बुटवल । व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकअन्तर्गत बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक निर्माणका लागि पुनः म्याद थप हुने भएको छ । निर्माणमा ढिला सुस्ति गर्दै आएको ठेकेदारले टालटुले काममै म्याद गुजारेको छ । पटक-पटक ताकेता गर्दा पनि अँटेरी गर्दै ढिलासुस्ति गर्ने ठेकेदार कम्पनीलाई नै फाइदा हुने गरि सार्वजनिक खरिद ऐनको १२ औं संशोधन आएपछि थप बहाना पुगेको छ ।
पछिल्लो पटक थपिएको म्याद असार मसान्त सकिँनै लाग्दा नयाँ ऐन आएपछि ठेकेदारले फेरि उन्मुक्ति पाउने भएको छ भने, बुटवलका जनताले सास्ती भोग्नु पर्ने भएको छ । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कञ्चनजंगा बिरुवा जेभीले म्याद थप्नका लागि बहाना खोजिरहेका बेला, कानूनको नयाँ संसोधनले उसलाई थप सहज बनाएको छ । २०७३ चैत १७ गते ठेक्का सम्झौता भई ०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने भए पनि जग्गा विवादले उक्त समय अदालती उल्झनमै बितेको थियो । सडक विस्तारको बाटो खुलेपछि पुनः तोकिएको समय अवधिमा समेत निर्माण कम्पनीले काम गर्न नसक्दा म्याद थपेर ०७९ असार ३० गतेसम्म निर्माण सक्नुपर्ने सम्झौता भएको थियो ।
हाल नाली खनेर र खाल्डा पारेर अलपत्र अवस्थामा रहेको सडक अहिले वर्षायाममा हिलाम्य छ । केही क्षण घाम लाग्दा धुलाम्य हुने गरेको छ । यो सास्ती झण्डै ६ वर्षदेखि भोग्नुपरेको स्थानीयको गुनासो छ । सडक प्रयोगकर्ता र किनाराका व्यापारिक बस्तीले हैरानी र सास्ती ब्यहोर्नुपरेको दुखेसो पोख्छन् । चौराहादेखि गोलपार्क सम्मको सडक खण्डमा नाली निर्माण भएपनि त्यसको ढक्कन बनाइएको छैन । नाली निर्मणको अन्य काम पनि पूरा भएको छैन । सर्भिस लेनको टुंगो छैन । सर्भिस लेनमा परेका बिजुलीका तार र पोल हटाइएका छैनन् भने उहिल्यै हटाउन सुरू गरिएका खानेपानीका पाइप पनि हटाएर सकिएको छैन । सर्भिस लेन र नालीमाथि रहेका विद्युत्का पोल, ट्रान्सफर्मर हटाउन बाँकी रहेको र नाली निर्माणको काम ८० प्रतिशत पूरा भएको सडक आयोजना कार्यालयको भनाइ छ । ट्राफिक चोकदेखि अस्पताल लाइनसम्मको सडक ‘वान वे’ बनाइएपछि सवारीसाधन जाममा पर्ने र पानी पर्दा सवारी गुडाउन नमिल्ने अवस्था छ ।
यो सडक विस्तारको कामका लागि सम्झौता गर्दा ४७ करोड २७ लाख रूपैयाँमा थियो । पछि लागत बढेर ५३ करोड ९८ लाख रूपैयाँमा सम्झौता भयो । ठेकेदार कम्पनीले हालसम्म १३ करोड ६४ लाख रूपैयाँ भुक्तानी लगिसकेको आयोजना कार्यालयका सूचना अधिकारी सविता ज्ञवालीले बताइन् । यो सडकको ठेक्का सुरू भएलगत्तै अदालतमा मुद्दा परेर दुई वर्ष जति काम रोकियो । त्यसको केही समयपछि कोरोना कहरले काममा केही ढिलाई भयो । तर, निर्माणको जिम्मा पाएको कञ्चनजंघा/विरुवा जेभीले त्यसयताका सहज परिस्थितिमा पनि काम नगरेको आयोजनाकै कार्यालयका अधिकारीको भनाई छ ।
बुटवल-बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपक झाले काम गर्न कुनै अवरोध नभएपनि ठेकेदारले लापरबाही गरेकाले सडक निर्माणले गति लिन नसकेको बताउँछन् ।दोस्रो पटक थपिएको म्याद पनि सकिएपछि अब पुनः म्याद थपिने निश्चित भएको आयोजना प्रमुख झाले बताए । उनका अनुसार सार्वजनिक खरिद ऐन संशोधन भएकाले २१ दिनभित्र ठेकेदारले निवेदन दिने र ३० दिनभित्र म्याद थप हुनेछ ।
आयोजना सुरुहुने बेलादेखि नै जग्गा विवादले विभिन्न अदालती उल्झन झेल्दै आएको राजमार्ग चौराह–गोलपार्क सडक राजनीतिक दाउपेचको विषय बन्दा थप ढिलासुस्ति भएको यहाँका स्थानीयहरुले बताउने गरेका छन् ।
व्यापारिक मार्ग अन्तरगत अन्य काम सम्पन्न भएपनि राजमार्ग चौराहदेखि चिडिया खोलासम्मको साढे ३ किलोमिटर सडक बिस्तारले पूर्णता नपाउँदा बुटवल बजारनै अस्तव्यस्त भएको छ । सडक मर्मतको कामले पूर्णता नपाउँदा यसअघि बुटवलका मेयर रहेका शिवराज सुवेदीले ठूलो आलोचना खेप्नु परेको थियो । संघीय सरकारको स्वामित्वमा रहेपनि उपमहानगरले चासो नदिएको भन्दै उपमहानगर विरुद्ध जनताले असन्तुष्टिहरु राख्दै आएका थिए । निर्माणको चरणमा जग्गा स्वामित्वको विषयले विवादित बनेको सडक मर्मतको काम पटक–पटक समय थप गर्दा समेत निर्माण कम्पनीले ढिला सुस्ति गर्दा वर्षौसम्म अधुरो रहेको छ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित बुटवलका मेयर खेलराज पाण्डेले सडक मर्मतको कामलाई आफूले प्राथमिकतामा राखेको बताउँदै आएका छन् । पाण्डेले आफू मेयर भएपछि भने सडकमै पुगेर मर्मतको अवलोकन गरेका छन् । स्थानीय तहको निर्वाचनमा पहिलो चुनावी एजेण्डा बनाएका उनले सडक मर्मतको अवलोकन गरेका तस्विर सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका छन् ।
प्रतिक्रिया