ताजा अपडेट »

तिलोत्तमाको अवैध कल सेन्टर प्रकरण : काठमाण्डौंबाट आएकाे सिआईबीले थाल्याे अनुसन्धान

मंगलबार, १० साउन २०७९, १७ : १०
24 Shares
मंगलबार, १० साउन २०७९
24 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा भेटिएको अवैध कल सेन्टरको घटना बारे अध्ययन गर्न काठमाण्डौंदेखि आएको सिआईबी टोलीले आज मँगलबारदेखि काम सुरु गरेको छ । तिलोत्तमा–२ स्थित जानकीनगरमा सञ्चालित ब्लू स्काई बिजनेश सोलुशन प्रा.लिका सञ्चालक मुख्य अभियुक्तलाई प्रहरीले ठगी आरोपमा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।

ईलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले त्यहाँ काम गर्ने १ सय १५ जना पुरुष र ९८ जना महिला कर्मचारी समेत २ सय १३ जनालाई निगरानीमा राखी मुख्य भूमिकामा रहेका २ जनामाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको बताए । कल सेन्टरका मुख्य भूमिकामा रहेका जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ४० वर्षीय हिमाल बाठा मगर र भारत विहार प्रदेश गायविद्या पञ्चायत मचारीका २५ वर्षीय जिसाद दवाङ्गे (निरञ्जन कुमार)लाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको उनले बताए ।

कम्प्युटर लगायत अन्य उपकरणहरू बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । बरामद भएका उपकरणका बारेमा यथेष्ट जानकारी लिन नसकेपछि प्रहरीले अनुसन्धानका लागि सीआईबीको टोली बुटवल आएको हो । बुटवल आएका अधिकृत तहका २ जना सिआईबी सदस्यहरुले मँगलबार विहानदेखि नै अनुसन्धानको काम सुरु गरेको बताइएको छ । पक्राउ परेका व्यक्तिहरूले भनेका कुराको प्रमाण पुष्टि गर्न कम्प्युटर र मोबाइलमा भएका तथ्य सही छन् कि गलत भन्ने बुझ्न केन्द्रीय अनुसन्धान टोली बुटवलमा बोलाइएको हो ।

साउन ८ मा जानकीनगरस्थित प्रेमराज गुरुङको घरमा सञ्चालित कम्पनीमा विद्युतीय अपराध भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । तीन तल्ला भाडामा लिएर विभिन्न सामाजिक सञ्जाल र एप्सहरु मार्फत विभिन्न व्यक्तिहरूलाई म्यासेज गरी बैङ्क लोन अफर गर्ने, प्रलोभन देखाउने, धम्की हैरानी दिने र अश्लील सामग्रीहरू समेत पठाई ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उक्त कल सेन्टरमा छापा मारेको थियो ।

यता काठमाडौँका विभिन्न स्थानमा खोलिएका कल सेन्टरमा समेत सोमबार प्रहरीले छापा मारेर नेपालीसँगै चिनिया र भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि सूचना प्रविधिको प्रयोग गरेर अर्काको गोप्य विवरण चोरेर धम्क्याउने, चिट्ठा परेको भन्दै झुक्क्याएर ठगी गर्ने लगायतका आरोपहरू छन् ।

https://www.globalaawaj.com/archives/201920
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।