विराटनगर । ई–क्यान पूर्वाञ्चलको तीनदिने शैक्षिक मेला सम्पन्न भएको छ । शुक्रबार विराटनगरमा शैक्षिक मेलाको समापन गरिएको हो । समापन कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्की प्रमुख अतिथि थिइन् ।
कार्यक्रममा बोल्दै कार्कीले पछिल्लो समय निजी क्षेत्रले शैक्षिक उन्नयनमा योगदान पुर्याएको भन्दै प्रशंसा गरिन् । गुणस्तरीय शिक्षा प्रदान गर्न निजी क्षेत्रको योगदान अपरिहार्य रहेको उनले बताइन् ।
यस्तै, कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष प्रेमसिंह सुवाल, महेन्द्र मोरङ क्याम्पसका सहायक क्याम्पस प्रमुख डिल्ली पोखरेल, ई–क्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे, ई–क्यान पूर्वाञ्चलका सल्लाहकार कमल प्रसाद तिम्सिना, ई-क्यान केन्द्रका वरिष्ठ उपाध्यक्ष शेषराज भट्टराई, केन्द्रीय सदस्य भवनाथ हुमागाईँ लगायतले बोलेका थिए ।
इटहरीबाट सुरु भएको शैक्षिक मेला तीनदिन सञ्चालन भएको ई–क्यान पूर्वाञ्चलका अध्यक्ष प्रकाश लकान्द्रीले बताए । इटहरी, धरान र विराटनगर गरी तीन हजार बढी विद्यार्थीहरूले सहभागी जनाएका थिए । उनका अनुसार नेपालसहित विदेशी मुलुकका विभिन्न तीन दर्जन बढी कलेजहरूले सहभागी जनाएका थिए । उनले तीनदिने शैक्षिक मेला सफल भएको जनाए ।
समापन कार्यक्रममा विराटनगरका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि तथा अन्य संघ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो ।
प्रतिक्रिया