दाङ । तुलसीपुर उपमहानगरपालिका १२ एयरपोर्ट नजिकै बस्ने लक्ष्मणबहादुर खत्रीले सरकारले केही अगाडि तुलसीपुरको टरिगाउँ एयरपोर्टलाई स्तरोन्नति गर्न बजेट विनियोजित गरेपछि धेरै खुशी लागेको बताए । उनले लामोदेखि घर नजिकमा रहेको एयरपोर्टको विकास गर्नको लागि कुरा उठिरहेको बेला यस पटक सरकारले बजेट विनियोजन गरेकोमा धन्यवाद दिँदै आफूहरू धेरै खुशी भएको पनि बताए ।
उनले यस एयरपोर्टको स्तरवृद्धि भएपछि यहाँका यात्रुहरूलाई बाहिर जानु पर्ने अवस्था अन्त्य हुने भन्दै यहाँको कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा पनि हवाई सञ्चालन हुनसक्ने बताए । उनले भने, ‘यो एयरपोर्ट हरेक कुरामा उपयुक्त छ । पहाडी जिल्लामा जानको लागि नेपालगन्ज जानु पर्ने बाध्यता रहेको छ । यदि यसका विकास भएमा ठूला तथा साना निजी जहाजहरू आउने र जसले गर्दा पनि त्यो समस्या अन्त्य हुनसक्छ । ’
उनले अहिले एयरपोर्टमा ३० हजार लिटर क्षमताको इन्धन डिपोको पनि स्थापना भएको र जहाजमा इन्धन राख्नको लागि पनि एउटा ब्राउजर आइसकेको भन्दै यहाँ ठूला जहाज बस्न सकेमा हवाइ भाडा पनि कम हुने र सबैले सहज रुपमा यात्रा गर्न पाउन पनि उल्लेख गरे । त्यस्तै उनले बजेट भाषण अर्थमन्त्री जनार्दन शर्माले एयरपोर्टको स्तरोन्नति गर्ने भनेर भनेको भएयता पनि कति बजेट छुट्टयाएको छ, त्यसको कार्यान्वयन हुनु पर्नेमा पनि जोड दिए ।
त्यस्तै अर्का स्थानीय शेषमणि भण्डारीले एयरपोर्टको स्तरोन्नति नहुँदा आफूहरू साह्रै मर्का पर्दै आएको बताए । उनले एयरपोर्ट विस्तारका नाममा आफूहरूले अहिलेसम्म जग्गा बिक्री वितरण तथा बैंकमा समेत धितो राख्न नपाउँदा समस्या भोगको बताए । उनले भने, ‘यस पटक बजेट परेको कुराले अब स्तरन्नोति हुन्छ, की रु भन्ने आशा पलाएको छ । तर, हाम्रो एयरपोर्टको लागि कति बजेट परेको छ । त्यो पनि जानकारी पाएको भए राम्रो हुन्थ्यो ।’ उनका अनुसार अहिले आएको बजेट कार्यान्वयन भए टरिगाउँ बासी सबै हर्षित हुने छन् । उनले विभिन्न समयमा सरकारबाट एयरपोर्टको स्तरोन्नतिको लागि डीपीआर गर्ने काम भएको भन्दै धेरै पैसा लाग्न भनेर जनतालाई तर्साउने काम भएको पनि गुनासो गरे ।
त्यस्तै उनले अहिले एयरपोर्ट भित्र इन्धन डिपोको स्थापना भएको र इन्धन राख्नको लागि पनि ब्राउजर आएको हुँदा आफूहरूलाई अहिले स्तरोन्नति हुनेमा धेरै विश्वास लागेको पनि बताए । उनले स्तरोन्नति गर्दा स्थानीयरहेको जग्गा परेमा अहिलेको चलनचल्ती अनुसारको मुआब्जा दिनु पर्ने पनि उल्लेख गर्दै केही सामुदायिक वन पर्ने भएकाले पनि आफूहरूले त्यो दिन तयार रहेको र राज्यले पनि विकास गर्न लाग्दा बन मन्त्रालयले पनि यसमा सहयोग गर्नु पर्ने बताए ।
