ताजा अपडेट »

ऋषिपञ्चमी अर्थात् नगरिएको पापको थोपरिएको भारी !

मंगलबार, १४ भदौ २०७९, ०७ : १८
0.90K Shares
मंगलबार, १४ भदौ २०७९
0.90K Shares

सानो हुँदा सुनेको ऋषि पञ्चमीको कथा जुन कथा वाचन गर्दा सबै ब्रतालु महिलाले हातमा फूल लिएर ध्यानपूर्वक सुन्थे । हामी केटाकेटी पनि जति धेरै महिला हुन्छन् , त्यति नै धेरै पैसाको सिक्का पाउने लोभले पूजाको अन्तिमसम्म बसिन्थ्यो ।

जब कथावाचन सुरू हुन्थ्यो । धेरै गाइगुई गरिरहेका महिलाहरू पनि बडो ध्यानपूर्वक कथा सुन्थे किनभने पाप कटाउनु थियो । मलाई बच्चा बेलामा सुनेको ऋषिपन्चमीको कथा फेरि पढ्न मनलाग्यो । किताब हात पर्यो त्यो कथा पढ्दा त्यसभित्र नारीलाई सम्बोधन गरिएका केही अंश उल्लेख गर्दैछु :

  • ऋषिपन्चमीको नामको ब्रतकथा जुन कथा, जुन व्रत गरेर नारी पापबाट छुट्छे ।
  • जुन त्यो स्त्री नछुने भएको बेलामा नजानेर वा जानी जानी पनि दुष्ट बुद्धिकी भएर घरका कामधन्धामा लागिपरेर भाँडाकुँडा छुन्छे या छुवाछूत गर्छे भने त्यो स्त्रीलाई ठूलो पाप लाग्छ, यस ठूलो पापले गर्दा साच्चै नै त्यो नरकमा जाकिन्छे ।
  • रजस्वला भएकी नारीलाई चारै वर्णले पटकैपिच्छे बह्र्माजीको हुकुम बमोजिम सावधानीपूर्वक पर पन्छाउनुपर्छ । किनकी मासिक धर्म भएको पहिलो दिनमा चान्डाली, दोस्रो दिनमा ब्रह्मघातिनी, तेस्रो दिनमा धोबिनी समान कहिल्छे । चौथो दिनमा गएर शुद्ध हुन्छे ।
  • मासिक धर्मका बेलामा छुवाछूत गरेका दोषले ती पति/पत्नीले अर्को जन्ममा पशुको जन्म पाए ।

यस्तै यस्तै धेरै कुराहरू जसमा महिलाको मासिक धर्मलाई लिएर कथाको शुरूदेखि अन्त्यसम्म रजस्वला भएकी महिलालाई पर सारेर अत्यन्तै कठोर नियम लगाउने कथा सुन्दा, तुच्छ शब्दले मासिक धर्म भएकी नारीलाई सम्बोधन गर्दा मनमा धेरै नै नराम्रो लागिरहन्छ ।
जननी, धर्ती, सृष्टिकर्ता नारीले आजको युगमा पनि हातमा फुल लिएर गर्दै नगरेको पाप कटाउन तनमनले बस्नु भनेको हास्यास्पद विषय हो ।

मेरो लागि पनि सानो हुँदा धेरै नै खुल्दुलीको विषय बन्यो मासिक धर्म । साथीहरू पहिलोपटक महिनावारी भएर अँध्यारो कोठामा लुक्थे । त्यो बेलामा सबै साथीहरू भेट्न् जाने र रमाइलो गरेको देख्दा सारै रहर लागेर आयो । रहर लागेपछि मैले पनि ९/१०वर्ष मै महिनावारी नहुँदै भएँ भन्दिए ।

मेरो पनि पालो आयो रमाइलो भो । एक र दुई दिन जस्तो रमाइलो त्यसपछिका दिन भएनन् । धेरै नै झ्याउ लाग्यो । अब भनी त सकियो दिन कटाउनै थियो । अँध्यारो कोठामा बस्दाको पूरा अनुभव लिएर म उम्किए ।

