकभन्दा पनि पूँजी छरिन आवश्यकता छ । अर्थात् मुलुुक संघियतामा अघि बढ्दा वित्तिय आकार ठूलो र वितरण भएर नै विकास निर्माणमा सहज हुने हो ।
मर्जर अर्थात् दुई वा बढी बैंकहरु मिलेर संयुक्त कारोबार गर्दा सबै सधैं उचित व्यवस्थापन,परिचालन र सेवा प्रवाह हुन्छ नै भन्ने छ ?
–पूर्ण जानकारी ,सहकार्य ,सहमति र प्रक्रिया मिलाएर नै एक अर्थात मर्जर हुने नीति छ । बैंका कर्मचारी, लगानीकर्ता नियामक निकायहरुका नीति निर्देशन, निक्षेपकर्ता, ऋणिहरु, कर्मचारी, समाज, सामाजिक उत्तरदायित्व लगायत समग्र सरोकारवालाहरुको हीतमा काम गर्दै आएका छौं । तसर्थ हाम्रो एकता सबैका लागि हितकरनै हुन्छ ।
मर्जर नीति र अभियानले हिजोका दिनमा ठूला बैंकहरुले सेवा दिन नसकेको समयमा ग्रामिण र दुुर्गम क्षेत्रमा सेवा दिने साना बैंक तथा वित्तिय संघ–संस्थाहरुको अस्तित्व मेटिने देखिन्छ नि ?
–हिजो क्षेत्रीय स्तरका विकास बैंकहरु हुँदा गाउँगाउँमा शाखाहरु खोलेर सेवा प्रवाह गरेका थिए । आज बैंकको संख्या कम हुँदै गएतापनि शाखा संख्या बढ्दै गएका छन् । हिजगो जुन ठाउँबाट बैंकहरुले सेवा प्रवाह गरेका थिए त्यो ठाउँमा आज पनि गरिरहेका छन् । कुनैपनि शाखा बन्द गरेको अवस्था छैन । आज पनि तिनी शाखाहरु त्यहि स्थानबाट चलिरहेका छन् । यसले गर्दा मर्जर वित्तीय पहुँचमा कमी ल्याउने भन्दा पनि संस्थालाई थप मजबुत बनाई प्रभावकारी काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ । सवल र सुदृढ संस्थाले आगामी दिनमा थप वित्तीय पहुँचका लागि काम गर्न सक्छ । मर्जरले र एक्विजिशनले वित्तीय पहुँचमा झन बृद्धि गर्न मद्दत गर्दछ।
बैंकहरुले देशको अर्थतन्त्रमा कस्तो भूमिका खेलेका छन् ?
–बैंकले ग्रामिण क्षेत्रको अर्थतन्त्र चलायमान गराउनको लागि ग्रामिण क्षेत्रमा वित्तीय पहुँच पुर्याउन अत्यन्त ठूलो भूमिका निर्वाह गरेका छन् । र आगामी दिनमा बैंकहरुको पूँजीगत आधार बृद्धि भएसँगै ठूला– ठूला औद्योगिक क्षेत्रमा, व्यापारिक क्षेत्रमा पनि लगानी गर्न बैंकहरु सक्षम भएका छन् । यस अर्थमा पनि बैंकको समग्र बैकिङ प्रणाली भित्र अत्यन्त ठूलो र महत्वपूर्ण भूमिका खेलेका छन् ।
तपाइँको विकास बैंकले कुन क्षेत्रको विकासमा बढी प्राथमिकता दिँदै आएको छ र आगामी दिनमा कुन–कुन क्षेत्रको विकासलाई समेट्ने छ ?
–विकास बैंकको नीति र उद्देश्यमा रही विकासका सबै क्षेत्रमा यसको प्राथमिकता र लगानी रहन्छ । आवश्यकता अनुसार हामी योजनाबद्ध तवरले अघि बढेका छौं । हामीले कृषिको विकासमा पनि प्राथमिकता दिँदै आएका छौं । त्यसैगरी सामाजिक उत्तरदायित्व अनुसार विभिन्न सामाजिक कामहरु पनि गर्दै आएका छौं ।
हिजोका दिनमा ग्राहकले बैंक खोज्दै हिड्नुुपथ्र्यो आज बैंक जनताको घर–घरमा जाने गरेको छ र तरपनि बैंकहरुले छाता दिने तर,घाम लाग्दा र पानी पर्दा माग्ने गर्छन् भन्ने भनाई छ नि ?
–हो । आज बैंक जनताको दैलो–दैलोमा पुगेका छन् । तपाइँले भनेजस्तो चाँहिदा दिने तर, अप्ठारोमा माग्ने भन्ने व्यङ्गात्मक तर्कभन्दापनि नीति नियमावली र समय अनुसार हुुने प्रक्रिया हो । उद्योगी व्यवसायीले पहिले नै तोकेअनुसार बैंकले आग्रह वा ताकेता गर्ने हो । बैंकिङ्ग कारोबार आर्थिक कारोबार मात्र होइन । ग्राहक र बैंकबीचको सम्बन्ध र समझदारी पनि हो ।
पछिल्लो समयमा बैंकका समस्याहरु के–के छन् ?
– बैंक तथा वित्तिय क्षेत्रको कुरा गर्ने समय हो । हिजो वाणिज्य बैंकको वाणिज्य बैंकसँग विकास बैंकको विकास बैंकसँग, फाइनान्स कम्पनीको फाइनान्स कम्पनीसँग प्रतिस्पर्धा थियो भने आज जती वित्तीय संस्थाहरु मर्जर तथा एक्विजीशनमा गइरहेका छन् । सँगै–सँगै विकास बैंकहरु पनि पुँजिगत दृष्टीकोणबाट प्रविधीका दृष्टिकोणबाट, कारोबारको दृष्टिकोणबाट हिजो तुलनामा धेरै ठूला भैसककेका छन् । आज सबै बैंक र समग्र बैंकिङ प्रणाली नै हाम्रो प्रतिस्पर्धामा छ ।
स्थानीय क्षेत्रिय हुँदै राष्ट्रिय स्तरको बैंक भएको छ । आगमी योजना के–कस्ता रहेका छन् ?
–हामीले एउटा गन्तव्यमा प्रवेश गरेकाछौं । सोही अनुसार योजना पनि रहेका छन् । हामी जहाँ जुन तहमा आएक छौं त्यही अनुसार सेवा–सुविधा प्रवाह गर्ने पहिलो योजना अनुसार अघि बढेकाछौं । गरिब,न्यून,मध्यम,सम्पन्न सबै तहका प्रत्येक नेपालीहरुको पहुँचमा पुग्ने हाम्रो आगामी योजना रहेको छ । यसका लागि विस्तार,व्यवस्थापन,प्रवद्र्धनमा हामी लागि रहेका छौं । हामी स्वच्छ प्रतिष्पर्धामा विश्वास गर्छौ । हामीले सबै बैंकिङ्ग क्षेत्रसँग प्रतिष्पर्धा गर्दै उत्कृष्ट सेवा प्रदान गर्दै अघि बढ्नेछौं ।
प्रतिक्रिया