हाम्रो समाजमा एउटा भनाई छ ‘छोटो–मिठो’ । तर, यो शब्दले यतिधेरै पीडा पनि दिन्छ भन्ने कुराको अनुभूति आज गर्दै छु । सञ्चार कर्ममा लागेको करिब डेढ दशकको छोटो यात्रामा सबैभन्दा आत्मीय सावित भएको मित्रको आत्मा शान्तिको कामनासहित दीप प्रज्वलन गरेर कोलाहल शहरका बीचमा पनि आफूलाई सन्नाटा र एक्लो महशुस गर्दै घर फर्किएको छु । मानसपटलमा गुञ्जीएका तस्विरहरुलाई जतिनै जिद्दी गरेर हटाउन खोजेपनि बाटो छेक्नेगरी थिङ्ग अगाडि उभिएर आउने उही मित्रले मस्तिष्क खलबलिएको छ । कयौं पटक लेखिएका शब्दहरुलाई मेटाउँदै त्योभन्दा गहिराईमा पीडा र मथिङ्गलमा प्रकट भएका स्मरणलाई कोर्न खोजे पनि अह त्यो गहिराईमा पुग्न सकेको छैन । सायद त्यो आत्मियता र सम्बन्ध शब्दले जोख्नै नसक्नेगरी गासिएको थियो वा सबै शक्ति दिने भगवानले त्यही एउटा शक्ति दिन चाहेको थिएन ।
ग्लोबल आवाज डटकमका सम्पादक स्व. एन.बी. कंडेल समाजका अगाडि एक सफल, निस्पक्ष र निस्कलंक व्यक्तिको रुपमा जति परिचित थिए, त्यो भन्दा बढी मेरा लागि आत्मीय मित्र नै थिए । हामीले एक दशक बढी सञ्चार क्षेत्रमा रहेर सहयात्रा गरेका छौं । पहिलो पटक रेडियो समावेशीमा हाम्रो भेट भएको थियो । त्यो समय रेडियोमा बोल्न पाउनुलाई पनि ठूलै उपलब्धि मानिथ्यो । भर्खर छापा मिडिमा काम गरेको म, त्यही हुतहुतीले समाएर रेडियोमा बोल्नका लागि समावेशी एफ.एम.मा समाचार बाचकको रुपमा काम गर्न आएको थिए । त्यस्तै चाहना राखेर उनी पनि आफ्नो शिक्षण पेशा हुँदाहुँदै पनि रेडियोमा बोल्नका लागि त्यहा आएका थिए । म भन्दा नि अग्लो कद, पातलो शरिर, सट पाइन्टमा सजिएर साच्चिकै ‘मास्टर’कै लवाईखवाईमा एउटा शैक्षिक कार्यक्रमको प्रपोजल लिएर रेडियो समावेशीमा आएको सम्झिन्छु म । हरेक बुधबारका दिन शैक्षिक गतिविधिलाई समेटेर उनले चलाउने कार्यक्रममा बहसको विषय, उठाउनु पर्ने प्रश्न, विषय वस्तुको प्रस्तुती र शैक्षि गतिविधिका बारेमा निसंकोच टिप्पणी गर्दै उनलाई मेरो सुझाब सधै रहन्थ्यो । कयौं रात रेडियोको लाइभ रुममै लस्सी र कोकाकोलासँगै मासुका विभिन्न परिकार खाएर विताउने हाम्रो उपद्रो बानी थियो । त्यहाँ हामीले करिब डेढ वर्ष यसरीनै बिताएका थियौं । त्यसपछिको समय भने म अन्य मिडियामा काम गर्न लागे । उनले बुटवलकै एक साप्ताहिक पत्रिकामा काम गर्न थालिसकेका थिए । फरक–संस्थामा काम गर्दा पनि हाम्रो भेटघाट र गफगाफ नहुने कुरै भएन । फोटो खिच्नका लागि पहिल्यईदेखि शोखिन उनले हरेक दिन भेट्ने नयाँ व्यक्ति र उसँग गरिएका अन्तरङ्ग कुराकानी सुनाउँदै तस्विर देखाइहाल्थे ।
