दाङ । तुलसीपुर उपमहानगरपालिका १९ स्यालापानीका गाउँले आफ्नो जग्गाको समस्याले चिन्तित छन् । २०२८ सालमा जग्गा नापी हुँदा नापी शाखाका अमिनले गरेको गल्ती उनीहरू भोग्दै छन् । एक दुई कित्तामा यस्तो लफडा भएको होइन‚ करिब ६ बिघा जमिनमा यो समस्या छ । स्यालापानीका चित्रबहादुर बस्नेतको आधा घर अर्कैको जग्गामा परेको छ भने आधा आफ्नो जग्गामा छ । बस्नेत लगायतका ३०÷३५ परिवार उक्त पीडा भोग्दै छन् ।
यो समस्या समाधानका लागि उनीहरू विभिन्न निकायमा पुगे । सम्बन्धित व्यक्ति र कार्यालय सबै ठाउँमा हारगुहार गरे । अहँ‚ समाधान भने अहिलेसम्म भएन । बस्नेतले भने, ‘यो समस्याबाट हामी धेरै पीडामा थियौँ। यसका लागि हामीले वडाध्यक्ष लगायतका जनप्रतिनिधिलाई पटक पटक जानकारी गरायौँ‚ तैपनि हाम्रो समस्या समाधान भएन ।’ यो समस्या दशकौँदेखिको भए पनि अघिल्लो पुस्ताले खासै चासो नदिँदा यसको शिकार आफूहरू भएको उनीहरूको कथन छ ।
उनले पीडा सुनाए मेरो जग्गा अरूले जोतभोग गर्दै आएको छ । मेरो घर अरूको जग्गामा छ । म न त्यो घर भत्काउन सक्छु न उसले मेरो जग्गा छोड्न सक्छ । यस्तै समस्यामा फस्दै आएको उनको भनाइ छ । हातमा आफ्नै जग्गा लालपुर्जा भए पनि राजस्व भने अर्काको जग्गाको बुझाउँदै आएको पनि उनले स्पष्ट पारे । ‘मेरो जग्गाको लालपुर्जा मैसँग छ तर घरवास अर्काको जग्गामा छ’‚ उनले भने । आफूहरूको समस्या पार्टीका नेताहरूलाई जानकारी भएकाले अगामी चुनावमा यो नै चुनावी नारा हुन सक्ने उनले बताए। अहिलेका जनप्रतिनिधिले काम नगरेको भन्दै समस्या समाधानको ग्यारेन्टी नगर्दासम्म भोट नदिने गाउँलेहरूले चेतावनी दिए ।
स्थानीय दुर्गाकुमारी रोकाको पनि उस्तै समस्या छ । उनका नाममा ४ कट्ठा जग्गा छ तर उनी अहिले करिब १२/१३ कट्ठा जग्गा भएको ठाउँमा बस्दै आएकी छन् । लालपुर्जामा भएको अनुसार राजस्व बुझाउँदै आएकी छन् । उनले आफ्नो जग्गामा अरू बसेको र आफू अर्काको जग्गामा बसेको थाहा भए पनि दशकौँदेखि बस्दै आएको ठाउँ छाड्न नसक्ने बताइन् । उनले भनिन्, ‘यो समस्या २०२७/२८ सालदेखिको हो‚ त्यति वेला कसैले वास्ता गरेनन् । अहिले विकास हुँदै गयो। बाठा मान्छेले राम्रो खोज्न लागेका छन् ।’
उनले जग्गामा लफडा भएकाले त्यसबाट आफू पनि पीडित भएको बताइन् । उनले जग्गा किनबेच गर्न र बैंकमा धितोसमेत राख्न नपाएको उल्लेख गरिन् । समस्या मिलाउन वडा, उपमहानगरपालिका, नापी कार्यालय र मालपोत कार्यालयलाई पटक पटक आग्रह गरे पनि कतैबाट सुनुवाइ नभएको गुनासो गरिन् ।
त्यस्तै संगीता बस्नेतको लालपुर्जामा १६ कट्ठा ७ धुर जग्गा छ तर उनी अहिले करिब ४ कट्ठामा बस्दै आएकी छन् । उनका अनुसार आफ्नो जग्गामा अरू बसेका छन् । अरूको जग्गामा आफू बसेकी छन् । आफू बसेको ठाउँमा अरू व्यक्ति आएपछि आफ्नो घर नै भत्काएर जानुपर्ने अवस्था रहेको भन्दै दुखेसो पोखिन् । उनले भनिन्, ‘लालपुर्जामा १६ कट्ठा ७ धुर जग्गा हाम्रो नाममा छ, त्यो जग्गामा अरू बस्छन् । हामी करिब ४ कट्ठामा बस्दै आएका छौँ । त्यो अरूको जग्गा हो । कर भने लालपुर्जामा भएको जग्गाअनुसार तिर्दै आएका छौँ । यस्तो समस्या हामीले कहिलेसम्म भोग्ने रु’
हाल बसोवास गरेको ठाउँमा थोरै जग्गा भए पनि आफूलाई प्यारो लाग्ने भन्दै छोड्न नसक्ने बताइन् । उनले आफूहरू बसेको ठाउँको जग्गा सरकारले आफ्नो नाममा गरिदिए आफ्नो नाममा रहेको जग्गा छोडिदिने बताइन् । कित्ता नम्बर ९ ठ र ढ को नक्साङ्कन गरिएको ३५ घरधुरी बसोवास गर्दै आएको जग्गामा यस्तो समस्या देखिएको स्थानीय समाजसेवी तथा राजनीतिक अगुवा नन्दराम रोकायले बताए। रोकाय पञ्चायत काल र बहुदल आएपछि जम्मा ४ कार्यकाल त्यसै वडाका अध्यक्ष समेत भए तर समस्या त्यो वेला थाहै भएन । अहिले बल्ल त्यहाँको भू–स्वामित्वको समस्या छताछुल्ल हुन थालेको छ ।
