भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको विकासमा भारतको सहयोग महत्वपूर्ण रहेको बताएका छन । रुपन्देहीको रोहिणी गाउँपालिकाको धकधईमा रहेको श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक बिद्यालयको भवन र बिज्ञान प्रयोगशाला उदघाट्न गर्दै खाँणले भारतीय सहयोगलाई निरन्तरता दिन आग्रह गरेका हुन् ।
उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गृहमन्त्री बालकृष्ण खाँणले नेपालको शिक्षा, स्वास्थ्य, सामाजिक बिकास एवम् भौतिक पूर्वाधारहरुको विकासमा भारत सरकारले सहयोग गर्दै आएको बताउदै यसलाई भविष्मा समेत निरन्तरता दिन आग्रह गरे । “नेपाल विकास पथमा अग्रसर भई रहेको बेलामा अन्र्तराष्ट्रिय सहयोगको आवश्यकता छ ।”
खाँणले भने “भारतीय सहयोगले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेलि रहेको छ । यसको लागि म भारत सरकारलाई धन्यवाद दिन चाहानछु ।” उनले नेपालले असंलग्न परराष्ट्र निति स्विकार गरेर संयुक्त राष्ट्रसंघको एक गतिशिल राष्ट्रको रुपमा अगाडी बढि रहेको जिकिर गरे ।
यस्तै कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका भारतीय राजदुत नविन श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध विश्वमै अनौठो रहेको बताए । उनले दुवै देशको राजनैतिक सम्बन्ध मात्र नभई जनता जनता बिचको सम्बन्धले पनि महत्वपूर्ण भुमिका खेलेका बताए ।
भारतीय राजदुतावास सन् २००३ देखिनै शिक्षा स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा नेपालको बिभिन्न भागमा अनुदानमार्फत सहयोग गर्दै आइरहेको बताउँदै उनले यसलाई भविष्यमा पनि निरन्तरता दिने उल्लेख गरे । निर्माण सम्पन्न भएको ११ वर्षपछि रोहिणीको धकधईमा रहेको श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक बिद्यालयको भवन र बिज्ञान प्रयोगशाला उदघाट्न भएको हो ।
२०६५ सालमा तत्कालीन भारतीय काउन्सुलर प्रणय वर्मा र तत्कालीन स्थानिय विकास अधिकारी दिपेन्द्र राज पौडेल र विद्यालयका प्रधान अध्यापक मोहम्मद ईद्रिशको संयुक्त हस्ताक्षरद्वारा बिद्यालय निर्माणको सम्झौता भएको थियो । भारत सरकारको २ करोड ९९ लाखको अनुदानमा २२ कोठा सहित बिज्ञान प्रयोगशाला समेत रहेको बिद्यालयको भवन २०६६ सालमा निर्माण सुरु भई २०६८ सालमा निर्माण सम्पन्न भएको थियो ।
२०६८ सालमा निर्माण सम्पन्न भए पनि उदघाटनको लागि भारतीय दूतावासले समय उपलब्ध नगराएको कारण ११ बर्ष सम्म बिद्यालयको भवन उदघाटन नै हुन सकेन । बैजनाथ सहानी (मुकेश) को नेतृत्वमा रहेको बिद्यालय ब्यवस्थापन समितिको पटक पटकको प्रयासपछि अन्ततः यसको बिधिवत रुपमा उदघाटन भएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बैजनाथ सहानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चापाई, पूर्व मन्त्री अब्दुल रज्जाक, दिपक बोहोरा लगाएतले बोलेका थिए ।
प्रतिक्रिया