हो गठबन्धन घेराबन्दी राजनीतिको एउटा आधारभूत रणनीति हो। सर्वविदित नै छ गठबन्धनको रथ प्रचण्डले मनग्य हाँकिरहेको छ। देउवा त हाँकिएका मात्रै छन् ।प्रतिनिधि सभामा सय सिटको उचाइमा अडिन खोजेको नेपाली कांग्रेस कति सिटको टाकुरोमा खडा हुनुपर्ने हो छिटै छर्लङ्गिने छ।
कमरेड प्रचण्ड टाइम–टाइममा फतर–फतर गरिरहन्छन्। ‘हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा त्यस्को लिडरशिपमा यति धेरै अहंकार आयो हामी विद्रोह गर्ने ठाउँमा पुगियो । अहिले कांग्रेसको फेरि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। हामीले प्रधानमन्त्री बनायौं र अहिले पनि उहाँ भइराख्नोस् भन्ने छ । तर, हामी चिन्तित छौ यतिबेला फेरि कांग्रेस पनि ऐमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन।स्थानियमा पनि धेरै जसो ठाउँमा ठेगान लाइयो अब प्रदेश र संघमा पनि ठेगान लगाउने हो भन्यो भने हामीले फेरि एमालेलाई ठेगान लगाए जस्तै कांग्रेसलाइ लगाउने दिन नआवस भन्ने छ हामीलाइ (Taken for Granted) जस्तो भनेर कांग्रेसले माओवादीलाई हल्का रूपमा लिने काम नगरोस भन्ने मेरो अनुरोध छ ”। छ्याङ्ग छ-गठबन्धन भीत्र नेकपा माओवादी ‘संलग्नता र आक्रामकता’(Alignment & Aggression ) को नीतिमा चलिरहेको छ।
कमरेड प्रचण्ड निरन्तर केही न केही बोली नै रहन्छन् ‘गठबन्धन एउटा उद्देश्यको निम्ति गठन भएको हो। त्यो उद्देश्य अहिले पनि कायमनै छ।तर गठबन्धन भीत्र हाम्रो संघर्षको स्वरूप बदल्न पर्ने देखिया छ।’ प्रचण्डको यस्तो अभिव्यक्तिको भाव के हो ? गठबन्धन पनि कायम गर्ने बामपन्थी पनि मिल्ने।साथै विचार मिल्नेहरूको बीचमा एकताको सम्भावना रहेसम्म एउटै पार्टी भएर जाने। प्रचण्ड वाचन ‘हामीले धेरै ठक्कर खायौं। ठेस लागे पछि बुद्धि बढ्छ भन्या जस्तै हामी सबैलाई ठेस लाग्यो बुद्धि बढ्या छ हामी मिल्दा समृद्धिको यात्रा पनि नयाँ ढङ्गले शुरू गर्न सकिन्छ ।’
माओवादी, एकीकृत समाजवादी,राष्ट्रीय जनमोर्चा,जसपा लगाएत बाबुराम, वामदेव र अरू वामपन्थी शक्तिहरू जसले समाजवादी कार्यदिशालाइ मान्दछ ती शक्तिहरू बिच निर्वाचनमा पनि राष्ट्रीय राजनीतिमा पनि हामी मोर्चाबन्दी गर्छौ।परम्परागत शक्तिको प्रतिनिधि कांग्रेसले गर्छ। प्रगतिशील वामपन्थी क्रान्तिकारी शक्तिको प्रतिनिधित्व माओवादीले गर्छ। यो कथन माओवादी केन्द्र नेता वर्षमान पुनको हो।
हुनत नेकपा ऐमाले र माओवादी ( केन्द्र )को युवा कमरेडहरू पार्टी एकताको खातिर प्रयत्नरत थिए। यति खेर सफल नभएतापनि निर्वाचनपछि त्यो प्रयत्नलाई निरन्तरता दिने संकेत छ। प्रचण्डले राष्ट्रीय राजनीतिमा दोस्रो स्थान हासिल गर्ने बिगुल फुक्दै आगामी निर्वाचन पछी मुलुकको नेतृत्व आफ्नो पार्टीले गर्ने र पार्टी शक्तिमा नआए संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने बताएका छन्।
आफ्नो मूल थलो छोडेर A rolling stone gathers no moss भने जस्तै नयाँ शक्ति,जसपा हुँदै गुल्टदै नेपाल समाजवादी पार्टीको अध्यक्षको रूपमा विद्वान नेता डा. बाबुराम भट्टराई झुल्कीएका छन्।आफ्नो पार्टीलाइ गठबन्धनकै एउटा अङ्ग बताउने बाबुराम माओवादी ( केन्द्र ) को चुनाव चिन्ह लिएर संयुक्तरूपमा निर्वाचन लड्ने सहमत भएछन्। आगामी दिनहरूमा बृहत् राजनीतिक अग्रगामी शक्तिहरूको ध्रुवीकरण गरेर देशलाइ विकास सुशासन समृद्धिको दिशामा जाने संकल्प पनि गरेछन्।
संविधानको प्रस्तावनामा ‘लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवध्द रहि समृद्ध राष्ट्र निर्माण गर्न’ स्पष्ट उल्लेख छ। यो सबैको साझा समाजवाद हो। तर बामपन्थी शक्तिहरू समाजवादी कार्य दिशालाइ मान्ने वामपन्थी शक्तिहरूबीच मोर्चाबन्दी गर्ने,अग्रगामी शक्तिहरूको ध्रुवीकरण गर्ने तयारीमा छन्। वामपन्थीहरू कांग्रेसलाई परम्परागत शक्तिको वर्ग मान्दछन्।
कस्तुरी मृग आफ्नो नाभिनेर भएको सुगन्धित बिना (गोल डल्लो) को सुगन्ध खोज्दै भौँतारिए जस्तै मुलुकको एउटा सशक्त ऐतिहासिक पार्टीको गौरवशाली सभापति भएरपनि पार्टी, नेताहरू तथा कार्यकर्ताहरूको औकात र क्षमता मूलतः पार्टीको जनाधारमा भरोसा गर्न नसकेर त होला देउवा निर्वाचनमा बढी सिट जित्न गठबन्धनको नाम मात्रको भएपनि नेतृत्व गरिरहेका छन्। भदौ २३ बिहीबार वी.पी.साहित्य सम्मान समारोह काठमाडौँमा पूर्व राष्ट्रपति रामवरण यादव बताउँदै हुनुहुन्थ्यो ‘कांग्रेस अहिले अंशबन्डा गरिरहेको हामीले देखिरहेका छौं। चुनावमा जान, जनता बीचमा जानको लागि अरू पार्टीसंग मिलेर तपाइँको अंशबण्डा गरिरहेको छ ।’ राम ! राम ! राम !!!
प्रतिक्रिया