त्यस्तै व्यवसायी तथा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजालले २०७९÷८० को बजेटले छुने कोसिस गरेको हुँदा यो स्वागत योग्य रहेको बताए । उनले यसलाई कार्यान्वयन गर्नको लागि सबै चनाखो भएर अगाडि बढ्नु पर्ने पनि सुझाव दिए । उनले भने, ‘धेरै प्रोजेक्टहरुमा बजेट पर्ने कार्यान्वयन नहुने अवस्था रहेको छ । त्योबाट जोग्गीएर अहिले टरिगाउँ एयरपोर्टको बजेटका लागि दाङबासी सबै लाग्नु पर्छ । ’ उनले जिल्लाबाट केन्द्रमा नेतृत्व गर्ने धेरै नेताहरु भएयता पनि उनीहरुमा इच्छा शक्ति नहुँदा अहिलेसम्म एयरपोर्टको विकासमा ढिलाई भएको बताए । उनले पहिले पनि रुकुम कै पर्यटन मन्त्री हुँदा एयरपोर्टको विकास भएको थियो । अहिले पनि रुकुम कै अर्थमन्त्री हुँदा बजेट आएको भन्दै खुशी ब्यक्त गरे ।
उनले भने, ‘एयरपोर्टका विकास लागि अहिलेका अर्थमन्त्रीलाई दाङबासी विशेष धन्यवाद दिन चाहान्छांै । पहिला पनि एयरपोर्टको विकास तत्काली पर्यटन मन्त्री लोकेन्द्र विष्टमगरले गर्नु भएको थियो ।’ यस्तै उनले दाङका नेताहरुको काम गर्ने शैली परिर्वतन हुनु पर्ने त्यसो नभएमा जिल्लाको समृद्धि र विकास अगाडि नबढ्ने पनि उल्लेख गरे । उनले अहिले पनि जिल्लाका नेताहरु परम्परागत शैलीमा चलिरहेको भन्दै जिल्लालाई पछाडि धकल्ने पनि बताए । उनले अब हुने प्रदेश र संघको निर्वाचनमा प्रतिनिधिहरु छान्दा गम्भिर भएर छान्नु पर्ने समेत बताए ।
पूर्व– पश्चिम रन्वे बनाउने भनेर छलफल चल्दैछ ः अध्यक्ष चालिसे
एयरपोर्ट विस्तारका लागि अभियान चलाइरहेको तुलसीपुर उद्योग वाणिज्य संघले भने अहिलेको सरकारले स्तरोन्नतिको लागि बजेट विनियोजित गर्दा धेरै खुशी भएको जनाएको छ । संघका अध्यक्ष चालिसेले अहिलेको रन्वे उत्तर दक्षिण हुँदा एकतर्फबाट मात्र जहाजले अवतरण तथा उडान गर्दै आइरहेको बताए ।
उनका अनुसार उत्तरतर्फ घर हुँदा अवतरण र उडान गर्न समस्या हुने पाइलटहरुले बताउँदै आएका कारण अब पूर्व– पश्चिम बनाउने योजना रहेको छ । उनले भने, ‘माननिय जग प्रसाद शर्माले एयरपोर्ट विस्तारको लागि बजेट प्राप्त आउने भन्नु भएको छ । उहाँले पनि अहिलेको रन्वे परिर्वतन गरेर पूर्व– पश्चिम बनाउनु पर्छ, भन्नु भएको छ । जिल्लामा पश्चिमबाट पूर्वतर्फ हावा लाग्ने भएकाले यो रन्वे उपयुक्त हुन्छ, जस्तो लाग्छ ।’ उनले राप्ती राजमार्ग अन्तर्गत पर्ने अमिलिया– तुलसीपुर सडकलाई डाइभर्ड गरेर भएपनि त्यो बनाउन सकिने उल्लेख गरे । उनका अनुसार जहाजलाई बस्ने बेला पनि सहज हुने छ । त्यस्तै उनले अहिले एयरपोर्टमा इन्धन डिपोको लागि समानहरु आउँदा पनि अब एयरपोर्ट विस्तार नरोकीने पनि बताए ।
