कोक्रोबाट सुरु हुने जीवन कात्रोमा पुगेर समाप्ति हुने कुरा ईश्वरी नियम नै रहेता पनि आजसम्म मेरो जीवनमा यति नजिकैबाट ठूलो शोक परेको थिएन । यति छिट्टै छुटिनु रहेछ र पो हरेक दिन भौतिक भेटमा, फोनमा तथा अनलाइनमा पारिवारिक तथा संस्थागत विकासका बारेमा हामीले संवाद गर्ने रहेछौं । मानव जीवनमा जन्म र मृत्युको मिती आफूले चाहे अनुसारको नहुने कुरा शाश्वत सत्य रहेता पनि आफूले प्रिय मानेको अभिभावकीय जिम्मेवारी सम्हालेको साथी अनपेक्षित रुपमा सधाका लागि बिदाई गर्नु पर्दा मन विक्षिप्त बनेको छ ।
पुग–नपुग ४ वर्षदेखिको हाम्रो सम्बन्ध २०७९/८/२ गतेदेखि भौतिक रुपबाट टुटेको भए पनि यहि ब्रम्हाण्डको कुनै कुनाबाट हजुरले हाम्रो गतिविधिलाई नियाली रहनु हुनेछ । एन.बी. जी तपाईंले महाप्रस्थान पछि प्राप्त गरेको संसारमा पनि यहि कार्यलाई निरन्तरता दिनु र त्यस लोकमा रहेका नरपिचासहरुको निद्रा खल्बलाई दिनु है । हाम्रो पहिलो भौतिक भेटघाट हाम्रै कार्यालयमा पुजाको सन्दर्भमा भएको थियो । त्यसपछिका हरेक गतिविधिमा हामीले एक अर्कोलाई सहयोग र सुझाव सल्लाह दिदै अगाडि बढिरहेका थियौं ।
मैले सहकार्य गरिरहेको एन. बी. साहसिक र उदार मनको मानिस थियो । त्यसकारण पनि यो दुर्घटना मेरा लागि रहस्यमय र शंकास्पद घटना बनेको छ । सामाजिक सञ्जाल मार्फत म मेरो प्रतिष्ठान बढाउन सफल हुनुमा रातिसम्म मेरा लेखहरु पढेर त्यसको अन्तिम रुप प्रदान गर्ने हजुरको मिहिनेत म कसैगरी भुल्न सक्ने छैन । रुपन्देहीको पत्रकारितामा हरेक विकृति विसंगतीलाई नजिकैबाट नियालेर वास्तविकता पत्ता लगाई पीडितलाई न्याय र पीडकलाई आफ्नो गल्तीको प्राश्चित गराउने जुन प्रकारको मौलिक समन्वयकारी भूमिका प्रदान गर्ने हजुरको कार्यशैली थियो । यो कुरा मिडियामा मोफसलको राजधानी मानिएको रुपन्देहीका लागि अतुलनीय क्षति हुन पुगेको छ ।
काम गर्ने दौराहनमा कति कम्जोरी हुन पुग्दा जसले केहि नयाँ गर्ने सोच राख्दैन उसले सिक्ने र गल्ती गर्ने मौका पाउदैन । भनी सम्झाउने हजुरको भूमिका मेरा लागि अविस्मरणीय मार्गदर्शन बनेका छन् । दुर्घटना हुनुको केही दिन अगाडि हामी पितृशोकमा रहेका सुरेन्द्र श्रीको परिवारलाई समवेदना दिन सँगै एउटै सिटमा बसेर घरमा पुगेका थियौं । त्यो यात्रा नै हाम्रा लागि अन्तिम यात्रा बनेर आउँछ भन्ने कल्पना नै थिएन । दुर्घटना हुनु १ घण्टा अगाडि आफैले फोन गरेर चिया पिउन बोलाउनु भएको थियो । मैले भोलि शनिवार बिहानै भेट्ने अनि चिया पिउने र मतदानका लागि आ–आफ्नो मतदान केन्द्रमा पुग्ने सहमति गरेका थियौं । त्यसको करिब १ घण्टा ३० मिनेटमा अपत्यारिलो दुःखद सडक दुर्घटनामा परि प्राथमिक उपचार पनि नपाई हजुरले संसार छोडेको कुरा सुन्नु पर्याे ।
