ताजा अपडेट »

१६ लाखको ट्रकका लागि रुपन्देहीबाट अर्घाखाँची पुर्याई साथीकाे हत्या

आइतबार, १५ साउन २०७९, २१ : ००
38 Shares
आइतबार, १५ साउन २०७९
38 Shares

बुटवल । रुपन्देहीको सैनामैना–६, कलौनीका एक पुरुषले आफ्नै साथीको हत्या गरेका छन् । अर्घाखाँची पाणिनी गाउँपालिका–२ डाँडाकटेरी घर भई हाल सैनामैना बस्दै आएका ४३ वर्षीय दिपक भन्ने कुलचन्द्र गौतमले १६ लाखको ट्रक आफ्नो नाममा पारेर साथीको हत्या गरेका हुन् ।

अर्घाखाँचीकै विष्णु बहादुर पाण्डेको नाममा रहेको लु १ ख ७७८१ नम्बरको ६ पाङ्ग्रे ट्रक आफ्नो नाममा पारी योजनाबद्ध रुपमा रुपन्देहीबाट अर्घाखाँची पुर्याई हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । विष्णुबहादुरसँग पछि पैसा बुझाउने गरी गौतमले १६ लाख रुपैयाँमा ट्रक खरिद गरी यातायात कार्यालयमा गई आफ्नो नाममा गरेका थिए । ट्रक आफ्नो नाममा गराईसकेपछि अर्घाखाँची रहेको आफ्नो पहाड घरमा गएर ट्रकको पैसा बुझाउने भनि लिएर गएका थिए ।

ईलाका प्रहरी कार्यालय बुटवलमा मृतकका दाजु तेजबहादुर पाण्डेले दिएको जाहेरी तथा प्रहरीको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअुनसार साउन ९ गते उनिहरु अर्घाखाँचीतर्फ लागेका थिए । अर्घाखाँची पाणिनी घरमा पुगेपछि पहिलो दिनसँगै खाना खाएर सुतेका थिए । भोलिपल्ट विहानै आरोपित गौतमले जँगलमा कालिज मार्न जाउँ भनि विष्णुलाई लगेका थिए । जँगलमा लगेपछि एकान्त पारी पछाडीबाट फलामको रडले टाउँकामा हानी हत्या गरेका थिए । २/३पटक टाउकोमा हानेपछि प्राण त्यागेका पाण्डेलाई जँगलको भिरबाट धकेलिदिएका थिए ।

आरोपित गौतमले ईलाका प्रहरी कार्यालय बुटवलमा दिएको बयानअनुसार सैनामैना कलौनीमा घर बनाउँदा उनी ऋणमा डुबेका थिए । यसैगरी बुटवलको मैनाबरगरमा सञ्चालन गर्दै आएको मोटर पार्ट्स पसलबाट समेत घाटा भएपछि साथीको ट्रक सित्तैमा हत्याउने र उक्त ट्रकबाट आम्दानी गरी ऋण तिर्ने उद्देश्यसहित हत्याको योजना बनाएका थिए । साथीको हत्या गरी फरार रहेका गौतमलाई नेपाल भारतको सीमानाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतकका दाजु तेजबहादुर पाण्डेले साउन १५ गते आइतबार नै ईलाका प्रहरी कार्यालय बुटवलमा कारबाहीका लागि किटानी जाहेरी दिएका छन् ।

साउन ९ गतेको रातिसम्म परिवारको सम्पर्कमा रहेका मृतक पाण्डे एक्कासी सम्पर्कविहिन भएपछि परिवारले खोज तलासकालागि प्रहरीमा उजुरी दिएको थियो । प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा साउन १५ गते जँगलमा मृत अवस्थामा पाण्डेको शव फेला परेको थियो ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।