बुटवल । स्थानीय तह निर्वाचन–२०७९ को मनोनयनदेखि चर्चामा आएकी बुटवलकी भगवती पाण्डेले प्रतिष्पर्धामा पछि परेपनि धेरै बुटवलबासीको मतसँगै मन जितेको बताएकी छन् । मत गणना सकिएसँगै नतिजा सार्वजनिक भएपछि ग्लोबल आवाजलाई प्रतिक्रिया दिँदै उनले सो कुरा बताएकी हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तर्फबाट बुटवल उपमहानरको उपप्रमुखमा उम्मेद्वारी दिई चुनावी प्रतिष्पर्धामा होमिएकी २५ वर्षीया पाण्डेले ६ हजार ८ सय २० मत प्राप्त गरेकी छन् ।
जम्मा ६२ हजार १ सय १ मत खसेको बुटवलमा उपप्रमुखका लागि ९ जना प्रतिष्पर्धी थिए । विजेता नेकपा एमालेकी उम्मेद्वार सावित्रा अर्यालले २५ हजार ६१ मत प्राप्त गरिन् । उनका प्रतिष्पर्धी ५ दलीय गठबन्धनबाट एकीकृत समाजवादीका चिन बहादुर गुरुङले १७ हजार २३ मत प्राप्त गरेका छन् । पाण्डे राजनीतिमा छोटो र कम अनुभव रहेकी युवा नेतृ हुन् ।
तर, उनको उम्मेद्वारी उनलाई मात्रै होइन ठूला दल र तीनका प्रतिनिधिलाई पनि चूनौती थियो । राजनीति र नेतृत्वमा युवा सहभागिताको सवाल र पछिल्लो समयमा चर्चामा रहेको राप्रपाबाट उनको उम्मेद्वारी दुबै उनका लागि आशाकाआधार थिए । त्यसैगरी उनको व्यक्तित्व पनि नेतृत्वका लागि अर्को आधार थियो । नेतृत्व सवल हुनुपर्छ, भ्रष्टाचार गर्नु हुँदैन भन्ने मान्यता रहेको पार्टी र सोही पार्टीकी नेतृ उनी आँफै स्वावलम्बी तथा उद्यमी हुन् ।
प्रतिष्पर्धामा तेस्रो स्थान हासिल गरेकी पाण्डे आफू सफल भएको दावी गर्छिन् । ‘ राजनीतिमा धेरै अनुभव भएका ठूला दलका प्रतिनिधिहरु हुनुहुन्थ्यो, अझै उहाँहरु गठबन्धनबाट पनि हुनुहुन्थ्यो , ठूला दल, शिर्ष धेरै दलको गठबन्धनसँग एकल प्रतिष्पर्धा आँफैमा चूनौती हो । मलाई विश्वास गरेर पार्टीले अगाडि सारेपछि मैले हिम्मतका साथ चुनावमा प्रतिष्पर्धा गरे । मैले पाएको मतले भन्छ विजेता नै नभएपनि पराजित भने होइन । बुटवलका ६ हजार बढीले मत दिनुभयो , हजारौंले मन दिनु भएको छ , उहाँहरुले अर्कोपटक मत पनि दिनुहुन्छ ।’
‘निर्वाचनमा पछि परेपनि बुटवलका सरोकारका विषय र आफ्ना एजेण्डामा भनेपछि नपर्ने उनी बताउँछिन् । म बुटवलकी चेली हुँ, यहाँको माटो,हावापानी, दाजुभाई,बुवा–आमा सबै र सबैसँग मेरो आत्मीय र भावानात्मक सम्बन्ध छ। म चुनावी नतिजामा पछि परेपनि मेरो भूमिका र एजेण्डामा अडिग छु । निर्वाचित प्रतिनिधि र स्थानीय सरकारलाई खबरदारी गर्दै राम्रा कामको सिको गर्दै अगाडि बढ्ने छु । स्थानीय तथा बुटवलबासीको माझमै रहेर व्यक्तिगत तथा पार्टीको तर्फबाट गर्न सक्ने योग्दान गर्ने छु ।’
सम्पन्न स्थानीय तहको निर्वाचन र मतपरिणमले आफूमा थप उत्साह र प्रेरणा जागेको पाण्डे बताउँछिन् । उनी भन्छिन् ‘यस चुनावले मलाई धेरै सिक्ने, मतदाताको घरमा पुग्ने, थप बुझ्न अवसर मिल्यो । अझै भनौं भने अनुभवी नेता तथा नेतृहरुसँगको प्रतिष्पर्धा, जनताको मत र प्रतिक्रियाले निकै उत्साह र प्रेरणा मिलेको छ । उहाँहरुको विश्वास र आशालाई सम्मान गर्दै आगामी दिनमा अगाडि बढ्ने छु । मलाई निर्वाचनमा सहभागि हुनदेखि अत्यधिक मत प्राप्त गर्न र धेरैको मन जित्ने अवस्थासम्म साथ दिनुहुने सम्पूर्णमा हार्दिक आभारसहित धन्यवाद दिन चाहान्छु ।’
प्रतिक्रिया