ताजा अपडेट »

पौडेलको भागमा परेको सबै रकम शिक्षामा

शुक्रबार, २० मंसिर २०७६, १८ : ०६
18 Shares
शुक्रबार, २० मंसिर २०७६
18 Shares

मंसिर २०,

ग्लोबल आवाज

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा स्थानीय पूर्वाधार विकास कार्यक्रमको सबै खर्च शिक्षामा लगाइने भएको छ । सरकारले संघीय संसदका सबै सदस्यलाई स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत वार्षिक ६ करोड रुपैयाँ उपलब्ध गराउँदै आएको छ । पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले चालु वर्षको सबै रकम शिक्षा क्षेत्रमा खर्च गर्ने निर्णय कार्यक्रम निर्देशक समितिबाट गराएका हुन् ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेलले कार्यक्रमको शत प्रतिशत रकम शिक्षामा लगानी गर्ने जानकारी दिए । कार्यक्रम निर्देशक समितिका संयोजक तथा सांसद पूर्व अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा बसेको बैठकले १२ वटा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा रकम खर्च गर्ने निर्णय गरेको हो । समितिमा संघीय समानुपातिक सांसद, राष्ट्रियसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, क्षेत्रभित्र पर्ने पालिकाका प्रमुख र अध्यक्ष सदस्य रहने व्यवस्था छ ।

धेरैतिर कनिका छरे जस्तो रकम छर्नुभन्दा सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न मद्दत पुगोस् भनेर परिणाम निस्किने गरी शिक्षा क्षेत्रमा सबै रकम विनियोजन गरिएको पौडेलले बताए । रूपन्देहीको तिलोत्तमा–६ पश्चिम पाहुनी मावि, तिलोत्तमा–६ को गिर्वाण संस्कृत मावि, तिलोत्तमा–२ को जनजागृति मावि, तिलोत्तमा–४ को जनज्योति मावि, बुटवल–११ को नविन औद्योगिक कदरबहादुर रीता मावि, सिद्धेश्वर लालकुमारी माविलाई ५०–५० लाख रूपैयाँ रकम विनियोजन भएको हो ।

सैनामैना–१ को पर्रोहा परमेश्वर आधारभूत विद्यालयको पूर्वाधार विकास गर्न ३५ लाख, सैनामैना–२ को कालिका तथा जनज्योति आधारभूत विद्यालयको पूर्वाधार निर्माण गर्न ५० लाख, पर्रोहा माविको ४ कोठे भवन निर्माण गर्न ६५ लाख, बुटवल–११ को नहरपुर माविलाई ५० लाख, सरस्वति मावि बुटवल–१२ लाई ५० लाख र जनता मावि बुटवल–८ लाई ५० लाख गरी विनियोजित ६ करोड रूपैयाँ विद्यालयलाई रकम प्रदान गरिने छ । यसका लागि कार्य्विधि निर्माण गरिने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।