बिजौरीलाई स्यालापानीसँग जोडेर छिल्लीकोटसम्म पर्यटकीय पदमार्ग निर्माण हुन थालेपछि बल्ल त्यहाँका स्थानीय बासिन्दाले आफ्नो जग्गाको बैंकिङ कारोवार तथा बेचबिखन सुरु गरे। यसपछि मात्रै यस्तो समस्या छताछुल्ल भएको बताइन्छ । साविक बिजौरी गाविस पञ्चायतका वडा नम्बर ९ का अध्यक्ष रोकायका अनुसार त्यो समयमा औलोका कारण खेतीपातीका लागि मात्रै त्यहाँ आउने जग्गाधनीले जग्गा नापी भएको एक वर्षपछि मात्रै जानकारी पाए ।
आफ्नो जग्गाको समस्याबारे जानकारी गराउँदा समेत तत्कालीन समयमा सच्याउने अवधि ६ महिना पूरा भइसकेकाले अवसर नै नपाएका कारण अहिले सास्ती भोग्नुपरेको उनको भनाइ छ । उनले भने‚ ‘सच्याउनका लागि हामी धेरै पटक मालपोत कार्यालयमा समेत गयौँ तर समाधान भएन। अहिले जग्गा बेच्न समस्या भएको छ। अहिले बेच्ने व्यक्तिले बसोवास गरेको जग्गा देखाएर विक्री गर्छ तर लालपुर्जाअनुसार भने जग्गा अर्कै ठाउँमा पाइन्छ ।’
संवाद समूहलाई जिम्मा
यो समस्या समाधान गर्ने सन्दर्भमा स्थानीय बासिन्दामा मतभेद देखिएको छ । केहीले आफूले जोतभोग गरेको जमिनको स्वामित्व पाउनुपर्ने माग गर्छन्। पाँच दशकसम्म भोग गरेको जग्गा आफ्नो स्वामित्वमा हुनुपर्ने एकथरीको चाहना छ भने अर्काथरीले आफ्नो नाममा भएको जग्गा खाली गराएर राज्यले आफूहरूलाई पुनर्वास गर्नुपर्ने बताउँछन् । राज्यलाई अहिलेसम्म कर तिरेपछि त्यसबारे राज्य उत्तरदायी हुनुपर्ने उनीहरूको भनाइ छ ।
उनीहरूको मागलाई समाधान गर्ने विषयमा सरकारी निकायले कुनै कदम चालेका छैनन्। वडा कार्यालयले समेत यो विषयमा ठोस निर्णय दिन सकेको छैन । २‚३ पटक छलफल गर्दा समेत समाधान हुनसक्ने अवस्था नदेखेपछि जग्गा विवाद समाधानका लागि संवाद समूहलाई जिम्मेवारी दिएको तुलसीपुर १९ का वडाध्यक्ष रामबहादुर योगीले बताए । उनले भने, ‘एकरदुईजनाको जग्गामा मात्र भएको भए मिलाउन सकिन्थ्यो तर त्यहाँ गाउँभरीको समस्या छ । अहिले त्यहाँ किनबेच पनि धेरै भएको छ। त्यसैले यो समस्या समाधानका लागि संवाद समूहलाई जिम्मेवारी दिएका छौँ ।’
आफूहरू लालपुर्जा र नक्सासहित स्थानीय बासिन्दासँग बसेर छलफल गर्दा पुर्जामा जग्गा नभएका व्यक्ति समेत बसोवास भएको देखिएपछि विवाद हुँदा आफूले यो समस्या समाधान गर्न नसकेको उनको भनाइ थियो। उनले भने‚ ‘एउटाको नामको जग्गा अरूले बेचेर खाएका छन् । त्यहाँका बासिन्दा मर्कामा छन् । त्यो मिलाउन हम्मेहम्मे भयो । हामीले भनेर मात्रै हुँदैन‚ त्यो मालपोतमा पास हुनुपर्छ। त्यसैले मैले संवादलाई जिम्मा दिएको छु ।’
यता विभिन्न सामाजिक विषयका समाधान गर्दै आएको संवाद समूहले समस्या समाधानमा लागेको जनाएको छ । नापीमा खटिएका कर्मचारीको लापरबाहीका कारण त्यहाँका बासिन्दाले समस्या भोग्दै आएको संवाद समूहका सहजकर्ता सुशील बस्नेतले बताए । उनले अहिले त्यहाँका बासिन्दासँग लालपुर्जामा एक ठाउँको जग्गा र आफू बस्ने अर्कै ठाउँको जग्गा भएको भन्दै यसको समाधानका लागि आफूहरू लागिरहेको बताए। उनले भने, ‘लालपुर्जामा एक कट्ठा जग्गा भएको व्यक्तिले अरूको ९ कट्ठा जोतभोग गर्दै आएको छ । लालपुर्जामा ९ कट्ठा भएको व्यक्ति अर्काको एक कट्ठामा बस्दै आएको छ। यो सबै बदमासी नापी गर्ने कर्मचारीका कारण भएको हो ।’
उनका अनुसार पछिल्लो समयमा त्यो क्षेत्र हुँदै छिल्लीकोट र घोराही रक्षाचौरका लागि सडक कालोपत्रे हुन थालेपछि खिचलो बढ्दै गएको छ। त्यस्तै उनले कोरोना महामारीका कारण ढिलो भएको भन्दै आफूहरूले यथाशीघ्र समाधान गर्ने समेत बताए ।
प्रतिक्रिया