त्यसपछिका साँच्चिकै महिनावारी हुँदाका दिनमा मनमा डर हुँदाहुँदै पनि यथार्थमा भन्नुपर्दा मैले वर्षमा एकदिन आउने रमाइला चाडपर्व खुलेर मनाए । अझ भनौं आजसम्म सानाठूला कुनै पनि चाडपर्व खेर गएका छैनन् । भने थाहा हुने नभने थाहा नहुने कुरामा मेरो मर्जी थियो । बरु आरामको लागि चाडपर्व सकिएपछि बल्ल नियम सुरु गर्थे म । सजिलोसँग ढाट्न सकिन्थ्यो कसैले थाहा पाउने त कुरै भएन ।
मनबाट हटिसक्यो ‘यो महिनावारी हुँदा छुन हुन्न भन्ने कुरा केही पनि होइन रहेछ’ भनेर ।

व्यवसाय नै महिला सम्बन्धि भएकोले धेरै जसो समय महिलाहरू कै बीचमा हुन्छु । कुराकानी कै क्रममा प्रसङ्गमा आइरहने कुराकानी जस्तै :

  • खाना पाक्यो ? छैन आज मैले पकाउनुपर्दैन आराम छ ।

– ए ए त्यसो भए अब दुई तीन दिनलाई आराम है ।
मलाई आज छिटो घर जानू छ छोरी महिवारी भएकी छिन् खाना बनाउने कोही छैन ।

  •  मलाई त महिनावारी कहिले आउला जस्तो लाग्छ । कहिलेकाही त आनन्द लाग्छ । आफुले नपकाइ खाना खान पाउँदा । यस्तो बेलामा त ज्यानलाई अलिक गाह्रो पनि हुन्छ ।

यस्तै यस्तै धेरै कुराहरू हुन्छन् सुखमा सहरमा बसेकाहरूको । समाचारको हेडलाइनमा ठूला–ठूला अक्षरमा लेखिएको हुन्छ ।

  • यार्चा टिप्न पाटन उक्लिने किशोरी र महिलाद्वारा तीन महिना अवधिभर महिनावारी नहोस् भनेर जथाभावी गर्भनिरोधक औषधि सेवन, जसले अधिकांशमा बाँझोपनको समस्या
  • छाउगोठमा बस्दा १३ वर्षीया बालिका बलात्कृत
  • सुत्केरी छाउगोठमा कष्टकर अवस्थामा
  • जंगली जनावरको आक्रमणबाट छाउगोठ बसेकी किशोरीको मृत्यु , यस्तै यस्तै अनगिन्ती समाचार

यस्तै धेरै समाचारका हेडलाईन हेर्दा कठै भन्ने हुन्छ जिब्रो पनि टोकिन्छ तर, यस्तो मानसिकतालाई अझै पनि हाम्रो समाजका बुद्धिजिवी भनाउदाहरूले नै बढावा दिइरहेका छ्न् । जसको प्रत्यक्ष अप्रत्यक्ष असर सबै महिलाहरू र किशोरीहरूले भोग्नुपरेको छ ।

समाजका प्रतिष्ठित व्यक्तित्व जस्ले समाज परिवर्तनका कुरा गर्छन् , महिला अधिकार र महिला हिंसाकाविरूद्ध समाजका कुसंस्कार हटाउनुपर्छ भनेर आवाज उठाउछ्न्, चिटिक्क परेर सभा समारोहमा भाग लिएर खादा माला लगाउँछ्न् , आफूलाई सुदुरपश्चिमको छाउपडी प्रथाले सारै दुःख लागेको बताउँछन् ।

यो एउटा कुरिती हो यसलाई हटाउनुपर्छ भनेर जोडदार माग उठाउँछ्न् । तर, आफ्नै घरमा आफूलाई परिवर्तन गर्न सकेका छैनन् । सबैभन्दा दुःखको कुरा त आफूले भोग्नुपरेको कुसंस्कार आफ्ना कलिला नानीहरूलाई सिकाइरहेका छन् । यो गर्न हुन्छ, त्यो गर्न हुन्न भनेर नियम लगाउने आमाहरूनै फरक-फरक रुपमा “छाउपडी“लाई बढाउन नजानिदो तरिकाले मुख्य भूमिका खेलिरहेका छन् ।
सुन्दा नमिठो लाग्ला तर, यथार्थ यहीँ हो ।

शहरका सबै नौला कुराहरू ढिलोचाँडो गाउँमा पुग्छन् र पुगेका पनि छ्न् । सहरको सुखमा त महिनावारीको नियम रमाइलो लाग्छ । तर, विकट गाउँका नानीहरूको दर्दनाक अवस्थाबाट निकाल्न सहरका महिलाहरू नै सुध्रनु जरुरी छ । वास्तवमा भन्ने हो भने सहर बजार र सुखमा बस्नेहरूलाई महिनावारीमा छुन हुन्न भनेपछि यहि बहानामा आराम गर्न पाउने रमाइलो समय बनेको छ ।

भयंकर पीडा त गाउँमा छ । महिनामा यो कष्टकर दिन झेल्नुपर्ने बाध्यताले कैयौ नानीहरूले जथाभावी औषधिको प्रयोग गरेर रोग र बाँझोपनको समस्या भोगेका छ्न् । यो भन्दा दुःखद अवस्था के हुनसक्छ ? सुदुरपश्चिमको छाउपडीले दिनप्रतिदिन विकराल रूप लिँदैछ ।

यसै प्रसङ्गमा वर्षको एकपटक आउने ऋषिपञ्चमी पूजाको कथाले पनि छाउपडीलाई बढाउन मुख्य भूमिका खेलेको छ । पूजा आफैमा राम्रो हुन्छ । तर, ३६५ दिनमा महिलाले गरेको पाप पखाल्ने दिन भनेर बिहानैदेखि महिलाहरूले गर्ने क्रियाकलापले सारै नराम्रो कुसंस्कारलाई बढावा दिएको छ । वर्ष भरी महिनावारी हुँदा छोइयो कि कतै पाप लाग्ने भो भन्ने तनाव त छदैँछ । यो पाप कटाउन तीजको दिन व्रत बसेर तीजको पर्सीपल्ट गरिने शुद्धीकरण पूजा अर्थात् ऋषिपञ्चमी पूजा कुनै सति प्रथाको नियम भन्दा कम छैन । कथा सुन्दा रमाइलो लाग्ला । मन शान्त होला-गर्दै नगरेको पाप कटाउन पाउँदा ।

तर यसको प्रत्यक्ष असर भनेको विकट गाउँमा नै परेको छ । जहाँ पानीको सुविधा छैन । प्रसस्त लुगा छैन । सेनेटरी प्याड त नदेखेका त कति छन् । कठ्याग्रिंदो जाडोको महिनामा हुने महिनावारीको सास्ती । यस्ता धेरै कुराको अनुभव कष्टकर अनुभव शहरीयाहरूले सोँच्न पनि सक्दैनन् ।पूजाको अन्तिममा भनिने कथाले त्यो कथा ध्यानपुर्वक सुनेर वर्षभरीको पाप कटाउन हातमा फुल लिएर बसेका महिलाहरूले नै छाउपडी प्रथालाई बढाउन सहयोग गरेका छ्न् ।

बाहिर भन्दा यो पाप होइन भन्ने तर आफ्नो मनभित्रको रोगी मानसिकता हटाउन नसक्नेप्रती दया लागेर आउँछ । छाउपडी प्रथाको तरिका फरक होला तर, अहिलेसम्म पनि यसले नेपाल भरी नै जरो गाडेको छ । त्यसमाथी पनि यसलाई बढवा दिने काम पढेलेखेका र म समाज परिवर्तन गर्छु भन्ने अगुवाहरुमा नै देख्न सकिन्छ । अझै पनि छोरी बहिनीहरु महिनाबारी भएको बेलामा छुन हुन्न भन्ने, यो नगर त्यो नगर भन्ने,अँध्यारो कोठामा बन्द गरेर राख्ने चलन देखिन्छ । आफूले भोगेको कुसंस्कार साना साना नानीहरूलाई किन थुपार्ने ?

केका लागि ऋषिपन्चमी पुजा गर्नुहुन्छ ? सुख शान्ति र समृद्धि हो भने धेरै राम्रो छ । तर, पूजाको अन्तिममा भनिने कथालाई परिमार्जन गर्नुपर्छ । पूजामा रजस्वला प्राकृतिक नियम हो, यो पाप हैन, रितीको चक्र हो भन्ने संदेश दिदै रजस्वलाको समयमा स्वस्थ रहन आवस्यक सल्लाह र सुझाव दिनुपर्छ । रजस्वला पाप हो भन्ने विकृत सोचाई राखेर ऋषिपंचमी मनाउने हो भने त्यसले पाप पखाल्ने हैन कि महिला र बालिकाहरुमाथि अत्याचार गरेको पाप हरेक वर्ष थपिँदै जानेछ ।

कम्तिमा अरुले थोपरिदिएको ‘पाप’ भोगेर कष्ट पाएका महिलाहरु त आजको दिनमा जिम्मेवार र सचेत हुने कि ? –लेखकका निजी तर्क तथा विचारमा आधारित ।

गंगा पाेखरेल
लेखकको बारेमा
गंगा पाेखरेल
स्तम्भकार