ताजा अपडेट »

जसपाले टुंग्यायो शुद्धोधन गाउँपालिकाका उम्मेदवारहरु

विहीबार, ०८ बैशाख २०७९, १० : ४०
16 Shares
विहीबार, ०८ बैशाख २०७९
16 Shares

बुटवल । जनता समाजवादी पार्टी, नेपालको रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिका कार्यसमितिले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट सम्पूर्ण उम्मेदवारहरु चयन गरी पार्टी जिल्ला समन्वय समिति, रुपन्देहीलाई सिफारिस गरेको छ ।

गाउँकमिटीले सरकार समर्थित दलहरुबिचको दलीय गठबन्धनमा सम्मानजनक हैसियतबाट सिट बाँडफाँट भएमा गठबन्धनसहित चुनावमा जाने अन्यथा पार्टी आफ्नै ढंगले चुनावमा जानेसमेत निर्णय गरेको छ । पार्टीका तर्फबाट गाउँपालिका अध्यक्ष पदका लागि त्यहाँका प्रतिष्ठित एवं लोकप्रिय नेता भरथरी यादवलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गर्दै उपाध्यक्षसहित सबै वडाहरुको उम्मेदवारको नामावली जिल्लामा सिफारिस गरेको हो ।

उपाध्यक्ष पदका लागि पदम बहादुर विक, ऋषि पाठक, सोभनाथ पाण्डेय, सुनकेशरी थारु र उषा पासीसहित पाँच जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी वडाअध्यक्षको उम्मेदवारमा वडा नं. १ मा उदयराज गडेरिया (बाबुराम) ३ मा हुमनाथ खनाल (प्रकाश), ४ मा जित बहादुर घर्ती मगर, ५ मा विपिन कुर्मी, ६ मा जयशंकर पाठकलाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ  भने वडा नं. ७ का लागि तौलेश्वर लोध, हरिप्रसाद पाल, दिपक यादव, रामजीत लोध र पोलिन्द्र पटेलसहित पाँच जनाको नाम सिफारिस गरेको छ ।

त्यसैगरी चुनाव लक्षित गतिविधिलाई तीव्र बनाएको जसपा शुद्धोधनले सबै वडाहरुमा चुनावी प्रचारप्रसार कार्यालय स्थापना गर्ने तथा गाउँपालिका कार्यसमितिका अध्यक्ष तौलेश्वर लोधको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको गाउँपालिकालागि केन्द्रीय चुनावी परिचालन समिति संयोजक एवं पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीले बताए । उनले शुद्धोधनमा जनता समाजवादी पार्टीले ऐतिहासिक विजयी हासिल गर्ने दाबी गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।