हे दैव कस्तो खेल खेसिल हरेक किसिमले उर्जाशिल उमेरावस्थामा हामी सबैलाई टुहुरो बनाएर यति ठूलो ब्रजपात पारि अबोध बालबालिकाको खुसियाली सधैंभरिका लागि खोसेर लगिस् । भगवानले सबैलाई प्रेम गर्छन कसैलाई पीडा दिदैनन् भन्ने कुरामा मलाई ती अबोध बालबालिका बृद्धअवस्थाका बाबा र सुत्केरी अवस्थामा नै रहनु भएको जीवनसंगिनीको पीडा नजिकैबाट हेरिसकेपछि विश्वास गुमेको छ ।
फुल्नका लागि कोपिला प्रदान गर्ने ईश्वर तिमिले फुल्नै नदिई कोपिला चुडेर किन लगौं ? मेरो प्रश्नको जवाफ तिमिले कहिल्यै दिन सक्दैनौं तिमी झुट, अज्ञानि र महापापी नै रहेछौं । तिमिले उल्टो नियम लगायौं वा तिम्रो सञ्चार कम्पनी उहाँ जस्तो ईमानदार सञ्चारकर्मीको आवश्यकता ठानेर वर्तमानको हाम्रो खुशी चुडालेर आफू खुशी बनौं ?
अब मेरा लागि चिया पिउने बडो सकसपूर्ण काम बन्यो, नपिउ साथिको आत्माले सराप्ने चिन्ता छ । पिउँदा त्यो दिन उसको हार्दिकता किन स्वीकार गरिन भन्ने पछुतो जीवनभर रहने भयो । चिया पिउने र फोटो खिच्ने अनि खित्का छाडेर ‘कुरो बुझ्नु भयो तो ?’ भन्ने बानि थियो । अब हाम्रा लागि त्यो अवसर कहिल्यै आउने भएन । सञ्चारका क्षेत्रमा हजुरले अगाडि बढाउनु भएको अधुरा कार्यक्रमलाई सहि तरिकाले अगाडि बढाउँदै । उचाइमा पुराउनु पर्ने ऐतिहासिक जिम्मेवारी ग्लोबल मिडिया ग्रुरुपका सहकर्मीलाई अनपेक्षित रुपले प्रदान गरि महाप्रस्थान गर्नु भएको छ । हामीले नराम्रो पक्कै पनि गर्ने छैनौं ।
सधैंभरी अरुका बारेमा हेडलाईन बनाउने गरिन्छ कुन दिन आफ्नो पनि हेडलाईन आउने हो भन्दै कुरा गर्नु हुन्थ्यो । आखिर यस्तै भएर छाड्यो । त्यसैले त भन्न मन लागेको छ मर्ने कुनै रहर हुँदैन । ए साथि नरोई नरोई जाऊ है । त्यो पार्थिव शशिरलाई अन्तिम श्रद्धाञ्जली दिदा तिमिले फिसिक्क हासेको देखेपछि तिमी हामी बिचबाट खुशीसाथ बिदा भएका रहेछौं भन्ने लाग्यो । सँगसँगै बसेर सहकार्य गरिरहेको हजुरको शरिर चितामा जलेको मेरा आँखाले हेर्न नसक्ने भएकोले घाटमा दागबत्ती दिनु पूर्व नै म बिदा भएर भारी मनका साथ घर फर्केको छु ।
प्रिय मित्र अलविदा !
प्रतिक्रिया