अध्यक्ष चालिसेले सरकारले छुट्टाएको बजेट अपुग भएमा आफूहरु जिल्ला १० स्थानीय तहबाट सहयोग मागेर निर्माण गर्ने बताए । यस्तै उनले तुलसीपुर एयरपोर्ट बनोउने कुरामा कतै पनि विरोध नहुने बताए । जिल्लाका ७ वटै उद्योग वाणिज्य संघहरु टरिगाउँ एयरपोर्ट विकासका लागि काठमाडौँ गएर मन्त्रालयमा ज्ञापन पत्र बुझाए आएको पनि उनको भनाइ थियो । उनले भने, ‘अहिले विरोध जिल्लामा कतै भएको छैन् । खोलाको माछा नखाइ किताबको माछा खाएको छ । नारायणपुर भनेर हल्ला फिजाइएको छ । न नारायणपुर हुन्छ, न तुलसीपुर हुन्छ । तुलसीपुर एयरपोर्टको नाममा ३९ विगाहा जग्गा छ । त्यससँगै सटेको बनसँग करिब ४५ विगाहा जग्गा रहेको छ । त्यो राष्ट्रिय बन पनि होइन । त्यसैले यो एयरपोर्ट विस्तारमा कुनै समस्या छैन् । इच्छा शक्तिको आवश्यक हो ।’
सरकारले मलपट्टी लगाउने काम गर्यो ः मेयर खड्का
कुनै समय घासे मैदान तथा गौचरणका रुपमा रहेको एयरपोर्टको केही विकास भएपनि अझै अरु गर्ने पर्ने रहेकाले तुलसीपुर उपमहानगरले यसका सहयोग गर्ने मेयर टिकाराम खड्काले बताए । उनले अहिले हप्तामा ५ दिन सानो जहाजले सेवा दिँदै आइरहेको अवस्थामा सरकारले स्तरोन्नतिको लागि बजेट छुट्टाएर मलमपट्टी लगाउने काम गरेको बताए ।
त्यस्तै उनले यो एयरपोर्टबाट ४२ सिटभन्दा माथिका जहाजहरुले सेवा नदिँदासम्म समस्याको हल नहुने भन्दै यो एयरपोर्टको विकासका लागि आफू प्रतिवद्ध रहेको पनि जनाए । त्यस्तै मेयर खड्काले निर्वाचनको समयमा पनि आफूले एयरपोर्टको विकासको लागि कुरा उठाउँदै आएको एजेन्डामा पनि रहेको बताए ।
२०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा अहिले साढे ७ मिटर कालोपत्रे भएको छ, भने नेपाल एयरलाइन्सको १९ सिटे जहाजले हप्तामा ५ दिन उडान भर्दै आएका छ । अहिले दाङमा काठमाडौँ भाडा ९ हजार बढि रहेको छ । स्थानीय तह निर्वाचनको समयमा गत बैशाख २७ गते प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ टरिगाँउ एयरपोर्टमा हेलिकोप्टर मार्फट ल्याण्ड गरेका थिए ।
त्यस दिन पनि प्रधानमन्त्री देउवा र प्रचण्डको ध्यानाकर्षण गराउँदै तत्काल टरिगाँउ एयरपोर्ट बिस्तारका लागि पहल गर्न आग्रह गरिएको थियो । सरकारले दाङको टरिगाउँ एयरपोर्ट, डडेलधुरा, बागलुङको बलेवा, टीकापुर, चौरजहारी विमान स्थल लगायतको स्तरवृद्धि तथा उदयपुर विमान स्थलको निर्माण कार्य सुरु गर्न संयुक्त रुपमा १२ अरब २४ करोड बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया