ताजा अपडेट »

रुपन्देहीमा लगातार ३ पटक जितेका विष्णु पौडेललाई यसपटक कति चूनौती ?

मंगलबार, २४ साउन २०७९, १७ : ०३
39 Shares
मंगलबार, २४ साउन २०७९
39 Shares

बुटवल । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति मंसिर ४ गतेका लागि घोषणा गरिसकेको छ । यससँगै चुनावी चर्चा पनि चुलिएको छ । निर्वाचनको मिति तय भएसँगै दलहरू पनि निर्वाचनको तयारीमा जुटेका छन् भने दलका नेताहरू उम्मेदवारीका लागि आ–आफ्नो चुनाव क्षेत्र लक्षित गतिविधिमा सक्रियता बढाउन थालेका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही २ लाई निकै चासोका साथ हेरिएको छ । यहाँबाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लगातार ३ पटक सहज रुपमा जिते । पौडेलले २०६४, ०७० र ०७४ सालको निर्वाचन जितेर ‘ह्याट्रिक’ गरे । उनले २०६४ सालमा माओवादीका भक्ति पाण्डे, २०७० सालमा डा.बाबुराम भट्टराई र २०७४ सालमा नेपाली कांग्रेसका युवराज गिरीलाई हराए । २०७४ सालमा पौडेलले २२ हजार भन्दा बढी मतान्तरले विजयी भए । पौडेलले ४४ हजार ९ मत प्राप्त गर्दा निकट प्रतिस्पर्धी कांग्रेसका गिरीले २१ ह्जार ९४६ मत पाए ।

यस पटकको निर्वाचनमा पनि यहाँबाट एमालेबाट पौडेल नै उठ्ने पक्का–पक्की छ। नेपाली कांग्रेसबाट यसपटक गिरी नै उठ्छन् वा अरु कसैलाई पार्टीले अघि सार्छ भन्ने अझै निश्चित भएको छैन। नेपाली कांग्रेसबाट डा.चन्द्र भण्डारीको चर्चा रहेपनि कांग्रेस बुटवल उपहानगरपालिकाका सचिव छाँया पोखरेलले भने चन्द्र भण्डारी यहाँ आएर निर्वाचन लड्ने कुरामा कुनै सत्यता नभएको दाबी गर्छन् ।

एकृकीत समाजवादीका रुपन्देही इचार्ज राजु गुरुङले यहाँबाट सत्तागठबन्धनको तर्फबाट आफूले टिकट पाउनु पर्ने बताउने गरेका छन् । गुरुङ तीनै व्यक्ति हुन्, यसअघिका निर्वाचनमा विष्णु पौडेललाई जिताउन युवाको नेतृत्व गर्ने गरेर चुनावी मैदानमा खटिन्थे । साथै यो क्षेत्रबाट डा. निकोलस भुसालले पनि स्वतन्त्र रुपमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विष्णु पौडेलको निर्वाचन क्षेत्र अर्थात् रुपन्देही क्षेत्र नम्बर २ मा पर्ने सबै पालिकामा नेकपा एमाले पराजित भएको छ । रुपन्देही क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ देखि १३ सम्म, सैनामैना नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र तिलोत्तमा नगरपालिकाको १, २, ३, ४, ५ र ६ पर्छ । यी तिनै पालिकाको प्रमुख नेपाली कांग्रेसले जितेको छ । जबकी २०७४ सालको स्थानीय निर्वाचनमा यी तिनै पालिका एमालेले जितेको थियो ।

यस निर्वाचन क्षेत्रमा पर्ने २२ वटा वडा मध्ये नेपाली कांग्रेस १४, एमाले ५, माओवादी केन्द्र र एकीकृत समाजवादी र स्वतन्त्रले १/१ वडा जिते । स्थानीय तहको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गत पर्ने वडामा नेपाली काँग्रेसका वडाध्यक्षले कुल ३४ हजार ९५९ मत पाए । एमालेले ३३ हजार १८७, राप्रपाले ३ हजार ९२०, माओवादी केन्द्रले ३ हजार ८८ र एकृकीत समाजवादीले १ हजार ३८२ मत ल्याएका थिए ।

निरन्तर विजयीसँगै आफ्नै पार्टी र नेतृत्वमा उचाई बढाउँदै गएका पौडेललाई पछिल्ला वर्षहरुमा भने एकपछि अर्को चूनौती थपिएको छ । पार्टीको दशौँ महाअधिवेशनमा महासचिवबाट उपाध्यक्षमा चित्त बुझाउनु पर्यो भने गत निर्वाचनमा गरेको लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवल बनाउने प्रतिवद्धतामा पनि चुक्नु पर्यो । हालै सम्पन्न स्थानीय तहमा आफ्नो क्षेत्रमा एमालेले अप्रत्यासित तथा ठूलो पराजय भोग्नु पर्यो । त्यस्तै एमालेबाट छुट्टिएका माधव नेपालको समाजवादी पार्टी र स्वतन्त्र उम्मेद्वारको पनि सक्रियता बढेको छ । यी उतार–चढाव र घटनाले विष्णु पौडेललाई आगामी निर्वाचन जित्न थप चूनौती देखिएको छ ।

स्थानीय तहको निर्वाचनमा यहाँबाट नेकपा एमालेले अप्रत्यासित हार व्यहोरे पनि संघीय निर्वाचनमा विष्णु पौडेललाई टक्कर दिने तहको नेता नभएको एमालेका नेताहरुले बताउने गरेका छन् । रुपन्देहीको विकासमा विष्णु पौडेलले गरेका काम र विकास निर्माणका लागि खेलेको भूमिका गर्दा विकास लागि पनि पौडेलको विकल्प नभएको उनीहरु बताउँछन् । स्थानीय तहको निर्वाचनमा एमाले पराजित भए पनि विष्णु पौडेललाई यहाँ कुनै जोखिम नरहेको जिल्ला अध्यक्ष तेजेन्द्र केसी बताउँछन् ।

यता नेपाली कांग्रेस लगाएतले पौडेलले निर्वाचनमा बुटवललाई प्रदेशको स्थायी राजधानी दाङ सार्न पौडेलले नै भित्रि सहयोग गरेको आरोप लगाउँदै आएको छ । निर्वाचनमा जनतासँग गरेको वाचा भुलेर पौडेलले भएको राजधानी सार्न भित्र–भित्रै सहयोग गरेको बताउँदै आएका छन् ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।