ताजा अपडेट »

अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी

सोमबार, १९ मंसिर २०७९, १८ : ०९
24 Shares
सोमबार, १९ मंसिर २०७९
24 Shares

भैरहवा । भैरहवामा जारी स्वर्गिय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तर विद्यालय स्तरीय टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा होराइजन जीविएस स्कूल, बुटवल र जेसिज हाई स्कूल, भैरहवा विजयी भएका छन् । होराइजनले बुद्धज्योति स्कूल भैरहवालाई १ सय १० रन र जेसिजले शनसाइन इङ्गलिस बोर्डिङ स्कूल, भैरहवालाई १ रनले पराजित गर्दै जित निकालेको छ ।

पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरमा सुदन कँडेल र सुभम खनालको अर्ध शतकीय पारीमा ५ विकेटको क्षतिमा २ सय २ रनको विशाल योगफल बनायो । कँडेलले ५९ रन जोड्दा खनालले ५१ रन बनाए । यस्तै समिप गौतमले १५ रन बनाए । बलिङमा बुद्धज्योतिका आयुष झाले २ तथा सुभम यादव र रोहन हरिजनले समान १-१ विकेट लिए ।

जवाफमा बुद्धज्योति ९ विकेटको क्षतिमा ९२ रनमै समेटियो । उसका लागि रोहन हरिजनले २१, मनोज यादवले ११ र सुदिप चौधरीले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक समेत जोड्न सकेनन् । बुद्धज्योतिलाई सस्तैमा रोक्न बलिङमा होराइजनका शशांक ज्ञवाली, विप्लब केसी र कुशल पौडेलले समान २-२ विकेट लिए । होराइजनका सुभम खनाल म्यानअफ द म्याच घोषित भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको जेसिजले निर्धारित खेलमा पूरै विकेट गुमाउँदै ९७ रनको योगफल बनायो । उसका लागि निश्चल भुसालले ३३ र सागर कुँवरले १० रनको योगदान दिए । बलिङमा शनसाइनका हविबुल्लाह अन्सारीले ३ तथा गणेश धवल, प्रदीप पासी र वृजेश यादवले समान १-१ विकेट लिए ।

जवाफमा शनसाइनले पूरै विकेट गुमाउँदै ९६ रन मात्रै बनायो । उसका लागि सनुप सेनले २१ र वृजेश यादवले १९ रन जोडे पनि अन्य ब्याटर नचल्दा सामान्य लक्ष्यपनि भेट्टाउन सकेन । बलिङमा जेसिजका निश्चल भुसालले ३ तथा निशान्त बश्याल र संगम पाण्डेले समान २–२ विकेट लिए । खेलमा जेसिजका निश्चल भुसाल म्यान अफ द म्याच भए ।

प्रतियोगिताको बिजेता टिमले नगद ३० र उपबिजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै म्यानअफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्स म्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने प्रतियोगिताका संयोजक उदय कुमार मल्लिकले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।