पोखरा । पोखरा महानगरपालिका वडा ४ बूढानीलकण्ठ मन्दिर नजिकैको सडक शनिबार राति भासियो । त्यस क्षेत्रमा यातायात अबरुद्ध बन्यो भने नजिकैको एक घरमा क्षति पुगेको छ । सो क्षेत्रमा करिब १५ मिटर जतिको सडक भासिदा गैह्रापाटनेदेखि बागलुङ बसपार्क छिर्ने भित्री सडकमा आवातजावतमा समस्या भएको हो ।
गत वर्षको भदौमा पनि महेन्द्रपुलको मुल सडक छेउ पनि यसैगरी भासिएको थियो । सडक र फुटपाथ ठूलो भ्वाङ पर्ने गरी भासिदा महानगरको सहयोगमा आसपासका घरका मानिसले हताहतार खाल्डो पुरे । त्यस्तै, सोही वर्षको भदौमै नदीपुरमा जमिन भासिदा ३ घर र सडकमा समेत क्षति पुग्यो । भत्किएको ठाउँ डोजर सहयोगमा माटोले पुरियो । भासिएको जमिन यसरी पुरपार गर्दा अस्थायी रुपमा समाधान भए पनि स्थायी समाधान हैन । यो फस्ट एडमात्र हो । २०७१ सालमा पोखराको अर्मलामा खेतमा दर्जनौं भ्वाङ परेको घटनाले तरंग छाएको थियो ।
पोखराको सडक भासिने यी र यस्तै घटना बर्सेनि दोहोरिरहन्छन् । विगतको तुलनामा केही वर्षयता जमिन भासिनेक्रम बढ्दो छ । पोखराको खासगरी नदीपुर, महेन्द्रपुल, न्यूरोड, लामाचौर लगायत क्षेत्रमा जमिन बढी भासिने गरेको घटनाक्रमले देखाएको छ ।
नेपालमै अधिक वर्षा हुने सहर पोखरा हो । अघिल्लो दिनको वर्षाले सुइँखेल डुबेको थियो । मनसुन भित्रिएसँगै यतिबेला पोखरामा दिनहुँ वर्षा भइरहेकै छ । वर्षाका कारण पोखराको सडकमा भेलमात्र हैन खोलो बग्छ । त्यसबेला यातायातको साधन चलाउनसमेत धौधौ हुन्छ । यहाँ स्कुटर, मोटरसाइकल, साइकल कति पटक बगे भन्ने लेखाजोखा नै छैन । सडक नालीमा सेफ्टी नभए मानिस भेलसँगै नालीमा बग्ने जोखिम पनि उत्तिकै छ । सडकमा बग्ने खोलोले सानो छिर्द पायो भने त्यहीभित्र पसेर चुनमाटो घोलिन्छ । अनि भित्रभित्रै जमिन कमजोर बनाउँछ र जमिन भासिने गरेको विज्ञको भनाइ छ ।
भूगोलविद् प्राडा कृष्ण केसी पोखराको जमिन चुनयुक्त ग्राभलले पुरिएको बताउँछन् । ‘१०/१२ हजार वर्ष पहिले सेतीको शिरबाट बाढी आयो । त्यसले पोखरा उपत्यका पुरिन गयो । ‘पोखरा ग्राभल’ नाम दिइएको त्यसले घाचोकदेखि भिमादसम्म पुरै ढाकेको थियो,’ पृथ्वीनारायण क्याम्पस पोखरा भूगोल विभागका पूर्व प्रमुख समेत रहेका प्राडा केसी भन्छन्, ‘त्यसकारण सेतीको किनारको एरिया जोखिममा पर्छ । नदीपुरको बालमन्दिरदेखि न्युरोड हुँदै ढाँड (हालको राष्ट्र बैंकचोक), हरियोखर्कदेखि एसओएस भिलेज, बिरौटाको केही भाग, छोरेपाटन, गुप्तेश्वर गुफा आसपासको जमिन संवेदनशील छ ।’
प्राडा केसी भन्छन्, ‘एकअर्का छिद्रहरु आपसमा मिल्न गएर भूमिगत भूक्षय हुन्छ । साना–साना भुँवान हुन्छन् । माथि केही दबाब पर्नासाथ भासिने गरेको छ ।’ बर्खामास मात्र नभई कहिलेकाही हिउँदमै पनि पोखराको जमिन नभासिएको होइन । त्यसको कारण पनि उही हो–ढलको पानी भित्रभित्रै गएर छिद्रहरु आपसमा मिलेर प्वालहरु ठूलो ठूलो हुँदै जान्छ र जमिन भानिन्छ ।
भूगोलविद् डा. नारायण गुरुङ भन्छन्, ‘पोखरामा अधिक वर्षा हुँदा माटोमा पानी मिसिनेबित्तिकै चुन घोलिन्छ । चुन घोलिएपछि माटोको शक्ति ह्रास हुन्छ र माटोले माथिको लोड (भार) थाम्न सक्दैन र भासिन्छ ।’ यो विज्ञानको सामान्य नियम भएको उनको भनाइ छ । पोखराको विपद् जोखिम विषयमा फ्रान्सको पेरिस विश्वविद्यालयबाट पिएचडी हासिल गरेका डा. गुरुङ कादुरी संस्थाको प्राविधिक निर्देशकसमेत हुन् ।
तर २०/३० वर्ष अगाडिको तुलनामा पछिल्ला वर्ष किन बढी जमिन भासिने गरेको छ ? भन्ने जिज्ञासामा उनी भन्छन्, ‘पहिले आकाशको पानी जमिनमा पर्दा तत्कालै सोसिएर जान्थ्यो । एकत्रित भएर बग्ने अवस्था थिएन । अहिले घरैघरले पोखरा भरिएको छ । पानी १ घण्टामात्र पनि लगातार परे सडकमा खोलो बग्छ । सडक छेउको नाला सानो छ । बाहिर आउँदा सडक छेउछाउमा छिद्र पाउने वित्तिकै पानी भित्र छिर्छ र चुन घोलेर सतह कमजोर बनाइदिन्छ ।’ उनका अनुसार पोखराको महेन्द्रल, न्यूरोड, लामाचौर, बाटुलेचौर क्षेत्रमा बढी चुन छ । साथै खुकुलो माटो छ । सेतीको पूर्वतर्फ पेन्सन क्याम्प, रामघाट क्षेत्रको माटो अलि खँदिलो छ ।
पोखराको भूगोल बारे बेलाबेलामा अध्ययन हुने गरेका छन् । तर त्यसका रिपोर्ट र सुझावको कसैले पालना गर्दैनन् । सन् १९९८ मा खानी तथा भूगर्भ विभागसँग जर्मनको एक संस्थाले गरेको पोखराको नक्सांकन गरेको थियो । अध्ययनबाट यहाँका जोखिमयुक्त, संवेदनशील क्षेत्र स्पष्ट रुपमा छुट्याइएको थियो । तर पालना गर्ने सिलसिलामा पालना शून्य छ । -राजधानी दैनिक
प्रतिक्रिया