कार्तिक ३,
ग्लोबल आवाज
लुम्बिनी । नेपालमै पहिलो पटक आयोजना गरिएको समाचार महोत्सव ‘लुम्बिनी न्यूज फेस्टिवल–२०७६’ को तेस्रो तथा अन्तिम दिन आजपनि विशेष कार्यक्रम हुँदैछन् । संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार’–भन्ने नाराका साथ लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर भैरहवाले लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा आज तेस्रो दिन अन्तर्गत पहिलो सत्रमा संघीयतामा सञ्चार विषयमा छलफल तथा बहस हुँदैछ ।
त्यसैगरी दोस्रो सत्रमा संघीयतामा समवेशी सञ्चार विषयमा छलफल तथा बहस हुने र तेस्रो चरणमा लुम्बिनीमा रहेको गाउँको भ्रमण गरिने कार्यक्रमका संयोजक दिपेन्द्र बडुवालले जानकारी गराए । मुलुकका ठूला तथा राष्ट्रिय पत्रिकाका सम्पादकहरु,अग्रज पत्रकार,सञ्चार प्रमुख लगाएत प्रदेश ५ का सबै जिल्ला र देशैभरका अन्य जिल्लाहरुबाट ३ सय बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको कार्यक्रमको आज दिउँसो समापान हुने आयोजक क्लबका उपाध्यक्ष नरेश के.सी.ले बताए ।
फेस्टिवलमा आन्तरिक र प्यानल डिस्कशनसँगै बुद्धसँग सरोकार राख्ने परासी स्थित रामग्राम स्तूपा र कपिलबस्तु स्थित तिलौराकोट भ्रमण गरी त्यहाँका सरोकारवालासँग अन्तरक्रिया गरिएको थियो ।विश्वशान्तिको मुहान लुम्बिनीबाट सञ्चारकर्मीको उपस्थिति गराई लुम्बिनीको प्रवद्र्धन ,सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० र प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष–२०७६ लाई पनि टेवा पुर्याउने कार्यक्रमको उद्देश्य रहेको क्लबका अक्ष्यक्ष दिपेश भट्टराइले बताए । महोत्सवको उद्घाटन आइतबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गरेका थिए ।
प्रतिक्रिया