बुटवल । पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता सङ्घर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’ सार्वजनिक भएको छ ।
०४६ सालको जनआन्दोलनले ३० बर्से पञ्चायती शासन ढालेर प्रजातन्त्र पुनःस्थापना भएपछि शासन व्यवस्था जनप्रतिनिधिका हातमा आएपछि दलीय दाउपेच र अन्तर्द्वन्द्वले मुलुक दिशाहीन मात्र बनेन अस्थिरताको दलदलमा फस्यो । ०४८ सालको निर्वाचनदेखि ०७८ सालसम्मको ३० वर्षको अवधिमा २८ सरकार बने । यिनै २८ सरकारको नालिबेली बताउने पुस्तक ‘सत्ता सङ्घर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’ प्रकाशित भएको हो । कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।
पुस्तकमा पत्रकार भण्डारीले २८ सरकारका प्रधानमन्त्री लगायत महत्वपूर्ण राजनीतिक व्यक्तिसँग विभिन्न घटनाक्रमलाई लिएर प्रत्यक्ष कुराकानी गरेर प्राथमिक स्रोतलाई महत्व दिएका छन् । रोचक र तथ्यपरक शैलीमा लेखिएको यो पुस्तक नेता, राजनीतिशास्त्रका विद्यार्थी, अध्ययन–अनुसन्धानकर्ता, पत्रकार तथा आमपाठक समेतलाई नेपालको सरकार गठन, विग्रह र संचालन बुझ्ने ह्यान्डबुक हुनेछ । पुस्तकमा प्रस्तुत अनेकौं दृष्टान्तले पुस्तकलाई पठनीय मात्र बनाएको छैन दल तथा तिनका नेताको सत्तामोहमा घनिभूत विमर्श हुनुपर्ने आवश्यकता पनि पहिल्याएको छ ।
पुस्तकले प्रजातन्त्र पुनर्बहालीका लागि ज्यानको बाजी लगाएका दलहरु तथा तिनका नेतृत्व अन्ततः कसरी सत्तामा पुग्न र टिक्न मात्र लागिपरे भनेर समकालीन समयलाई फर्केर हेर्न प्रशस्त खुराक पस्केको भण्डारीको दावी छ ।
निर्वाचन र नयाँ सरकार निर्माणको संघारमा आएको यो पुस्तकले आम पाठकलाई सुसूचित गर्ने विश्वास सांग्रिला बुक्सले लिएको छ ।
प्रतिक्रिया