ताजा अपडेट »

सत्तारुढ दल निकट विद्यार्थीबाटै त्रिवि असुरक्षित, गृहसँग मागियो सुरक्षा

आइतबार, १२ भदौ २०७९, ०८ : २८
41 Shares
आइतबार, १२ भदौ २०७९
41 Shares

बुटवल । सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था, नेविसंघले त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायमा तालाबन्दी गरेको र त्रिवि कार्यकारी परिषद बैठकबाटै महत्वपूर्ण फाइल लुटेको भन्दै त्रिविले गृह मन्त्रालयसँग भरपर्दो सुरक्षा व्यवस्था मिलाइदिन अपिल गरेको छ।

नेविसंघको केही समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी र कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक कामकारबाही गर्दा बारम्बार कार्यालयमा जबरजस्ती प्रवेश गरी अवरोध गर्ने कार्य गरिरहेको त्रिविले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्रिवि उपकुलपतिसहित पदाधिकारीका कार्यकक्षमा प्रवेश गरी तोडफोड गर्नेजस्ता कार्य बारम्बार हुने गरेकोले विश्वविद्यालय परिसरमा बसेर छलफल गर्न सुरक्षाका दृष्टिले असहज भएर त्रिवि कार्यकारी परिषद बैठक गत शुक्रबार एल्लो प्यागोडा होटलमा गरिएको त्रिविले जारी गरेको अपिलमा दाबी गरिएको छ।

 'भदौ १० गते अपरान्ह ४:३० बजे १०/१५ जनाको समूह त्रिवि कार्यकारी परिषद बैठक कक्षमा प्रवेश गरी पदाधिकारी, कार्यकारी परिषदका सदस्यहरू र कर्मचारीबाट विगतका निर्णसहितको पुस्तिका र अन्य महत्वपूर्ण कागजात र फाइल खोस्ने/कब्जा गर्ने, पदाधिकारीलाई हातपात गर्न खोज्नेजस्ता अभद्र व्यवहार गरी महत्वपूर्ण काजगात लुटी लिने कार्यप्रति विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ।  नेविसंघका गतिविधिले विश्वविद्यालयका नियमित काम प्रभावित भएको त्रिविको भनाई छ।

विश्वविद्यालय र क्याम्पस कार्यालयको आर्थिक व्यवस्थापनमा पनि समस्या भएको त्रिविको भनाई छ। लेखा शाखामा तालाबन्दीका कारण मुलुकभरका शिक्षक, कर्मचारीले गत असारदेखि नै तलब नपाएको त्रिविले जनाएको छ।

तालाबन्दीकै कारण निवृत्त भएका शिक्षक तथा कर्मचारीहरू निवृत्तभरण तथा उपदानलगायत सुविधाबाट बञ्चित भएको पनि त्रिविले बताएको छ।

विभिन्न निर्माण व्यवसायी, विद्युत प्राधिकरण, टेलिफोन र खानेपानीको नियमित रूपमा हुनुपर्ने भुक्तानी हुन नसकेको त्रिविको भनाइ छ। यसबाट त्रिविले लाखौं जरिबाना तिर्नुपर्ने अवस्था सिर्जना भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।