भैरहवा । सामुहिक विद्यालय परिवारले यसै वर्ष स्थापना गरेको सामुहिक शिक्षा पुरस्कारबाट ३ जनालाई पुरस्कृत गरेको छ । ५६ औं अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारी शिक्षा क्षेत्रमा बिशिष्ट योगदान गर्ने शिक्षकहरुलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कृत हुनेमा महिलातर्फ २०४७ साल देखि अहिलेसम्म अध्यापन पेशामै रहेकी मनकामना इङ्गलिश बोर्डिङ्ग स्कूलकी शिक्षिका श्रृजना क्षेत्री रहेकी छन् । यस्तै पुरुषतर्फ २०५७ साल देखि हालसम्म अध्यापन पेशामै रहेका गोविन्द बहादुर थापा मगरलाई पुरस्कृत गरिएको छ । यस क्षेत्रमा सबै भन्दा पहिलो निजी विद्यालय स्थापना गरेका येम बहादुर रसाईलीलाई पुरस्कृत गरिएको कार्यक्रम संयोजक चन्द्र प्रकाश न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सामुहिक बिदालय परिवारले यस वर्षदेखि पुरस्कारको स्थापना गरेको छ । यस वर्ष ३ जनालाई मात्र पुरस्कार वितरण गरिए पनि यस पछि शिक्षक साथै शिक्षा क्षेत्रमा योगदान गर्ने अन्य क्षेत्रका व्यक्तिहरुलाई पनि पुरस्कृत गर्ने योजना रहेको सुनाए ।
२०५९ सालमा स्थापना भएको सामुहिक विद्यालय परिवारमा सिद्धार्थनगर नगर पालिका, रोहिणी गाउँपालिका, ओमसतिया गाउँपालिका, तिलोत्तमा नगर पालिका र मायादेवी गाउँपालिकाका गरि १८ वटा बिद्यालय सदस्य रहेको परिवारका अध्यक्ष उदय कुमार मल्लिकले जानकारी दिए ।
सामुहिक विद्यालय परिवारका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता, शिक्षा निर्देशनालयका निर्देशक यम बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रमको सञ्चालन परिवारकी सचिव श्रृजना पाठकले गरेकी थिईन ।
प्रतिक्रिया