ताजा अपडेट »

जुनोटिक रोग नियन्त्रणको लागि सचेतना आवश्यक

विहीबार, ०३ कार्तिक २०७९, १७ : २३
129 Shares
विहीबार, ०३ कार्तिक २०७९
129 Shares

भैरहवा । पशुपंक्षीसँगको लसपस, काँचो दूध, दही, मासु, काँचो तरकारी र हावाको माध्यमबाट सर्ने जुनोटिक रोगबारे सचेतनाको खाँचो रहेको एक कार्यक्रमका वक्ताहरुले औल्याएका छन् । ओमसतिया गाउँपालिकाले आयोजना गरेको जुनोटिक रोग सरोकारवालाहरुसंग छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले यस रोगबारे अझै पनि प्रयाप्त जानकारी नरहेको बताए ।

कार्यक्रमलाई सहजीकरण गर्दै पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक परवेज आलमले अहिले विश्वमा बर्षमा सरदर एउटा नया रोग देखिएको यसमा ७५ प्रतिशत सम्भावना पशुपंक्षीहरुबाट आएको देखिएको बताए । उनले विश्वमा देखिएको करिब १ हजार ५ सय संक्रामक रोगहरु मध्ये ६० प्रतिशत रोग पशुबाट सरेर आएको बताए । “हामीले खाने शाकाहारी, मांसाहारी सबै प्रकारका बस्तुहरुबाट यस्ता रोग सर्ने सम्भावना रहेको हुन्छ ।” आलमले भने “यसको लागि आवश्यक सर्तकता र सचेतना नै मूख्य नियन्त्रणको आधार हो ।” यी रोगहरु नियन्त्रणका लागि स्वास्थ्य क्षेत्र मात्र नभई, पशु स्वास्थ्य, खाद्य, कृषि क्षेत्रका साथै स्थानिय तहका जनप्रतनिधिहरुको समन्वय आवश्यक रहेको उनले बताए ।

उनले यसको नियन्त्रणको लागि मानव स्वास्थ्य, पशुपंक्षीको स्वास्थ्य तथा वातावरणीय सरसफाई बारे सचेतना फैलाउन आवश्यकता औल्याए । आलमका अनुसार मानिस र पशुपंछी बीच एक आपसमा सर्न सक्ने वा संक्रमण हुन सक्ने रोगलाई जुनोटिक वा जुनोसिस रोग भनिन्छ । “ मेरुदण्ड भएका पशु र मानवका बीच प्राकृतिक रूपमा सर्न सक्ने रोगहरू र संक्रमणलाई जुनोटिक रोगहरू वा जुनोसिस भनिन्छ ।” आलमले भने “मानिसमा लाग्ने ६० प्रतिशत भन्दाबढी रोगहरु पशुपंछीबाट मानिसमा सरेको तथ्य पाइन्छ ।”

कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) गाउँपालिकाले यस अघि पनि पशुपंक्षीहरुकै लागि भने बजेट बिनियोजन गरेको बताए । उनले जुनोटिक रोग र यसबाट हुने प्रभावबारे अझै पनि स्थानियहरु अन्जान रहेको कारण यसबारे सचेतना नै प्रमुख नियन्त्रणको उपाय रहेको बताए । यसको लागि गाउँपालिकाले आगमी हिउदै अधिवेशनबाट नै बिषेश बजेट छुट्टयाई वडा र घर दैलो सम्म नै सचेतनाका कार्यक्रम लैजाने उनले बताए ।

ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवको अध्यक्षता पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक परवेज आलमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष सुनिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत सागर गौतम, वडा नम्बर ५ का वडा अध्यक्ष मदन कुमार पोखरेल, शिक्षा शाखा प्रमुख हरि पोखरेल लगायतले बोलेका थिए । कार्यक्रमलाई गाउँपालिकाका पशु शाखा प्रमुख सतिश रसाईली, बसन्तपुर स्वास्थ्य चौकीका प्रमुख प्रवेश ज्ञवालीले सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन शंकर भण्डारीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।