ताजा अपडेट »

तिलोत्तमाको शान्ति माविमा नेपालकै पहिलो अटिजम विद्यालय

विहीबार, ०९ भदौ २०७९, १३ : ३०
8 Shares
विहीबार, ०९ भदौ २०७९
8 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मा रहेको नमुना माध्यमिक विद्यालयले नेपालमै पहिलो अटिजम विद्यालय संचालनमा ल्याएको छ ।
बुधबार लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले अटिजम भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खाँले अटिजम भएका बालबालिकाहरुलाई उचित जीवनशैलीका साथ विशेष शिक्षा, रेखदेख, उपचारको आवश्यक व्यवस्था मिलाउन मन्त्रालय तयार रहेको बताए ।

मन्त्री खाँले पुनस्र्थापनाबाट सामान्य अवस्थामा ल्याउनको लागि शान्ति नमुनाले चालेको कदमप्रति प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउँदै बालबालिकाको जीवन सहज बनाउनको लागि चाहिने स्रोत साधनको लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले अटिजमलाई समयमै चिन्न वा पत्ता लगाउन सकेमा नियन्त्रणका लागि कदम चाल्न सजिलो हुने बताए । पछिल्लो समयमा आमा बुबाको व्यस्त जीवनशैलीका कारण बालबालिकालाई भुलाउने क्रममा दिइने मोबाईका कारण पनि अटिजम हुने गरेको बताए ।

अटिजम केयर सोसाइटी लुम्बिनीका अध्यक्ष सतिस रुपाखेतीले अटिजम आफैमा विशेष अवस्था भएको बताए । हेर्दा सामान्ने देखिने बालबालिकाहरुमा समेत अटिजमको समस्या हुने भन्दै उनले लामो समयको घुलमिल पछि मात्र समस्या थाहा पाउन सकिने जानकारी दिए।

शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले नेपालमै पहिलो अटिजम विद्यालय संचालन गर्न लागेको बताउँदै बालबालिकालाई विशेष प्रकारको शिक्षा दिनुका साथै समायोजन तथा सामाजिकीकरणका तालिम दिँदै पुनस्र्थापनाका कार्यक्रमहरु चलाइने उल्लेख गरे । उनले त्यसका लागि आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराई दिन स्थानीय तह र प्रदेश सरकारसंग आग्रह गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराइको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक किशोर कुमार खनालले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।