फरक संस्थामा काम गरे पनि भेटघाट र बोलचान हामीमा पातलो कहिल्यई भएन । तर, त्यसपछिको करिब ५ वर्षको अवधिमा भने हामी बीच औसतभन्दा केही कम गफगाफ हुन थाल्यो । म सञ्चार क्षेत्रमा काम नगर्ने मनसायले कुनै पनि मिडियामा संलग्न रहेन । त्यो अवधिसम्म कुनै समय म आफैले टिप्पणी गर्दै केही कुरा सिकाउने मित्र सम्पादक भैसकेको थियो । कहिलेकाँही ख्यालठट्टामा आफूले शिक्षण पेसामा लागेको अनुभव सुनाउँदै उनले भन्ने गर्थे ‘हामीलाई त जहाँ भेटे पनि सबैले मास्टर भन्छन्, पत्रकार बन्ने कहिले हो ?’ जति समय हामी छुट्टिएर बसेका थियौं त्यो समय पूरै उनले ‘मास्टर’बाट पत्रकार बन्न खर्चिएका रहेछन् त्यसैले त मैले सुरुमा भेटेकोभन्दा पनि प्रखर बनेर पत्रकार बनेको साथीलाई भेटे । आखिर ‘मास्टर’ भनेको मास्टर नै हो, पत्रकारितामा पनि साथी मास्टर नै भएर जन्मिएकोमा अचम्म परे । हिजो जसको बारेमा मैले टिप्पणी गर्नुपथ्र्यो आज उसैले मेरा समाचारहरुमा टिप्पणी गर्न सक्नेगरी स्थापित भएको देख्दा म आफै अचम्मित थिए ।
सायद कहिल्यई फेरी पत्रकारिता क्षेत्रमा नफर्किने गरी गएको व्यक्तिलाई फेरी त्यही क्षेत्रमा ल्याउने व्यक्ति उनै मित्र एन.बी. कंडेल नै हुन् । हरेक पटक सन्चो–बिसन्चोका बारेमा हामी बीच हुने फोन वार्तामा उनले मलाई सञ्चारकर्ममै फर्किन दबाब दिने गर्थे । ‘तपाई जस्तो व्यक्ति त्यत्तिकै घरमा बसेर हुन्छ ? अब केही गर्नुपर्छ, फर्किएर आउनुस, हामी मिलेर केही गरौं ।’–उनले पटक–पटकको फोन वार्तामा भन्ने यही शब्दले म आजित नै थिए । त्यो समयसम्म उनी आफैले सञ्चालन गरेको बुद्धभूमि साप्ताहिक पत्रिकाको सम्पादक भैसकेका थिए । आफ्नै साथीको पत्रिका भएका कारण केही लेख वा समाचार प्रकाशन गर्नुपरे मलाई पनि सहज नै थियो । कतिपय अवस्थामा साथीलाई सहयोग हुने आफूलाई रिमाइण्ड हुने स्वार्थले पनि उनले प्रकाशन गर्ने बुद्धभूमि साप्ताहिकका लागि एक दुई दिन समय निकालेर काम गर्न आउन थाले । त्यस भेटमा समेत उनले मलाई पुनः पत्रकारितामा लाग्न आग्रह गरिरहन्थे ।
करिब ५ वर्षअघि यसैगरी उनको पत्रिका भूद्धभूमि साप्ताहिकमा निर्वाचन विशेष गतिविधिमा रिपोर्टिङ गर्न सहयोग गर्ने उद्देश्यसहित बुटवल झरेर काम गरे । त्यसपछि १ वर्ष निरन्तरनै सो पत्रिकामा आवद्ध भएर सँगै बसेर हामीले काम गर्याैं । सोही क्रममा उनी भने बुटवलबाटै प्रकाशनमा आएको ग्लोबल आवाजको सम्पादकमा नियुक्त भएर काम गर्न थालेका थिए । ‘मैले अब पत्रिकालाई त्यति धेरै समय दिन भ्याउँदिन होला, तपाईले नै पत्रिकालाई अलि बढी समय दिनुपर्यो । विस्तारै मैले काम गर्ने अनलाइनमा पनि तपाई आवद्ध हुनुपर्छ ।’–भन्दै उनले पत्रकारितामै निरन्तरता दिन मलाई हरेक पटक गर्ने आग्रह दोहोर्याए । उक्त प्रस्तावको करिब ३ महिनापछि आफैले सम्पादक भएर काम गर्न थालेको ग्लोबल आवाज अनलाइनमा काम गर्नका लागि उनले मलाई प्रस्ताव गरे । त्यस समय बुटवलको चाँदबारीमा अवस्थित ग्लोबलको कार्यालयमा प्रवन्ध सम्पादक गौतम भूसालसँग भेट गराएर काममा अघि बढ्ने प्रस्ताव नै उनले गरेका हुन् ।
छापा मिडियाबाट सञ्चार कर्ममा लागेको मेरा लागि अनलाइन मिडिया नयाँ नै थियो । तर, आँट गरेपछि सफल हुन सकिन्छ भन्ने आत्मविश्वास मनमा थाति नै थियो । ग्लोबल आवाजको पुरानो कार्यालयमा मित्र एन.बी. जी, अनलाइनका प्रवन्ध सम्पादक गौतम भूसाल र म पहिलो पटक सँगै यात्रा गर्ने बारे छलफलमा बस्यौं । छोटो सोचेर हुँदैन, तपाईलाई मैले पूरा चिन्न सकेको छैन आफ्नो परिचय के हो भन्ने कुरा कामले देखाउँदै जानुहोला अघि बढ्न हामी तयार छौं उनै एन.बी. कंडेललाई नै उदाहरण दिँदै प्रबन्ध सम्पादकले मलाई भनेका शब्दहरु ह्रसो–दिर्घ नबिराएर नै स्मरणमा छन् ।
त्यही दिनका शब्दहरुलाई स्मरणमा पटक–पटक दोहोर्याउँदै केही नयाँ गर्नुपर्छ भन्ने अठोटकासाथ हामी अघि बढेका थियौं । करिब ४ वर्षको यात्रामा हामीले सोच्नै नसकेको सफलता पनि प्राप्त गरेकै थियौं । अब थप जिम्मेवारी र भूमिका थपिएको कुरा सम्पादक कंडेलले बारम्बार मलाई झस्काइरन्थे । कहिलेकाँही कतै विचलित भैहाले पनि फोन गरेर वा भेट गरेरै मलाई सम्झाउने र नयाँ योजनासहित प्रस्तुत हुने उनको बानी थियो । हाम्रो यो यात्रा त्यति लामो रहँदैन भन्ने सायद उनलाई पनि थाहा थिएन । हामी बीच व्यक्तिगत मात्र होइन पारिवारिक सम्बन्ध पनि उत्तिकै थियो । हाम्रो परिवार बीच जे–जति सम्बन्ध र जानकार छ, त्योभन्दा बढी हामी बीचको साक्षात्कार र सम्बन्ध त हुने नै भयो ।
मंसिर–२ को त्यो घटना, जुन दिन सधै धाम मारेर गफ गर्ने साथीको नजिक म आफै जान सकिन । सधै कार्यालयमा उपस्थित हुने, भेट हुने हामी त्यो दिन भने भेट हुन पाएका थिएनौं । तर, भेटहुँदा जति हामी छलफलमा हुन्थ्यो त्यो दिन टेलिफोनमै औसतभन्दा निकै बढी छलफलमा व्यस्त रहेका थियौं । मंसिर–४ को निर्वाचनका लागि सिंगो देशको ध्यान त्यता केन्द्रित थियो, सोही तयारीका लागि हामीले पनि व्यस्त भएकै कारण कार्यालयमा भेटनै नगरी फिल्डमा खटिएका थियौं । एन.बी.जी भैरहवातर्फ म देवदहतर्फ दुबै जना घर फर्किनुअघि साझपख गरेको अन्तिम वार्ता पनि समाचारकै बारेमा थियो ।
घटना हुनुभन्दा करिब आधाघन्टा अघि समाचारकै बारेमा एउटा गम्भिर निर्णय उनले मलाई प्रस्तुत गरेका थिए, सोही निर्णय अनुसारनै काम सकेर मात्रै म देवदहबाट बुटवल फर्किए । बुटवल आइपुग्न नभ्याउँदै एउटा सानो कामका लागि साथी दिने श्रेष्ठको बाइक पछाडि बसेर म तिलोत्तमातर्फ हुँइकिए । योगिकुटीबाट केही तल लागेपछि तिलोत्तमा–२ जानकी नगरको मुख्य सडकमै ठूलो भिडलाई देखेपछि साथी दिनेशले मोटरसाइकलको गति केही कम गरायो । परैबाट एक विभत्स दृश्य हामीले देख्यौं । ‘ओ हो ! यस्तो दृश्य म देख्न सक्दिन, अघि बढौं साथी ।’–मेरो आग्रह हुँदाहुँदै पनि उसले मोटरसाइकल केही अघि बढाएर विस्तारै छेउतर्फ मोडेर रोक्यो । हामी ओर्लीएर घटना स्थलमा पुग्यौं, घटना हेर्नै नसकिने, विभत्स थियो । म अलि परै उभिए, साथीले केही नजिक गएर फोटो खिच्न थाल्यो । घटनामा साथीले जसको तस्विर खिचिरहेको थियो उक्त व्यक्ति बारे जानेपछि हामी दुबैजना छाँगाबाट खसेकोभन्दा बढी भयौं । त्यसपछि भएका केही क्रियाकलाप र विभत्स पीडाका बारेमा यहाँ उल्लेख गर्न त्यति उपयुक्त नहोला वा त्यो सामथ्र्य मसँग भएन ।
जतिनै विभत्स भए पनि मुटु गाँठो पारे समाचारको खेती गर्नुपर्ने बाध्यता हामीलाई थियो नै । त्यही भएर नै साथी दिनेशले त्यो विभत्स घटनाको तस्विर खिच्न अघि बढेको थियो । सायद त्यो सडकमा लम्पसार परेर विभत्स देखिएको दृश्य आफ्नै मित्र एन.बी. जी हो भन्ने कुरा जानकार भएको भए हामी आफ्नो कर्मलाई धिक्कारेर स्थिर बएर शुन्यतामै विलिन हुने थियौं । विभत्स दृश्य देख्ने वित्तिकै घटना बारे पहिलो पटक जानकारी गराउन मैले सम्पादक एन.बी. कंडेललाई नै फोन कल गरेको थिए । पटक–पटक फोन कल गरे अह ! उनको फोन उठेन । अन्तिम पटक फेरी कल गर्नुपर्यो भनेर फोन लगाए, घण्टी बज्यो तर, फोन फेरी पनि उठेन । त्यत्तिकैमा कुनै एक अपरिचतले एउटा मोवाइल फोन मेरो अगाडि देखाउँदै भन्यो ‘यहाँ कसैको फोन आइरहेको छ ।’ उक्त फोनमा मेरो नाम देखाइरहेको थियो । म झस्किए, झम्टिँदै ति अपरिचित व्यक्तिको हातबाट फोन लिएर उक्त फोनमा म आफैले गरेको फोन कल डिसकनेक्ट गरे । त्यतिबेलासम्म मेरो मस्तिष्क शिथिल भैसकेको रहेछ, भर्खर दिन ढल्किएर अध्यारोले छोप्दै गरेको साझभन्दा पनि कालो आकाशले म पूरा छोपिएको महशुस भयो । मानिसहरुको भिडभाड र कोलाहलका बीचमा पनि सन्नाटा र एकान्त भई अजङ्गको पहाडले च्यापिएर अवाक हुन पुगे ।
करिब आधा घण्टा अघिसम्म फोन वार्तामा समाचारकै विषयमा छलफल गरेका मित्र एन.बी. कंडेलले त्यो दिन मैले भेट्दासम्म सडकमै लम्पसार परेर अब कहिल्यई मेरो फोन नउठाउने गरी विदा भैसकेका रहेछन् । अब कहिल्यई उनले मेरो फोन उठाउने छैनन् । अन्तिम पटक मेरो त्यो फोन कल उठाएर उनले मसँग विदा मागेको भए पनि गुनासो गर्ने ठाउँ त रहने थिएन । विदा नै नमागी हामीबाट विलिन भएका मित्र एन.बी. कंडेल यति स्वार्थी रहेछन् कि ठूलो चुनौती र जिम्मेवारी काँधमा छाडेर बिदा भएका छन् । ब्रह्माण्डको जुनसुकै कुनामा भए पनि मैले उनको आत्माले शान्ति पाउने गरी, उनी मुस्कुराउने गरी तिम्मेवारीहरुलाई पूरा गर्ने कोशिस गर्ने नै छु । ग्लोबल आवाज डटकमलाई यहाँसम्म ल्याईपुर्याउन उनले खेलेका हरेक भूमिकाहरुको हिसाब गर्नै नसकिने छ । अब पनि त्यही गतिमा अघि बढ्नका लागि उनले छाडेर गएका जिम्मेवारीका लागि हामी सधै लागिरहने छौं । अलविदा मित्र एन.बी. जी !
प्रतिक्रिया