बुटवल । एसईई परीक्षा–२०७८ को ४ जिपिए प्राप्त गर्ने कालिका मानवज्ञान माविका विद्यार्थी विवेक न्यौपानेलाई विद्यालयले सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको नतिजाअनुसार न्यौपाने रुपन्देही जिल्लामा सामुदायिक विद्यालयतर्फबाट ४ जिपिए प्राप्त गर्ने एक मात्रै विद्यार्थी हुन् ।
विद्यालयले शनिबार एक कार्यक्रमकाबीच न्योपानेसहित आफ्नो विद्यालयबाट एसईई उत्तिर्ण गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीको अध्यक्षता र विद्यालयका पूर्व प्रअ तथा कालिका क्याम्पसका प्राचार्य घनश्याम पाठकको प्रमुख आतिथ्यतामा भएको थियो ।
सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले ४ जिपिएसहित विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको बताउँदै गुणस्तरलाई निरन्तरता दिएको बताए । उनले भने ‘सामुदायिक विद्यालयकै नेतृत्व गर्दै ४ जिपिएसहित कालिका मानवज्ञान माविले सर्वोत्कृष्ट नतिजा हासिल गरेको छ । कोरोना महामारीलगाएत विभिन्न समस्या र चूनौतीकाबीच विद्यालयले सर्वोत्कृष्ट नतिजासहित विद्यालयको गुणस्तरलाई निरन्तरता दिएको छ ।’
पूर्व प्रअ घनश्याम पाठकले कालिकाले सामुदायिक विद्यालयप्रतिको दृष्टिकोणनै परिवर्तन गरेको बताए । ‘सामुदायिक विद्यालयहरु कमजोर हुन्छन् ,शिक्षकहरु दक्ष हुँदैनन् र विद्यार्थीहरु उत्कृष्ट हुँदैनन् भन्ने नकारातमक सोँच आएको अवस्थामा त्यो सोँचमा कालिकाले परिवर्तन ल्याएको छ । हाल देशमै धेरै विद्यार्थी र उत्कृष्ट विद्यालय बन्न सफल कालिकामा अध्ययनरत विद्यार्थीले गर्वले विद्यालयको नाम लिन सक्छन् ।’ उनले भने।
त्यसैगरी बुटवल उपमहानगर–१० का वडाध्यक्ष बल बहादुर पुनले मुलुककै उत्कृष्ट विद्यालय रहेको वडाको वडाध्क्ष हुनुमा गौरवान्वित भएको बताउँदै विद्यालयका हरेक गतिविधि आफ्नो प्राथमिकतामा पर्ने बताए ।
विद्यालय व्यवस्थपन समितिका अध्यक्ष होम बहादुर गलामीले विद्यार्थीले प्राप्त गरेको सफलताले नै विद्यालय सफल भएको बताउँदै उत्तिर्ण विद्यार्थी, अभिभावक, शिक्षक,समुदाय लगाएत सबैको प्रयासले नै निरन्तर विद्यालय सफल भएको बताए ।
कार्यक्रममा एसईई उत्तिर्ण विद्यार्थी, अभिभावक , शिक्षक, कर्मचारी लगाएतलाई टिका र खादाले सम्मान गरिएको थियो । यस वर्षको एसईई परीक्षामा ६०६ जना विद्यार्थी सहभागी रहेको जसमध्ये ६७ जना विद्यार्थीले ३.६ देखि जिपिए ४ सम्म प्राप्त गरेको विद्यालयका शिक्षक तथा कक्षा १० संयोजक सुदर्शन रेग्मीले बताए ।
को हुन् जिपिए ४ प्राप्त गर्ने विवेक ?
सामुदायिक विद्यालयतर्फबाट रुपन्देहीमै एक मात्रै ४ जिपिए प्राप्त गर्ने विवेक न्यौपाने कालिका मानव ज्ञान मविका मेधावी छात्र हुन् । बुटवल–९ मिलनचोकका न्यौपानेका बुवा गणेश न्यौपाने उद्यमी हुन् भने उनकी आमा गीता न्यौपाने शिक्षक हुन् । उनका बुवाले मिल सञ्चालन गर्दै आएका छन् भने आमाले निजी विद्यालयमा अध्यापन गराउँदछिन् ।
उनी परिवारका जेठो सन्तान हुन् । उनकी बिहनी विनिता न्यौपाने पनि कालिका माविमै कक्षा ९ मा अधययनरत छिन् । विवेकले विज्ञान संकायबाट उच्च शिक्षा हासिल गर्ने लक्ष्यसहित सोही विद्यालयमा अध्ययन गर्ने निर्णय गरेका छन् ।
प्रतिक्रिया