ताजा अपडेट »

नक्कली विवाह गराई युवककाे हत्या, हत्यापछि इन्सुरेन्सबाट साढे २ कराेड असुली गर्ने ६ जना पक्राउ

शुक्रबार, १३ साउन २०७९, १४ : २१
26 Shares
शुक्रबार, १३ साउन २०७९
26 Shares

बुटवल । लुम्बिनी प्रदेशको बाँके कोहलपुरमा एक युवाको इन्सुरेन्सको रकम कुम्ल्याउन हत्या गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीय सर्जन बिकलाई डिपेन्डेन भिषामा विदेश पठाउने भनि प्रलोभन देखाएर नक्ली विवाह गराई ईन्सुरेन्स गराएर हत्यागरी रकम असुली गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा रहेका छन् । सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । यो गिरोहले गरिब परिवारका एक युवकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमा गराएको थियो । नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखी बैंक खाता खोलिएको र बीमा गराइएको पाइएको छ । वार्षिक आम्दानी २ लाख मात्रै भएका युवकको २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको छ । हत्यापछि इन्सुरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएका थिए ।

२ करोड ५० लाख रुपैयाँ बराबरको इन्सुरेन्स गराइएका सर्जन बिकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भयो । मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि बिकको मृत्यु भएको थियो । सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरी छाडिएको थियो ।

मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स इन्सुरेन्सबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए । मृतकको नजिकको हकवालाका रूपमा श्रीमती बनाइएकी सपना मल्लको बैंक खातामा इन्सुरेन्स कम्पनीले २ करोड ५० लाख रुपैयाँ भुक्तानी दिएको थियो । उक्त रकममध्ये मुख्य योजनाकार सञ्जीव अर्यालले ८० लाख २६ हजार रुपैयाँ, दीपक केसीले ६० लाख, छवि कुमारी खत्री नाम गरेकी सपना मल्लकी आमाले १७ लाख ४६ हजार रुपैयाँ लिएको पाइएको छ । त्यसैगरी चालकले समेत रकम लिएको र बाँकी रकम सपना आफैँले राखेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।