बुटवल । नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशको आयोजनामा 'लुम्बिनी डान्स आइकन-२०७९' हुने भएको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट सहभागी हुने खुल्ला नृत्य प्रतियोगिताको पहिलो अडिसन (छनोट) यही असार ३२ गते बुटवलबाट सुरु हुने भएको छ ।
प्रदेशका १२ वटै जिल्लाका विभिन्न शहरमा हुने अडिसनबाट हजार बढी प्रतियोगीहरु सहभागी हुने कार्यक्रम संयोजक सुन्दर गुरुङले जानकारी गराए । बुटवलमा हुने अडिसनका लागि हालसम्म ५ सय बढीले नाम दर्ता गराईसकेको आयोजकले जनाएको छ । प्रतियोगिता बारे जानकारी गराउन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले नृत्य कलाको माध्यमबाट सँस्कृतिको संरक्षण, स्वास्थ्यका लागि सँगीत तथा राष्ट्रका लागि संगीत भन्ने सन्देश दिने उद्देश्य राखिएको बताए । यसैगरी फागुन ६ गते मनाइने नृत्य दिवसको प्रचार-प्रसार तथा सहयोगका लागि प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।
नेपाल गीत संगितका जुनसुकै विधामा नृत्य प्रस्तुत गर्न सकिने प्रतियोगितामा एकल, जोडी तथा समूहगत रुपमा सहभागी हुन पाउने व्यवस्था गरिएको कार्यक्रमका सह संयोजक माइकलदेव दर्लामीले जानकारी दिए । प्रतियोगिताका लागि अडिसनमा सहभागी हुन एकल नृत्यका लागि ३ सय, जोडिमा सहभागी हुनेहरुका लागि ६ सय तथा समूहगत रुपमा सहभागी हुनका लागि १ हजार शुल्क लाग्ने बताइएको छ ।
२ महिनासम्म जारी रहने प्रतियोगिताका लागि दोस्रो अडिसन लुम्बिनी प्रदेशको कपिलवस्तु र अर्घाखाँचीमा हुने छ । यसैगरी साउन १४ गते पाल्पा र गुल्मीमा अडिसन हुने छ भने नवलपरासी, प्युठान, रुकुम, रोल्पा, दाङ, बाँके र बर्दियामा साउन २१ गते अडिसन मिति राखिएको छ । भाद्र अन्तिम सातासम्म सञ्चालन हुने प्रतियोगितामा मेघा अडिसनबाट १० जना फाइनालिस्ट छनोट हुने छन् । विजेताले १ लाख १ हजार १११ रुपैयाँ नगद राशी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको बुटवलमा ग्राण्ड फिनाली हुने भएको छ । प्रतियोगिताबाट संकलित रकमबाट आगामी फागुन ६ गते नृत्य दिवस मनाउने तयारी गरिएको नृत्य निर्देशक संघका अध्यक्ष लोकेन्द्र शाहीले जानकारी दिए । उक्त कार्यक्रमका लागि करिब २० लाख लगानी लाग्ने अनुमान गरिएको छ । कार्यक्रम बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले सफलताको शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया